सेतोपाटी निर्वाचन विश्लेषण:
केही समय पहिले छिन्नमस्ता गाउँपालिका-२ का रामचन्द्र खङ्काको बच्चाको जन्मदर्ता प्रमाणपत्रनै हरायो। उनले कति खोजे कहीँ भेटेनन्। बच्चाको जन्मदर्ता कुनै पनि नेपालीका लागि सरकारी अभिलेखीकरणको पहिलो पाइला हो।
यो नै हराउँदा उनलाई समस्या पर्यो। पछि झनै झण्झट थपिन्छ भन्ने उनलाई लाग्यो। त्यसैले प्रतिलिपी बनाउन गाउँपालिका गए।
त्यति समान्य कुराका लागि गाउँपालिकाले ५ हजार रूपैयाँ शुल्क लियो। त्यो रकम त्यति साधारण कामका लागि ठूलो हो। उनका लागि पनि कम होइन।
गाउँमा सामान्य र कैंयन आधारभूत सेवा र संरचानको अभाव छ। छिन्नमस्तामा गर्मीयाममा सर्पको बिगबिगी हुन्छ। सर्पले टोक्यो भने गाउँमा उपचार हुन्न नै, सहरको अस्पताल पुर्याउन कम्ती हम्मे हुन्न।
उनको घरअगाडि धुले सडक छ। अहिलेसम्म बिजुली पुगेको छैन। बल्लतल्ल बिजुलीको पोलसम्म गाडिएको छ, बिजुली कहिले आउने हो थाहा छैन।
उनको परिवारले कुशासन र यस्ता थुप्रै समस्या भोगेको धेरै भयो। धेरै सांसद, धेरै बाचा गरेर यो क्षेत्रबाट निर्वाचित भए। तर उनले गाउँमा खासै केही बदलिएन।
उनी यसपालि जनमत पार्टीका नेता तथा यो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवार सिके राउतलाई जिताउन चाहन्छन्।
राउतसँग उनले विकासको धेरै आशा गरेका छैनन्। उनले राउतबाट एउटै आशा गरेका छन्- यहाँका समस्यालाई राउतले ठाँउमा पुर्याइदिन्छन्। अनि राउतको इमानमा पनि उनलाई भरोसा छ। छिन्नमस्ताका धेरै स्थानीयका खङ्काका जस्तै भोगाइ छन्, जसले उनीहरूलाई राउततिर आकर्षित गरेको छ।
छिन्नमस्ता-३ की आशादेवी शर्माकी बुहारी सुत्केरी हुने क्रममा गाह्रो भयो। बुहारीलाई जिल्ला अस्पताल राजविराज लगे त्यहाँबाट समेत प्रसुती गराउन सम्भव नभएपछि धरान लगे। त्यहाँ पनि अस्पतालमा शैय्या खाली छैन भनेपछि विराटनगर लैजानुपर्यो।जिल्लाका अस्पतालमा सुत्केरीको उपचारसम्म राम्ररी हुन सक्ने अवस्था नरहेको भन्दै उनले गुनासो गरिन्। आफ्नी बुहारीले जस्तै दुःख अरुले भोग्न नपरोस भन्ने उनको चाहना छ।
सप्तरी क्षेत्र नम्बर २ का गाउँहरू मात्रै होइन सहरमै पनि विकास निर्माणले गति लिन सकेको छैन। पछि परेका गाउँको त कुरै नगरम्! न त पानीको सुविधा छ, न त शिक्षा र स्वास्थ्यको। यो पछौटेपनलाई लिएर यहाँका मतदातामा यसपालि एक प्रकारको आक्रोश देखिन्छ।
त्यसैले उनीहरुले यसपटक नयाँ उम्मेदवारले जितोस भन्ने चाहेका छन्। पुरानाबाट दिक्क भएका बहुसंख्यक मतदाताको सिके राउत विकल्प बनेका छन्। यसपालि पुराना बदलेर गाउका कुरा ठाँउमा पुर्याउने नयाँ नेता छान्ने सप्तरी-२ का धेरै मतदाताको चाहना छ।
सप्तरी २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्ता गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरबीच मुख्य प्रतिस्पर्धा छ।
यो प्रतिस्पर्धामा राउत धेरै अगाडि छन्। पछिल्ला केही दिनमा यो निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा पर्ने ३७ वटा वडामध्ये ३५ वटा वडा घुमेका छौं। त्यहाँका २९३ मतदातासँग फरक राजनीतिक पृष्ठभूमि, जात, वर्ग, लिंग र उमेर समूहका मानिससँग कुरा गरेका छौं।
यी कुराकानीका आधारमा विश्लेषण गर्दा हामी एउटा निष्कर्षमा पुगेका छौं। सप्तरी-२ बाट २०७४ सालमा चुनिएका उपेन्द्र यादवलाई हराउँदै सिके राउत सांसद चुनिने प्रबल सम्भावना छ।
हामीले कुरा गरेका २ सय ९३ मध्ये १ सय २६ जनाले (४३ प्रतिशत) ले यसपालि राउतलाई मत दिने बताएका छन्। उनलाई मत दिन्छु भन्ने यी मतदातामध्ये ५५ जनाले पाँच वर्ष अघि उपेन्द्रलाई मत दिएको बताए।
यसअघि कांग्रेसलाई मत दिएका १९ जना र माओवादी केन्द्रलाई मत दिएका २ जनाले पनि यसपालि राउतलाई मत दिन्छु भने। राउतलाई मत दिन्छु भन्ने ५० जनाले भने यसअघि कसलाई मत दिएको खुलाउन चाहेनन्।
हामीले भेटेकामध्ये ८२ जनाले (२८ प्रतिशत) यादवलाई मत दिन्छु भनेका छन्। त्यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका नेता जयप्रकाश ठाकुरलाई ३६ जनाले (१२ प्रतिशत) मत दिने बताए।
हामीले कुरा गरेकामध्ये ४९ जनाले (१७ प्रतिशत) कसलाई मत दिने निर्णय गरिनसकेको बताए। त्यसमध्ये १५ जनाले अन्तिममा सिके राउतलाई मत दिन सक्ने बताए भने १० जनाले कसैलाई पनि मत नदिने सम्भावना धेरै रहेको बताए।
यसरी यहाँ परिवर्तनको हावा उपेन्द्रबाट सिके राउततिर सरेको प्रष्टसँग देख्न सकिन्छ।
गएको स्थानीय तहको निर्वाचनमा पनि जनमत पार्टीले निर्वाचन लडेको थियो। त्यो बेला सो पार्टीका उम्मेदवारले खासै राम्रो गर्न सकेका थिएनन्। यो निर्वाचन क्षेत्रमा पर्ने दुइटा वडामा मात्र जितेका थिए। केबल ६ महिनामा यहाँको राजनीतिक नक्सा बदलिएको छ।
स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मत हिसाब गर्दा यो निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै जनता समाजवादी पार्टी (जसपा) ले १४ हजार ४ सय ३ मत पाएको छ। त्यसपछि नेपाली कांग्रेसले १० हजार ८ सय ७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १० हजार ४ सय ३५ मत पाएको छ।
त्यस्तै नेकपा माओवादी केन्द्रले ९ हजार ५ सय ३२, नेकपा एमालेले ५ हजार ९ सय ५१ ल्याएको छ। जनमत पार्टीले ४ हजार ५ सय ४२ मत ल्याएको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले २ हजार ४ सय ८ मत पाएको छ।
२०७४ को निर्वाचनमा पनि यहाँ जसपाको बलियो उपस्थिति थियो। सो निर्वाचनमा समानुपातिकतर्फ तत्कालीन संघीय समाजवादी पार्टी (हालको जसपा) ले १२ हजार ४ सय २५, तत्कालीन राजपा (हालको लोसपा) ले ११ हजार ४ सय २२, माओवादी केन्द्रले ६ हजार २ सय ७१, नेपाली कांग्रेसले ३ हजार १ सय ४५ र एमालेले २ हजार ५ सय ९५ मत ल्याएको थियो।
यसरी २०७४ को मंसिरमा र २०७९ को वैशाखमा भएको निर्वाचनलाई आधार मान्ने हो भने सबैभन्दा बलियो सत्ता गठबन्धन हुनुपर्ने हो। गत स्थानीय तहको निर्वाचनमा कमजोर उपस्थिति बनाएको जनमत पार्टी सबैभन्दा कमजोर हुनुपर्ने हो।
तर पछिल्लो ६ महिनामा यहाँको राजनीतिक हिसाबकिताब पुरै उलटपुलट भएको छ। सिके राउतलाई एक पटक मौका दिने मतदाताको चाहनासँगै यो बदलाव आएको हो।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २०७४ सालमा स्वतन्त्र उम्मेदवार बन्दाको हैसियत समेत नबनाउने हुन् कि भन्ने अवस्था आएको छ।
ठाकुरले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर ९ हजार ४ सय ५१ मत पाएका थिए। अहिले उनी प्रतिस्पर्धामा धेरै पछाडी देखिएका छन्।
यति छोटो समयमा सप्तरी-२ को राजनीतिले किन कोल्टे फेर्न लागेको छ?
यसमा दुई प्रमुख कारण छन्। पहिलो, सिके राउत पहिलो पटक संसदीय राजनीतिमा भाग लिँदैछन्। लामो समयसम्म मधेसलाई अलग देश बनाउनु पर्छ भनेर शान्तिपूर्ण संघर्ष गरेका राउत करिब दुई वर्ष मात्रै सो माग छाडेर मुलधारको राजनीतिमा आएका हुन्।
पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा पढ्दा टप गरेका, पिएचडी गरेका र अमेरिकामा लामो समयसम्म काम गरेर राजनीति गर्न नेपाल फर्किएका राउतप्रति मधेसमा, विशेष गरी युवामा ठूलो ‘क्रेज’ छ। उनी सप्तरीको महादेवा गाउँपालिकामा जन्मिएका हुन्। अहिले पनि यही गाउँपालिकामा उनको घर छ, परिवार यहीँ बस्छन्।
अर्कोतिर उपेन्द्र लामो समयदेखि राजनीतिमा छन्।
२०६३ माघ १ मा अन्तरिम संविधान जारी भयो। माघ २ गते यादवसहित उपस्थित भएर माइतीघर मण्डलमा संविधान जलाए। यादवलाई प्रहरीले पक्राउ गर्यो। यादवलाई रिहाइको माग गर्दै सिरहाको लहानमा प्रदर्शन भयो। माघ ५ मा मधेसी युवा र माओवादी कार्यकर्ताबीच झडपमा माओवादीका रमेशकुमार महतो गोली लागेर मारिए।
मधेशी नेताका रूपमा उपेन्द्रको उदय त्यसैबेलादेखि भएको हो।
२०४८ सालमै एमालेबाट सुनसरी -५ मा कांग्रेसका उम्मेदवार गिरिजाप्रसाद कोइरालाविरूद्ध लडेका यादव त्यसपछि विस्तारै ‘जनयुद्ध’का बेला माओवादीतर्फ आकर्षित भएका थिए। तर उनी माओवादीमा धेरै लामो समय टिक्न सकेनन्। त्यसपछि उनले मधेसी जनाधिकार फोरम गठन गरेर मधेसका मुद्दा जोडतोडले उठाउन सुरू गरेका हुन्।
मधेशले संघीयताको माग अघि सार्यो। दोस्रो मधेस आन्दोलन पछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संघीयता स्वीकार गर्दै उपेन्द्र यादवसँग सम्झौता गरेका थिए। त्यसले यादवलाई मधेसको नेताका रुपमा स्थापित गर्यो। यादव २०६४ को निर्वाचनमा सुनसरी र मोरङबाट निर्वाचित भएका थिए।
उनले २०७० सालको निर्वाचनमा सुनसरीबाट जिते र मोरङमा हारे। त्यसपछि सुरक्षित निर्वाचन क्षेत्र खोज्दै २०७४ सालमा मात्रै सप्तरी-२ मा आएका हुन्। यादव सप्तरीको महादेवा गाउँपालिकामा जन्मेका हुन्। उनी सानै हुँदा उनको परिवार सुनसरी सरेको थियो।
जसपाका अध्यक्ष उपेन्द्र यादवले यो क्षेत्रमा वाचा गरेका काम गर्न नसकेको मतदाताको आरोप छ। यादवले २०७४ को चुनाव अघि गरेको आश्वासन पूरा नगरेको राजविराज १६ का मोहम्मद अख्तर कुरेसीले बताए। ‘हामीले पहिला त उपेन्द्रलाई मौका दिएकै हो। तर चुनाव अघि भनेका कुरा केही लागु भएन,’ उनले भने, ‘एक पटक सिके राउतलाई हेरौं न, उसले काम नगरे ५ वर्षमा फेर्न मिलिहाल्छ। यसपटक नयाँलाई मौका दिनुपर्छ।’
सिके राउतप्रति मतदाताका केही आशा र भरोसा पनि छन्। केहीले राउत आएपछि यहाँ विकास हुने बताए।कतिले शिक्षा, स्वास्थ्य र रोजगारमा सुधारको आशा गरे। समयमै मल बीऊ नपाएका किसानले त्यसमा सुधार हुने आशा गरे। राउत र उनको जनमत पार्टीले निरन्तर उठाएको सुशासनको मुद्दाले पनि केही मतदाता आकर्षित छन्।
राजविराज नगरपालिका ११ की सुनिता यादवले राउतले जितेमा गरिबको सुरक्षा हुने बताइन्। उनलाई यादव नेकपा एमालेसँग मिलेको पनि चित्त बुझेको छैन। ‘हाम्रो छोराको हत्या गर्ने पार्टीसँग उपेन्द्र यादव टाँसिए। त्यसैले अब सिके राउतलाई भोट दिने हो। सिकेले जित्यो भने गरिबलाई सुरक्षा दिन्छ,’ उनले भनिन्, ‘मेरो छोराले धेरै पढे पनि काम पाएको छैन। सिके राउतले रोजगारी दिन्छ।’
उपेन्द्रलाई यादव भएकै कारण पनि एक पटक हेरको भन्दै उनले भनिन्, ‘जातको नाममा एक पटक हेरिसकियो। अब सधैं त्यसकै नाममा कति भोट दिने!’ छिन्नमस्ता-१ बरही टोलकी मुनेसरी देवी सोमबार धान काट्दै थिइन्। उनीसँग हामीले कुराकानी गर्न साथ सिके राउतको नाम लिइन्।
‘सिके राउत गरिब र किसानका लागि मर्छन् भन्ने सुनेको छु। २७ कट्ठा खेत जमिनदारबाट ठेक्कामा लिएको छु,’ उनले भनिन्, ‘मलखाद नपाउँदा समयमै धान रोप्न नपाएको र उब्जनीसमेत कम भएको छ। गाउँको पसलमा ढिलो गरी आएको मल पनि नक्कली परिदियो।’
विशेष गरेर युवा, महिला, दलित अनि विपन्न वर्गका मतदाताको राउतप्रति आकर्षित छन्। कतिपयले यसपटक राउतलाई कसैले हराउन नसक्ने दाबी गरे।
राजविराज १४ का सुरेशकुमार मण्डलले राउत पढेको बुद्धिजीवि भएको र सुशासन ल्याउने बताए। ‘उहाँ फ्रेस हो। सुशासनको कुरामा ध्यान दिनुहुन्छ। गरिबको पक्षमा बोल्ने व्यक्ति हो,’ उनले भने, ‘यसपालि कसैले पैसा बाड्यो भने लिइदिने तर भोट भने हर्न छाप (माइक) मै दिने हो।’
उपेन्द्र यादवलाई भोट दिन्छु भन्नेहरुले भने यादवले गरेको विकास निर्माणका कामलाई जोड दिएका छन्। यादवले सुरु गरेका विकास निर्माणका कामलाई पूरा गर्न उनले जित्नुपर्ने उनीहरुको तर्क छ।
राजविराज ६ का चन्द्रशेखर साफीले सिके राउत र उपेन्द्र यादवको टक्कर रहेको भए पनि यादवले जित्ने दाबी गरे। केन्द्रस्तरबाट बजेट ल्याउन सक्ने नेता भएकाले आफूले यादवलाई भोट दिने उनले बताए।
महादेवा ६ का हरेराम यादवले उपेन्द्र यादव सप्तरीमै जन्मेको विकाससमेत ल्याउने भएकाले भोट दिने बताए। लोसपाका जयप्रकाश ठाकुरलाई मत दिनको कारण भने उनका समर्थकले दिन सकेका छैनन्। गठबन्धन भएकाले आफूहरुले भोट दिने कांग्रेसका समर्थक देवेन्द्रप्रसाद दासले बताए।
तिलाठी कोइलाडी १ का कृपानन्द झाले आजको दिनसम्म सिके राउतकै सम्भावना रहेको बताए। ‘मैले त साइकलमा भोट दिन्छु।तर माहोल सिकेको छ। २, ३ गतेसम्म के हुन्छ भनेर भन्न सकिँदैन,’ उनले भने, ‘पार्टीगत गठबन्धन पूर्णरुपमा भयो भने लोसपाले जित्छ। जातीय गठबन्धन भयो भने उपेन्द्र यादवले जित्छन्।’
यो क्षेत्रमा ९५ हजार मतदाता छन्। तीमध्ये २२ हजारको हाराहारीमा यादव मतदाता छन्। त्यस्तै मुस्लिम मतदाता ११ हजारको हाराहारीमा छन्। यादव र मुस्लिम समुदायको अधिकांश भोट यादवलाई जाने उपेन्द्र यादवको अपेक्षा छ। तर हामीले कुरा गर्दा त्यस्तो पाएनौं। यो दुई समुदायको भोट यादवलाई तुलनात्मक रुपमा धेरै आउँछ।
तर यादव र मुस्लिम समुदायका कतिपय मतदाताले पनि राउतलाई भोट दिने बताए। त्यस्तै मधेशमा पचपनीया भनिने समुदायको भोट यहाँ २७ हजारको हाराहारीमा छ। हामीले कुराकानी गरेका आधारमा भन्ने हो भने यो समुदायको मत उपेन्द्र यादव र जयप्रकाशलाई भन्दा सिके राउतलाई भोट जान्छ। लगभग प्रत्यक्षकै हाराहारीमा समानुपातिकमा पनि राउतको पार्टीले यहाँबाट मत पाउने देखिन्छ।
यो पनि पढ्नुहोस्: मधेसको निर्वाचनमा 'सिके राउत फ्याक्टर'
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः १४- काठमाडौं-२ मा सोबिता र मणिरामबीच कडा प्रतिस्पर्धा, 'रेड जोन'मा ओनसरी
सेतोपाटी निर्वाचन विश्लेषणः १३- धनुषा ३ मा स्थानीय जुली र बाहिरबाट आएका अनिल, कसले मार्ला बाजी?
सेतोपाटी निर्वाचन विश्लेषणः १२- धनराज गुरुङ र पद्मा अर्याललाई चुनौती बन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज
सेतोपाटी निर्वाचन विश्लेषणः ११- भगवतीले यसपालि लगाउन सक्छिन् गच्छदारको सातौं संसदीय यात्रामा ब्रेक
सेतोपाटी निर्वाचन विश्लेषणः १०- गठबन्धनका महिन्द्र यादवलाई भन्दा राजेन्द्र महतोलाई कांग्रेसको मत धेरै!
सेतोपाटी निर्वाचन विश्लेषणः ९- लालबाबुको घट्दो 'क्रेज' ले यसपालि शेखरलाई सजिलो
सेतोपाटी निर्वाचन विश्लेषणः ८- एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जित्न कति सजिलो?
सेतोपाटी निर्वाचन विश्लेषणः ७- काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि
सेतोपाटी निर्वाचन विश्लेषणः ६ - कमल थापा दुईतिरबाट चेपुवामा
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा