प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन झगडा लगाउने तत्व लागि परेको बताएका छन्।
आफूहरू बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसका कसैले पनि चिन्ता नगर्न आग्रह गरे।
सत्ता गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गरे।
समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न आग्रह गरे।
सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिवर्तनलाई स्थायित्व गर्न गठबन्धन गरिएको बताए।
यो चुनाव चानचुने नभई महाभारत भएकाले परिवर्तन विरोधीहरूलाई हराउँदै संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न गठबन्धन गरिएको प्रचण्डको भनाइ थियो।
सुशासन र विकासबाट मात्र परिवर्तन सम्भव भएकाले संविधानको रक्षा र राजनीति स्थिरता कायम गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उनले जिकिर गरे।