काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभा तर्फका उम्मेदवार मिलन पाण्डेले आज ‘पाइला यात्रा’ गरेका छन्।
बुधबार बिहान कलंकीदेखि स्युचाटारसम्म उनले कलाकार र स्थानीयहरूसँग पाइला यात्रा गरेका हुन्।
काठमाडौं ९ का मतदाताले परिवर्तन खोजेको र यसैपालि उनीहरूले आफूलाई विजयी गराउने पाण्डेले बताए।
उनले यो क्षेत्रमा यसअघिका चुनाव जित्दै आएका नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठको संसद यात्रा यसपालि रोकिने दाबी गरेका थिए।
‘कृष्णगोपाल अंकल पहिलोचोटि चुनाव लड्दा म २ वर्षको थिएँ। अहिले म ३३ वर्षको भएँ। मेरा बच्चा पनि छन् तर कृष्णगोपाल यसपालि पनि यो क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ,’ कोणसभामा बोल्दै उनले भने, ‘जनताले परिवर्तन खोजेका छन्। स्थानीय चुनावमा धरान र काठमाडौं महानगरमा नयाँ र युवाले जितेर परिवर्तनको संकेत गरे। अब यसपालि क्षेत्र नम्बर ९ मा पनि परिवर्तन हुन्छ।’
कोणसभालाई चलचित्र निर्माता रवीन्द्रसिंह बानियाँले पनि सम्बोधन गरेका थिए। उनले युवाहरूलाई संसदमा पुर्याउनुपर्ने बताएका छन्।
पाण्डे काठमाडौं ९ मा पाइला चुनाव चिन्ह लिएर उठेका छन्।
यो क्षेत्रमा एमालेबाट कृष्णगोपाल र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छन्।