भोजपुरको पौवादुङमा आज दिउँसो बिस्फोटक पदार्थ बिस्फोट भएको छ।
बुधबार दिउँसो २:३० बजेतिर पौवादुङ गाउँपालिका प्याउलीमा बिस्फोट भएको हो।
सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिकै बिस्फोट भएको हो।
प्रहरीका अनुसार सभास्थलबाट पाँच सय मिटर टाढा बिस्फोट भएको हो। यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलगायत जाने कार्यक्रम छ।
बिस्फोटको आवाज सुनेपछि प्रहरी घटनास्थलमा पुगेको प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले सेतोपाटीलाई बताए।
‘के बिस्फोट भएको हो भन्ने खुलिसकेको छैन। एक जना घाइते हुनुहुन्छ। घाइतेका अनुसार मोबाइल चार्ज गर्दा बिस्फोट भएको भन्ने छ। हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।
स्थानीय करिब ३५ वर्षका सुमन श्रेष्ठ घाइते छन्।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले घाइते भएका सुमन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको खुलेको छ। सुमनले बिस्फोटक पदार्थ पड्काएको उनले बताए।