सेतोपाटी चुनावी विश्लेषण:
इटहरीबाट विराटनगर जाने बाटोको दायाँतिर भित्री सडकमा सोमबार बिहान एउटा सिटी सफारी बिस्तारै गुडिरहेको थियो। सफारीमा जोडिएको साउन्ड बक्समा बजिरहेको गीतले भन्थ्यो- विजय दाइले सोचेझैं गर्न पा छैन…, विजय दाइले सोचेझैं अझै भा छैन!
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर-३ बाट २०४८ सालदेखि लगातार ६ पटक संसदीय चुनाव विजयी भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र गच्छदारबाहेक कसैले पनि नेपालमा लगातार ६ पटक संसदीय निर्वाचन जितेको छैन।
बितेका ३ दशकमा समय धेरै फेरियो, समयसँगै गच्छदारका पार्टी पनि फेरिए तर ३० वर्षसम्म यो क्षेत्रका जनताले उनलाई नै प्रतिनिधि चुनिरहे। ६ पटक सांसद र उपप्रधानमन्त्रीसहित दर्जन बढी पटक मन्त्री भइसकेका गच्छदारले अब गर्न बाँकी के होला र!
गीतका अनुसार ६८ वर्षीय गच्छदारलाई भने यो क्षेत्रमा सोचेझैं अझै भएको छैन। त्यही भएर उनी फेरि उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धामा उत्रिएकी छन्, नेकपा एमालेकी भगवती चौधरी।
थारू बहुल यो क्षेत्रमा संविधान सभाको दोस्रो चुनाव र २०७४ को प्रतिनिधि सभा चुनाव गच्छदार र चौधरीकै वरिपरि घुमेका छन्। दुबै चुनावमा ३ सय मतको अन्तरले गच्छदार विजयी भएका छन्।
यसपालिको चुनावमा पनि पुरानै दृश्य दोहोरिएला कि फरक परिणाम आउला, दुई पटक भिडिसकेका उम्मेदवारको तेस्रो चुनावी लडाइँबारे सुनसरी-३ का मतदाता के भन्छन्, उनीहरूका चुनावी प्राथमिकता के रहेछन् भन्ने बुझ्न र विश्लेषण गर्न सेतोपाटी टिमले पछिल्ला दुई दिनमा यो क्षेत्रका २६० जना मतदातासँग कुराकानी गरेको छ।
यो क्षेत्रमा पर्ने इटहरी उपमहानगरपालिकाका ६ देखि १५ सम्मका वडा, दुहवी नगरपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिका सबै वडा र इनरूवा नगरपालिकाको वडा नम्बर ७ मा पुगेर हामीले मतदातासँग कुरा गरेका छौं।
हामीले यहाँका २६० जना मतदातासँग कुरा गर्दा अघिल्लोचोटि थोरै मतान्तरले विजयी गठबन्धनका उम्मेदवार गच्छदारलाई यसपालि जित हात पार्न मुश्किल देखिन्छ। संसदमा पुग्न सातौं जितको खोजीमा रहेका गच्छदारले यसपालि अघिल्लो निर्वाचनमा आफूले पाएको सबै मत जोगाउन नसक्ने स्थिति देखिन्छ।
अघिल्लोचोटि गच्छदारलाई भोट हालेको बताउने केही मतदाताले हामीसँगको कुराकानीमा यसपालि एमालेकी भगवती चौधरीलाई भोट हाल्ने बताए। गच्छदारका पुराना मतदातामध्ये अहिलेसम्म कसलाई भोट हाल्ने भनेर निर्णय नगरेकाहरूको संख्या पनि उल्लेख्य छ। यति मात्र होइन, अघिल्लो पटक उनलाई मत दिएका कतिपयले यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिह्न लगायत अरू विभिन्न स्वतन्त्र उम्मेदवारलाई मत दिने मन बनाएका छन्।
एमालेकी भगवती चौधरीले भने आफूले अघिल्लो चुनावमा पाएको धेरै मत जोगाएर राखेको देखिन्छ। यसले विजय गच्छदारको पुरानो मत-खाताबाट ठूलो संख्याको मत चुहिएर अन्यत्र छरिने स्थिति छ जसको फाइदा अघिल्लोचोटि झिनो मतले हारेकी चौधरीलाई हुनसक्ने देखिन्छ।
हामीले कुराकानी गरेका २६० जना मतदातामध्ये एमालेकी उम्मेदवार भगवती चौधरीलाई भोट दिन्छु भन्नेहरू १०३ अर्थात् करिब ४० प्रतिशत छन्। कांग्रेसका गच्छदारलाई मत दिन्छु भन्नेहरू ८१ जना छन्। यो हामीले भेटेका मतदाताको ३१ प्रतिशतभन्दा अलिकति बढी हो।
यी दुई उम्मेदवारबाहेक अरू प्रतिस्पर्धीहरू यहाँ निकै पछाडि छन्। घन्टी चुनाव चिह्नमा भोट हाल्छु भन्नेहरू १३ जना अर्थात् ५ प्रतिशत भेटिए।
हामीले कुराकानी गरेकामध्ये जम्मा १६ जना अर्थात् ६ प्रतिशतले मात्र लौरो, काग, खामलगायत अन्य विभिन्न चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवारहरूलाई मत दिने बताए। यी मतदाताले स्वतन्त्र उम्मेदवारमध्ये कुनै एकलाई भोट हाल्ने मन बनाइसके पनि कसलाई दिने भन्ने चाहिँ यकिन गरेका छैनन्।
यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट हाल्छु भन्नेहरू ९ जना अर्थात् झन्डै साढे ३ प्रतिशत छन् भने अहिलेसम्म कसलाई भोट हाल्छु भनेर निर्णय नगरिसकेका मतदाताको संख्या ३८ जना अर्थात् साढे १४ प्रतिशत छ।
अब हामी २०७४ को निर्वाचनसँग तुलना गर्दा सुनसरी- ३ मा कसको मत कतातिर सर्दैछ भन्ने हेरौं।
२०७४ को निर्वाचनमा यहाँ थोरै मतले मात्र हार-जितको फैसला भएको थियो। गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेर जित हात पारेका थिए भने भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्। जम्मा ३२१ मतको झिनो अन्तरले गच्छदार विजयी भएकाले थोरै मत यताबाट उता सर्नुले पनि हार-जितको निर्णय अर्कै हुनसक्छ।
अघिल्लोचोटि गच्छदारलाई भोट दिएकामध्ये कति मतदाताले यसपालि उनलाई छाडेर चौधरीलाई दिन्छन् भन्नेले यहाँ को विजयी हुनेछ भन्ने बलियो संकेत गर्नेछ।
हामीले भेटेका २६० जनामध्ये १२८ जनाले अघिल्लोचोटिको चुनावमा गच्छदारलाई भोट हालेको बताएका थिए भने चौधरीलाई भोट दिएका हौं भन्नेहरू ८२ जना थिए। हाम्रो कुराकानीमा अघिल्लोचोटि गच्छदारलाई भोट दिएको बताउने मतदाता संख्या धेरै भए पनि यसपालि उनलाई भोट हाल्छु भन्नेहरू कम छन्।
२०७४ मा गच्छदारलाई भोट दिएको बताउने १२८ जनामध्ये ६८ जनाले यसपालि फेरि पनि गच्छदारलाई नै भोट दिने बताए। जबकि अघिल्लोचोटि भगवती चौधरीलाई भोट दिएको बताउने ८२ जनामध्ये ५५ जनाले फेरि पनि उनलाई नै निरन्तरता दिने इच्छा देखाए।
यसको अर्थ विजय गच्छदारले अघिल्लोपटक पाएको ५२ प्रतिशत मत मात्र यसपटकलाई फेरि पक्का गरेका छन्। भगवती चौधरीका हकमा भने अघिल्लो चुनावमा झिनो मतान्तरले पराजित उनले आफ्नो मत जोगाएर राखेको देखिन्छ। उनले अघिल्लो चुनावमा पाएको झन्डै ६७ प्रतिशत मत फेरि आफ्नो पक्षमा कायम राख्न सकेकी छन्।
यसबाहेक पहिले गच्छदारलाई भोट दिएका २४ जना (१८.५७ प्रतिशत) मतदाता यसपालि एमालेकी चौधरीलाई मत दिने पक्षमा छन् भने पहिले चौधरीलाई भोट दिएर यसपालि गच्छदारलाई दिन्छु भन्नेहरूको संख्या जम्मा ६ (७.३१ प्रतिशत) छ।
मतदाताले हामीसँग भनेअनुसार गच्छदारबाट चौधरीको पक्षमा भोट जानुका पछाडि केही कारण छन्।
पहिलो, गच्छदारलाई लगातार छचोटि जिताइसकेकाले सातौंपटक फेरि उनलाई नै भोट नहाल्ने सोच बनाएको उनीहरू बताउँछन्। गच्छदार हालसम्म दर्जनौंपटक मन्त्री, उपप्रधानमन्त्री हुँदा पनि यस क्षेत्रका लागि के गरे भन्ने प्रश्न धेरै मतदाताले सोध्ने गरेका छन्।
'मैले भोट हाल्न थालेदेखि अहिलेसम्म विजय गच्छदारलाई नै हाल्दै आएको छु। उनलाई पटकपटक जितायौं, अझै कति जिताउने!' गढी गाउँपालिका-४ का ५० वर्षीय हरिनारायण मेहताले भने, 'उनले यहाँ ३० वर्ष शासन गरिसके, अब एकचोटि नयाँलाई मौका दिने हो। त्यसैले यसपालि हामी भगवती चौधरीलाई भोट हाल्ने पक्षमा छौं।'
यस्तै धारणा बर्जु गाउँपालिका-३ अमढुवाका २४ वर्षीय रमेश शर्माको पनि छ। पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न लागेका शर्माले भने, 'म जन्मनुभन्दा अगाडिदेखि विजय गच्छदारले यो क्षेत्रमा राज गरे। म त भगवती चौधरीलाई भोट हाल्ने हो।'
दोस्रो, गच्छदारमाथि लागेको बालुवाटारको जग्गा प्रकरणको मुद्दाका कारण पनि उनको केही भोट गुम्ने स्थिति छ।
उनको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी यसपालि चुनाव जिते पनि संसद छिर्न पाउँदैनन्। इटहरी-९ का इन्द्र अधिकारीले गत चुनावमा गच्छदारलाई भोट हालेका थिए। यसपालि चाहिँ के गर्ने भनेर उनी दोधारमा छन्। ‘गच्छदारलाई भोट हालौं भने भ्रष्टाचारको मुद्दा लागेको भन्छन्, जितेर गए पनि संसद जान पाउन्नन् भन्छन्,’ उनले भने, ‘म त के गर्ने, के गर्ने पो भएको छु।’
तेस्रो, दुई पटक हारेकी भगवतीप्रति सहानुभूति र महिलाको भोट। लगातार दुई पटक चुनाव हारिसकेकीले यसपटक भगवतीलाई जिताउनुपर्छ भन्ने मतदाता पनि हामीले थुप्रै भेट्यौं। खासगरी महिला मतदाता भगवतीलाई भोट हाल्ने पक्षमा देखिएका छन्। पहिल्यैदेखि कांग्रेसमा भोट हाल्दै आएको परिवारका महिला पनि यसपालि भगवतीलाई हाल्ने पक्षमा छन्।
दुहवी- ९ की ३५ वर्षीया सम्सुन खातुन यसअघि सधैं कांग्रेसले भोट दिँदै आएकी थिइन्। यसपालि भने उनले भगवतीलाई भोट हाल्ने सोच बनाएकी छन्। महिला उम्मेदवार हुनु र लगातार तेस्रोचोटि प्रतिस्पर्धामा भिड्नुले उनलाई भोट दिने मनस्थिति बनाएको खातुनले बताइन्।
अघिल्लो पटक गच्छदारलाई मत हालेका दुहवी-१२ का गंगाराम चौधरीले पनि यसपालि भगवतीलाई भोट दिने सोचेका छन्। ‘उहाँले धेरै पटक जितिसक्नुभयो। भगवतीले पनि एक पटक जितून्,’ उनले भने, ‘परिवर्तन गर्नुपर्छ के!’
२०७४ को मतगणनाका क्रममा गच्छदारले धाँदली गरेर चुनाव जितेको भन्दै त्यसको बदला लिन पनि यसपालि भगवतीलाई मत दिन झन् कटिवद्ध भएका मतदाता पनि हामीले भेट्यौं। मतगणनामा धाँधली भएको भनेर भगवतीले मुद्दा पनि हालेकी थिइन्। त्यो मुद्दाको फैसला भएको छैन। अर्को चुनाव हुने बेलासम्म पनि त्यो मुद्दा अदालतमा विचाराधीन छ।
चौंथो, फेरिएको गठबन्धनले पनि यहाँ गच्छदारलाई भन्दा भगवतीलाई नै केही सय मत बढ्ने देखिन्छ। यहाँ गच्छदारलाई सत्तारूढ अरू दलको साथ छ भने भगवतीलाई जनता समाजवादी पार्टीले सघाएको छ।
२०७९ को वडाध्यक्ष उम्मेदवारहरूको मतलाई आधार मान्दा सुनसरी-३ मा सबभन्दा ठूलो पार्टी एमाले हो। एमाले वडाध्यक्ष उम्मेदवारहरूले ३५ हजार ५३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३३ हजार ५ सय ७१ मत पाएका छन्।
तेस्रो स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार ५ सय १६ र नेकपा माओवादी केन्द्रले ३ हजार ८ सय ५ मत पाएका छन्। एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरूले पाएको मत ६ सय २६ छ।
स्थानीय निर्वाचनको यो आँकडा हेर्दा अबको चुनावमा एमालेले जसपासँग मिलेर आर्जन गर्ने मत संख्या कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँगको गठबन्धनबाट पाउने मतको तुलनामा बढी देखिन्छ।
निर्वाचन क्षेत्र घुम्ने क्रममा गच्छदारको यति बलियो पकड भएका गाउँहरू पनि हामीले भेटयौं जहाँ सिँगो बस्ती नै गच्छदारको पक्षमा देखिन्थे। त्यहाँका मतदाता जुनसुकै अवस्थामा उनलाई भोट दिने बताउँछन्। जबकि त्यस्तो पकेट क्षेत्र भगवतीका हकमा हामीले कम भेट्यौं।
यस्ता प्रभाव क्षेत्रका मतदातालाई गच्छदारमाथि लागेको भ्रष्टाचार आरोप र उनी चुनाव जिते पनि संसद छिर्न नपाउने अवस्थासँग कुनै मतलब छैन। आफूहरू पार्टी हेरेरभन्दा गच्छदारलाई हेरेर भोट हाल्ने गरेको उनीहरूको भनाइ छ। गच्छदारको ‘कल्ट पर्सनालिटी’ का कारण सुनसरी-३ मा अहिले दुई किसिमका कांग्रेस मतदाता भेटिन्छन्। एकथरी कांग्रेसलाई भोट हाल्छन्, अर्कोथरी पार्टी जेसुकै होस् गच्छदारलाई मत हाल्छन्।
दुहवी नगरपालिका-१ का ७७ वर्षीय तालचन्द्र माझीले अहिलेसम्म छपटक गच्छदारलाई भोट हालिसकेका छन्। सातौंपटकको चुनावमा पनि उनी गच्छदारलाई नै मत दिन दृढ छन्। ‘जताजता विजय, उताउता हामी,’ उनले भने, ‘पहिले गाछी (रूख) मा भोट दियौं, त्यसपछि मसालमा दियौं, नमस्कार चिह्नमा पनि विजयलाई नै दियौं। अहिले फेरि गाछीमा उनैलाई भोट दिँदैछौं।’
दुहवी-३ का ४० वर्षीय तिलक मण्डल गच्छदारमाथि जबर्जस्ती झूटो मुद्दा लगाइएको बताउँछन्। 'उहाँलाई झूटो मुद्दा लगाएर फसाइयो,' उनले भने, 'त्यसैले न्याय दिलाउन पनि उहाँलाई जिताउन जरूरी छ।'
माझी र मण्डलको भनाइ सबै मतदाताका हकमा मेल खाँदैन। पहिले लगातार गच्छदारलाई भोट दिइरहेका कतिपय मतदाता अब उनलाई दिने कि नदिने भनेर निर्णय गर्न सकिरहेका छैनन्।
हामीले कुराकानी गरेका २६० जनामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर निर्णय नगरिसकेका मतदाताको संख्या ३८ जना थियो। त्यस्ता अनिर्णित मतदातामध्ये अघिल्लोपटक विजय गच्छदारलाई भोट हालेका २० जना छन् । तीमध्ये धेरैजसो फेरि गच्छदारलाई नै भोट हाल्ने पक्षमा छैनन्। भगवती चौधरीका हकमा भने पहिले उनलाई भोट हालेर अहिले अनिर्णित रहेकाहरू १२ जना छन्। यस्तो अनिर्णित मत चुनावको दिन कहाँ जान्छ भन्नेले पनि मतपरिणाममा परिवर्तन ल्याउन सक्छ।
मतदातामा राजनीतिक दलहरूप्रतिको वितृष्णा हामीले सुनसरी-३ मा पनि देख्यौं। दल र नेताहरूको व्यवहारका कारण वाक्क भएको बताउने त्यस्ता केही मतदाता यसपालि घन्टीलगायत अन्य स्वतन्त्र उम्मेदवारहरूलाई भोट हाल्ने पक्षमा छन्।
राप्रपा, घन्टीसहित अन्य स्वतन्त्र उम्मेदवारहरूलाई जाने मत पनि भगवती चौधरीको तुलनामा विजय गच्छदारकै मत-खाताबाट बढी चुहिइरहेको देखिन्छ। हामीले कुराकानी गरेकामध्ये अघिल्लोपटक गच्छदारलाई भोट हालेका १५ जना अर्थात् झन्डै १२ प्रतिशतले यसपालि राप्रपा, घन्टी र अन्य स्वतन्त्र उम्मेदवारलाई भोट दिने बताएका छन्। भगवती चौधरीका हकमा यी तीन ठाउँमा चुहिने मत संख्या १० छ। यसबाट स्वतन्त्र उम्मेदवारहरूले थोरै संख्यामा भए पनि गच्छदार र चौधरी दुवैको भोट बराबरी काट्ने देखिन्छ।
पहिलो पटक मतदान गर्न लागेका केही मतदाता पनि हामीले भेट्यौं। तीमध्ये करिब ५ प्रतिशत अर्थात् १२ जनाले भगवती चौधरीलाई भोट दिने बताए भने गच्छदारका पक्षमा यस्ता मतदाता करिब २ प्रतिशत अर्थात् ५ जना थिए। बर्जु गाउँपालिका-६ चिमढीकी २५ वर्षीया प्रीति चौधरी पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा भोट हाल्दै छिन्। उनी आफ्नो परिवारले सधैँ कांग्रेसलाई नै भोट हाल्ने गरे पनि आफू भने घन्टीमा हाल्ने बताउँछिन्।
'अहिले पनि मेरो परिवारमा विजय गच्छदारलाई नै भोट दिनेहरू धेरै हुनुहुन्छ,' प्रीतिले भनिन्, 'म भने रवि लामिछानेको घन्टीमा भोट हाल्छु।' उनले अगाडि भनिन्, 'पुराना नेताहरूलाई अब किनारा लगाउने बेला भयो। पुराना नेतालाई धेरै हेर्यौं, अब नयाँलाई हेर्नुपर्छ। हेरेकै नाच कति हेर्ने!'
स्वतन्त्र उम्मेदवारतर्फ झुकाव भएका यी मतदातालाई हामीले चुनावको दिनसम्म पुग्दा पहिले हाल्दै आएको राजनीतिक दललाई नै मत दिने हो कि भनेर पनि सोधेका थियौं। हाम्रो यो प्रश्नमा उनीहरूको जवाफ थियो, 'स्वतन्त्र उम्मेदवार कसलाई हाल्छौं भन्ने थाहा छैन तर दलका उम्मेदवारलाई चाहिँ दिँदैनौं।'
२०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, २०५१ र २०५६ को निर्वाचन कांग्रेसबाट जितेका थिए। २०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भए। २०७४ मा उनले फेरि कांग्रेसबाट चुनाव जिते। यसरी एउटै उम्मेदवार पटकपटक चुनाव लड्दै, जित्दै गरेकाले कतिपय पुराना कांग्रेसीहरूको असन्तोष पनि गच्छदारको निम्ति चुनौती हुने देखिन्छ।
स्थानीय ठाउँमै बसेर निरन्तर जनतामाझ काम गरेकी भगवतीका लागि पनि आन्तरिक असन्तोष चुनौतीका रूपमा खडा छ। कुनै बेला ज्यादै कमजोर संगठन भएको एमालेलाई यो क्षेत्रमा बलियो बनाएको जस भगवतीलाई जान्छ। त्यस क्रममा उनले अन्य दलबाट धेरै कार्यकर्ता एमालेमा भित्र्याएकी छन्। गएको स्थानीय चुनावमा त्यही नयाँ र पुरानो एमालेबीच वडादेखि पालिकाका विभिन्न तहमा टिकटको हानथाप चल्यो। नयाँले टिकट पाउँदा पुराना एमाले बिच्किने, पुरानाले टिकट पाउँदा नयाँ रिसाउने क्रम यहाँ धेरै चल्यो। भगवतीले नयाँ र पुराना एमाले व्यवस्थापन गर्न नसकेको बुझाइ कतिपय कार्यकर्ताको छ। यसर्थ आन्तरिक असन्तोष चिर्दै पार्टी मत सुरक्षित पार्ने र विपक्षी मत तान्नुपर्ने बाध्यता दुवै उम्मेदवारलाई छ।
२०७० मा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गच्छदारले भगवतीलाई पहिलोपटक पराजित गरेका थिए। त्यस बेला गच्छदारले १७ हजार ५ सय २४ मत पाउँदा चौधरीले १७ हजार १ सय ६२ मत पाइन्। जम्मा ३६२ मतको चुनावी हारपछि एमालेले गच्छदारले धाँधली गरेको आरोप लगायो।
२०७४ को चुनावअघि गच्छदार पार्टी एकतामार्फत् कांग्रेसमै फर्किए र सुनसरी-३ मा कांग्रेसबाट उम्मेदवार बने। उनको प्रतिस्पर्धी बनाएर एमालेले फेरि पनि भगवतीलाई नै अघि सार्यो। २०७० को निर्वाचनमा झिनो मतान्तरले मात्रै पराजित भगवतीका लागि २०७४ को चुनाव अनुकूल हुने अनुमान एमालेको थियो। तत्कालीन माओवादी र एमालेले चुनावी गठबन्धन गरेका कारण एमाले पंक्ति उत्साही थियो। परिणाम भने एमाले र भगवतीका पक्षमा फेरि पनि आएन। झिनो मतान्तरले गच्छदारले जित हात पार्दा भगवती दोस्रोपटक पनि संसद पुग्न बिफल बनिन्।
थारू बहुल यस निर्वाचन क्षेत्रमा त्यही समुदायका दुई नेताबीच हुन लागेको यो तेस्रो चुनावी 'रिम्याच' हो। बलियो तेस्रो उम्मेदवारको उपस्थिति नहुँदा फेरि पनि उनीहरू दुवैका वरिपरि यो क्षेत्रको चुनावी राजनीतिले फन्को लगाइरहेको छ। त्यो राजनीतिक फन्कोमा दुई पटक गच्छदारले विजयको माला पहिरिएका छन्। हामीसँग कुराकानी गरेका मतदाताको भनाइलाई आधार मान्दा यसपालि गच्छदारको विजय यात्रा एमालेकी भगवतीले ‘ब्रेक’ लगाउने सम्भावना बलियो छ।
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः १०- गठबन्धनका महिन्द्र यादवलाई भन्दा राजेन्द्र महतोलाई कांग्रेसको मत धेरै!
सेतोपाटी निर्वाचन विश्लेषणः ९- लालबाबुको घट्दो 'क्रेज' ले यसपालि शेखरलाई सजिलो
सेतोपाटी निर्वाचन विश्लेषणः ८- एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जित्न कति सजिलो?
सेतोपाटी निर्वाचन विश्लेषणः ७- काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि
सेतोपाटी निर्वाचन विश्लेषणः ६ - कमल थापा दुईतिरबाट चेपुवामा
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा