निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिए।
उनले भने, ‘म आदरणीय मतदाताहरूमा विशेष अनुरोध गर्न चाहन्छु–निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरूले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रूपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरूको अधिकार हो। मतदान गर्न पाउनु अधिकार मात्रै होइन। आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो। मतदाताहरूलाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्नका निम्ति हामीले संविधान बमोजिम विभिन्न कानून तथा आयोगले विभिन्न निर्देशिकाहरू समेत जारी गरेको छ।’
यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा नपरी आफ्नो मतदान प्रयोग गर्नसक्ने, यदि कसैले त्यस्तो अवस्था सृजना गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको उनले बताए।
‘निर्वाचन कसुर तथा सजाय ऐनले कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मत पत्र कसैलाई देखाउन, अरूले देख्नेगरी प्रदर्शन गर्न, गोप्य मत संकेत गर्ने ठाउँमा मत संकेत नगरेर अन्यत्रै गएर मतदान गर्न, बाहिर गएर मतदान गर्न र मत संकेत गरेको व्यहोरा कुनै पनि तरिकाले कसैलाई पनि भन्न र छाप लगाएको मतपत्र छ, त्यो आफैंसँग लिएर जान हुँदैन। तपाईं कसलाई मतदान गर्नुहुन्छ? तपाईं कुन चिन्हमा मतदान गर्नुहुन्छ? भन्ने जस्तो प्रश्न सोधि निजको गोपनीयताको हकलाई जबरजस्ती वञ्चित गर्नेगरी कुनै पनि गतिविधि गर्नु हुँदैन’, उनले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए।
‘मतदान प्रक्रियाको गोप्यता भंग भयो भने त्यो मतपत्र मतमेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिन्हमा संकेत गरिएको थाहा भयो भने त्यो मत्र पत्रलाई मतपेटिकामा खसालिसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने, खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको व्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ। र, त्यस्तो मतपत्र गणना गर्नसमेत नपाउने व्यवस्था छ’, उनले भने, ‘यसका अतिरिक्त आफ्नो नाममा बाहेक अरूको नाममा मत हाल्न, पटक/पटक मतदान गर्न जान र मतपत्र बिगार्न अथवा मतपत्र नष्ट गर्न जाली मतपत्रहरू ल्याएर मतपेटिकामा हाल्न र कुनै पनि मतपत्रलाई बिगार्ने किसिमको कुनै पनि वस्तु वा पदार्थ मतपेटिकामा हाल्न हुँदैन भने मत पत्रको साथमा आफूले संकेत गरेको मतपत्रको साथमा अरू कुनै किसिमको वस्तु राखेर मतपेटिकामा खसाल्नसमेत मिल्दैन।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अप्ठ्यारो पर्नसक्ने खतरा रहेको बताए।