सेतोपाटी निर्वाचन विश्लेषणः रूपन्देही- १
हामी आइतबार रूपन्देही ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ स्थित भेलहीमा चुनाव रिपोर्टिङ गर्न पुगेका थियौं। सडक नजिकैको एउटा रूखमुनि एक जना किसान टुक्रुक्क बसेका थिए। छेवैमा अड्याइएको साइकलमा एउटा कसिलो बोरा थियो।
हामीले उनलाई सोध्यौं- के लिएर आउनुभयो?
'गहुँको बिउ।'
ओमसतिया गाउँपालिकाका ती किसान धीरेन्द्र चौधरी हुन्। गाउँपालिकाले किसानहरूलाई फर्म भरेको आधारमा लालपुर्जा देखाएर अनुदानमा गहुँको बिउ वितरण गरेको रहेछ। एक बोरा बिउ पाएका धीरेन्द्र खुसी भने छैनन्।
'जम्मा एक बोरा बिउ दिएको छ। मेरो ३-४ बिघा खेत छ। सात बोरा बिउ चाहिन्छ, अरू कहाँबाट ल्याउनु!' उनले भने।
उनले गहुँको बिउको मात्र गुनासो गरेनन्। मलखाद नपाएकामा पनि उनको उत्तिकै गुनासो छ।
धीरेन्द्रको गुनासो सुनिसकेपछि हामीले निर्वाचनको कुरा निकाल्यौं।
'आउँदो चुनावमा यहाँबाट उठेको कुन उम्मेदवार राम्रा छन्?'
उनले जो राम्रो भए पनि कसैलाई भोट दिएर केही नहुने बताए।
'कसलाई भोट दिएर के हुन्छ? घनश्याम भुसाल कृषिमन्त्री थिए। तर हामीले मल पाएनौं,' धीरेन्द्रले रोष प्रकट गर्दै भने।
धीरेन्द्रलाई सत्तामा बसेको कांग्रेससँग पनि रिस उठेको रहेछ।
'पोहोरसम्म एक घन्टा ट्र्याक्टरले खेत जोतेको पन्ध्र सय रूपैयाँ लिन्थ्यो। यस पटकबाट तीन हजार भयो,' उनले गुनासो पोखे, 'पेट्रोल र डिजेलको मूल्य बढ्यो भन्छ। सरकारले कुनै वास्तै गरेन।'
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका दाबेदार उम्मेदवारबारे रिपोर्टिङका क्रममा हामी रूपन्देहीका रोहिणी, ओमसतिया, देवदह र तिलोत्तमाका घरहरूमा पुग्यौं। खेत र खलियान पुग्यौं। चोक र बस्तीमा पुगेर मतदाता भेट्यौं।
उनीहरू कसलाई र किन मत दिन चाहन्छन् भनेर सोध्यौं।
एक लाख ३९ हजार ५ सय ६० मतदाता रहेको रूपन्देही १ मा एमाले नेता छविलाल विश्वकर्मा र पूर्व एमाले नेता घनश्याम भुसाल निर्वाचन लड्दै छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि एमाले परित्याग गरी स्वतन्त्र हैसियतमा निर्वाचन लड्न लागेका घनश्यामलाई सत्ता गठबन्धनले समर्थन गरेको छ।
मुख्य प्रतिस्पर्धा घनश्याम र छविलालबीच नै हुनेछ।
ओली सरकारमा छोटो समय कृषिमन्त्री भएका घनश्यामको नेपालमा सधैं भइरहने मलखादका कारण यहाँ पनि आलोचना हुने गरेको छ। सँगै उनलाई मतदाताले राष्ट्रिय स्तरको नेता भएको र संसदमा आफूहरूको आवाज उठाउन सक्ने नेताका रूपमा पनि हेर्दा रहेछन्।
एमाले नेता छविलाल यहाँका स्थापित एमाले नेता हुन्। तर उनी जितेपछि फर्केरै नआएको गुनासो र आरोप मतदाताको छ।
मुख्य प्रतिस्पर्धा यी दुईबीच नै हुने भए पनि दुवैसँग असन्तुष्ट मतदाताले नयाँ उम्मेदवारहरूलाई पनि मत दिँदै छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश पछाई क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी र स्वतन्त्र उम्मेदवार टिकाराम चपागाईं पनि रूपन्देही १ को चुनावी मैदानमा छन्। उनीहरूले आ-आफ्नो 'पकेट एरिया' मा केही मत पाउने हाम्रो आकलन छ।
हामीले पछिल्ला केही दिनमा रूपन्देही क्षेत्र नम्बर १ का लगभग सबै गाउँ र टोल घुमेर २ सय ५० मतदातासँग कुरा गरेका छौं। यी मध्ये ७७ मतदाताले (३१ प्रतिशत) घनश्याम भुसाललाई मत दिने बताए भने ७१ जनाले (२८ प्रतिशत) छविलाल विश्वकर्मालाई मत दिने बताए।
त्यस्तै घन्टी चुनाव चिह्नको स्वतन्त्र पार्टीका नरेश पछाईलाई २७ जनाले (११ प्रतिशत) मत दिने बताए भने ढकिया चुनाव चिह्न भएको नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीलाई १० जना (४ प्रतिशत) र चापाकल चिह्न भएका टिकाराम चापागाईंलाई ८ जनाले (३ प्रतिशत) मत दिने बताए।
त्यस्तै १७ जनाले (७ प्रतिशत) ले अन्य स्वतन्त्र उम्मेदवार लगायत अन्य चिह्नमा मत दिने उल्लेख गरे। ४० जनाले (१६ प्रतिशत) अझै निर्णय लिन बाँकी रहेको उल्लेख गरे।
निर्वाचन मनोनयन दर्ताको ठिक्क अघि एमाले त्यागेका घनश्याम भुसाललाई रूपन्देही १ मा कांग्रेसले दरिलो साथ दिएको छ। जस कारण उनलाई प्रतिस्पर्धामा टिकिरहन सजिलो भएको छ। उनलाई मत दिने बताएका ७७ जनामध्ये ५४ जना परम्परागत रूपमा कांग्रेसका मतदाता हुन्। त्यस्तै विगतमा एमालेलाई मत दिएको बताउने १० मतदाताले पनि यसपटक घनश्यामलाई मत दिने बताए। त्यस्तै माओवादीका परम्परागत ५ मतदाताले पनि यसपटक घनश्यामलाई रोज्ने उल्लेख गरे।
सत्ता गठबन्धनको भागबन्डामा आफूले पाएको सिट माओवादी केन्द्रले घनश्यामका लागि छाडेको थियो। त्यस्तै नयाँ मतदाता ४ जना, विगतमा जनता समाजवादी पार्टी (जसपा) लाई मत दिएका २ जना र राप्रपालाई मत दिएका २ जनाले पनि घनश्यामलाई मत दिने उल्लेख गरे।
घनश्यामलाई टिकट दिइएकोमा कांग्रेसभित्र पनि केही असन्तुष्टि छ। हामीले भेटेका कतिपय परम्परागत कांग्रेसी मतदाता घन्टीतर्फ आकर्षित पायौं।
'एमालेबाट मन्त्री भइसकेको मान्छे आफ्नो पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको पटक्कै मन परेन,' तिलोत्तमाकी मीना पाण्डेले भनिन्, 'अहिले गठबन्धन गरेका छन्। म कांग्रेस हुँ तर मत घन्टीमा दिन्छु।'
एमालेकै कतिपय मतदाताले धनश्यामलाई मत दिने देखिए पनि बहुसंख्यक मतदाता छविलालकै पक्षमा उभिएका छन्। उनलाई अन्याय भएको मान्ने कतिपय एमाले कार्यकर्ताहरूले पनि उनी पार्टीमै बस्नुपर्थ्यो भन्ने तर्क गरे।
'घनश्याम भुसाललाई त्यसरी एमालेले लात हान्न हुन्थेन,' तिलोत्तमाकै शालिग्राम ज्ञवालीले भने, 'उनले उठाएका कुरा सही थिए। एमालेले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय चुनावमा खुम्चिएको विषयमा समीक्षा हुनुपर्थ्यो। तर उनले पार्टी छाड्न हुन्थेन। हामी कार्यकर्ताले पनि नेताले जस्तो यता र उता गर्ने कुरा भएन। भोट एमालेमै दिने हो।'
घनश्यामलाई मत दिने बताउने एमाले मतदाताका पनि आफ्नै तर्क छन्।
'पहिला मैले एमालेलाई दिएको हुँ। अहिले घनश्यामलाई दिन्छु। घनश्याम बौद्धिक नेता हुन्। छविलाललाई संसद पठाए पनि बोल्न सक्दैनन्। घनश्यामले हाम्रो शिर ठाडो हुने गरी बोल्छन्,' तिलोत्तमाकै नरेन्द्रराज पाण्डेले भने, 'त्यसैले घनश्यामलाई दिने हो।'
एमालेको परम्परागत मत भने छविलाल विश्वकर्मालाई जाने देखिन्छ। छविलाललाई मत दिने बताएका ७१ जनामध्ये ५४ जना विगतमा एमालेकै मतदाता हुन्। त्यस्तै एमालेसँग तालमेल गरेको राप्रपाका ९ जनाले पनि यसपटक छविलाललाई मत दिने बताए। विगतमा कांग्रेसलाई मत दिएका ६ जना र माओवादीलाई मत दिएका १ जनाले पनि यसपटक छविलाललाई रोज्ने उल्लेख गरे। हामीले कुराकानी गरेमध्ये एक जना नयाँ मतदाताले मात्र छविलालाई भोट दिने जनाए।
'पार्टी परिवर्तन गर्ने भनेको कुनै निजी कम्पनीको जागिर जस्तो होइन नि! पद मिलेन भनेर अर्को प्रतिस्पर्धी कम्पनीमा जाने! तलब मिलेन भनेर छाड्ने होइन,' देवदह वडा नम्बर ७ मा भेटिएका जीवन केसीले पार्टी छाडेका घनश्यामलाई व्यंग्य गर्दै भने, 'हामी पहिल्यैदेखि एमालेको मतदाता हो। एमालेलाई मत दिने हो।'
रूपन्देही १ मा रवि लामिछाने नेतृत्वको पार्टीका घन्टी चिह्नका उम्मेदवारले पनि आकर्षण बढाएका छन्। हामीले भेटेमध्ये २७ मतदाताले यसपटक घन्टीमा मत दिने बताए। घन्टीका उम्मेदवार नरेश पछाईले सबभन्दा धेरै एमालेको मत काट्ने देखिएको छ। उनलाई मत दिने बताएका २७ मध्ये १३ मतदाताले विगतमा एमालेलाई मत दिएको बताए भने ११ जनाले विगतमा कांग्रेसलाई मत दिएको उल्लेख गरे। त्यस्तै पहिलोपटक मतदान गर्न लागेका ४ जना र विगतमा माओवादीलाई मत दिएको बताउने १ जनाले पनि घन्टीलाई रोज्ने उल्लेख गरे। यसरी मत परिवर्तन गर्ने बताउनेमध्ये अधिकांश मतदाता तिलोत्तमा नगरपालिकाका हुन्।
रूपन्देही-१ मा विगतमा बलियो शक्तिका रूपमा रहेको एमालेको मत घन्टीले जस्तै यसपटक ढकिया र चापाकलले पनि काट्ने देखिन्छ। एमालेको मत तीनतिर चुहिँदा त्यसको राहत भने घनश्याम भुसाललाई मिल्ने देखिन्छ।
ढकियामा मत दिने बताएका १० मतदातामध्ये विगतमा एमालेमा मत दिएका ७ मतदाता छन्। कांग्रेसलाई मत दिएका २ र नयाँ १ मतदाताले पनि ढकियालाई रोज्ने बताए। त्यस्तै चापकलमा मत दिने बताएका ८ मतदातामध्ये २ मतदाता एमालेका हुन् भने २ नयाँ र २ कांग्रेसका मतदाता हुन्।
चापाकलबाट उठेका टिकाराम चापागाईं नेकपा एमालेबाट प्रतिनिधि सभामा टिकटको आकांक्षी थिए। देवदह नगर कमिटीको अध्यक्षबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। उनी देवदहमा एमालेबाट २०७४ सालमा मेयर उठे पनि कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। उनै टिकारामले यसपटक देवदहमा एमालेको मत काट्ने देखिन्छ।
एमालेका कतिपय नखुलेका मतदाता अहिले टिकारामलाई रोज्ने देखिन्छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी पनि विगतमा नेकपा एमालेमा थिए। उनी एमालेको मजदुर संगठन 'जिफन्ट' मा आबद्ध थिए। पाँच महिनाअघि मात्र उनी नागरिक उन्मुक्ति पार्टीमा संलग्न भएका हुन्।
एमालेलाई मत दिने गरेका थारू समुदायको मत यसपटक रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले काट्ने देखिन्छ।
'हामीले २०७४ सालमा छविलाल विश्वकर्मालाई दिएको हो,' देवदह नगरपालिका वडा नम्बर ११ मा भेटिएका छांगरू चौधरीले भने, 'बाहिरका मान्छेलाई किन दिने, आफ्नै मान्छेलाई दिने हो! यसपटक ढकियालाई दिने हो।'
तिलोत्तमामा एमालेको मत घन्टीले काट्दा देवदहमा चापाकलका टिकाराम चापागाईं र ओमसतिया गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले काट्ने देखिन्छ।
'सुरूदेखि एमालेलाई दिइयो। जनतालाई केही राहत दिएन। वाक्क भइयो। छोरीले चितवनबाट फोन गरेर घन्टीमा दिनु भनेकी छ,' तिलोत्तमाकी रूपा ज्ञवालीले भनिन्, 'यसपटक नयाँलाई हेर्ने हो।'
हामीले भेटेमध्ये ४० मतदाता अझै अनिर्णीत भेटिए। यीमध्ये १९ जनाले विगतमा आफूहरूले कांग्रेसलाई मत दिएको बताए। त्यसकै हाराहारीमा एमालेमा विगतमा मत दिएका १८ जना मतदाता पनि अन्यौलमा देखिए। त्यस्तै माओवादी केन्द्रका पनि तीन जना मतदाता अनिर्णीत भेटिए। कांग्रेस मतदाताहरू घनश्याम भुसाललाई मत दिने कि नदिनेमा अनिर्णीत थिए भने एमाले मतदाताहरू छविलाललाई मत दिने कि नयाँमा दिने भन्ने अलमलमा थिए।
त्यस्तै हामीले भेटेमध्ये १७ मतदाताले अन्य चिह्नमा मत दिने बताए।
गएको स्थानीय तहको वडागत निर्वाचन परिणाम हेर्ने हो भने रूपन्देही १ मा कांग्रेसको सबभन्दा धेरै मत छ। कांग्रेसले ३२ हजार ९ सय ९९ मत ल्याउँदा नेकपा एमालेले ३० हजार ३ सय ९४ मत ल्याएको थियो। त्यस्तै राप्रपाको १४ हजार ५ सय ५६ मत छ भने जसपाको ६ हजार ६ सय ९५ मत छ। एमालेसँग यसपटक रूपन्देही १ मा राप्रपा र जसपाले तालमेल गरेका छन्। त्यस्तै माओवादी केन्द्रको ४ हजार २ सय २ मत छ। एकीकृत समाजवादीले यहाँ एक हजार ४ सय ४७ मत ल्याएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी यहाँ कांग्रेससँगको गठबन्धनमा छन्।
स्थानीय तहको मतका आधारमा एमाले, राप्रपा र जसपा एक ठाउँमा उभिएको भए पनि हामीले एमालेलाई मत दिन्छु भन्ने जसपाका नेता भेटेनौं। बरू राप्रपाका धेरै मतदाताले एमालेका छविलाल विश्वकर्मालाई साथ दिने बताए। सत्ता गठबन्धनमा पनि माओवादी भित्रका कार्यकर्ताहरूमा असन्तुष्टि रहेको हामीले पायौं। आफ्नो भागमा परेको सिट माथिबाट नेताले अर्कैलाई दिएकोमा उनीहरूको आपत्ति थियो।
स्थानीय तह निर्वाचनको परिणाममा रूपन्देही १ मा कांग्रेस बलियो देखिए पनि गत निर्वाचनको समानुपातिकतर्फको मत हेर्ने हो भने नेकपा एमाले यहाँको परम्परागत बलियो शक्तिको रूपमा छ। एमालेले गत निर्वाचनमा २६ हजार ६ सय ४९ मत ल्याएको थियो। त्यस्तै नेपाली कांग्रेसले २१ हजार ३ सय २८ मत प्राप्त गरेको थियो। नेकपा माओवादी केन्द्रको ६ हजार २ सय ६२ मत थियो। जसपाले माओवादीभन्दा धेरै ९ हजार ६ सय ३१ मत प्राप्त गरेको थियो।
अन्तिम निष्कर्षमा, रूपन्देही १ मा परम्परागत रूपमा एमाले बलियो शक्ति भए पनि उसको मत एमालेसँग विगतमा निकट रहेका ३ उम्मेदवारले काट्ने हुँदा घनश्याम भुसाललाई ठूलो राहत मिलेको छ। हामीले कुरा गरेका मतदाताका आधारमा उनी केही अघि छन्। तर यो अग्रता झिनो छ। र, यसकै भरमा निर्वाचनको परिणाम यसै हुन्छ भन्न सकिँदैन।
के यो अग्रता मत गन्दासम्म कायम रहन्छ?
यो पनि:
पढ्नुहोस् सेतोपाटी निर्वाचन विश्लेषण शृंखलाका १७ स्टोरी