जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवविरूद्ध सामाजिक सञ्जालमार्फत् आमजनतामा भ्रम फैलाएको आरोप लगाउँदै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ।
सामाजिक सञ्जाल फेसबुक, टिकटक र ट्विटर लगायतमा सिके राउत नेतृत्वको जनमत पार्टीका नेता एवं कार्यकर्ताहरूले जसपा अध्यक्ष उपेन्द्र यादवविरूद्ध तथ्यहीन सन्देशहरू उत्पादन एवं सम्प्रेषण गरी मतदातामा भ्रम फैलाएको जसपाको आरोप छ।
निर्वाचनमा कुनै पार्टी वा उम्मेदवारबारे तथ्यहीन सामग्री प्रसार गर्नु/गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै जसपाले त्यस्ता कार्यमा संलग्न जनमत पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्न जसपाले निर्वाचन आयोगसँग माग गरेको हो।
जसपा सप्तरीका अध्यक्ष केदार यादवले उम्मेदवारहरू चुनावी अभियानमा रहेको अवस्थामा सिके राउतका कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गलत कार्य गर्न आफ्ना कार्यकर्ताहरूलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।
सप्तरी अध्यक्ष केदार यादवले भने, ‘सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्दै नबोलेको कुरालाई भिडिओ क्लिपमा जनमत पार्टीलाई समर्थन गरेको भन्दै नक्कली आवाज राख्न लगाई सामाजिक सञ्जालमार्फत् मतदातामा भ्रम फिँजाउने कार्य हुँदैछ। यो नितान्त गलत एवं अशोभनीय हो। निर्वाचन आयोगले उनीहरूलाई कारबाही गर्नुपर्छ।’
आफूहरू हालसम्म मर्यादित रूपमा निर्वाचन आचारसंहिताको पालना गर्दै आएको र स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको उनले बताए।