नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदीप पौडेललाई मत दिनका निम्ति मतदातासँग आग्रह गरेका छन्।
थापाले बुधबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देशमार्फत् पौडेलको व्यक्तित्वका बारेमा बताउँदै उनका निम्ति मत मागेका हुन्।
थापाले पौडेलसँग आफूले तीस वर्षदेखि सहकार्य गर्दै आएकाले उनका बारेमा जिम्मेवारी लिएर बोल्न सक्ने मान्छेमध्ये आफू पनि एक भएको बताएका छन्।
पौडेल आगामी निर्वाचन कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।
'तपाईंले यो क्षेत्रबाट पौडेललाई निर्वाचित गराउँदा एक दिन, एक क्षण पनि पश्चाताप मान्नु पर्दैन,' काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका थापाले भिडिओमा भनेका छन्, '३० वर्षभन्दा लामो सहकार्यका आधारमा प्रदीप पौडेलको इमानदारी, निष्ठा र नयाँ कुरा गर्न र सिक्नका लागि उनमा भएका भोकका बारेमा म जिम्मा लिएर भन्न सक्छु।'
आफूले पाएको जिम्मेवारी जसरी पनि पूरा गर्ने स्वभाव पौडेलमा भएको भन्दै थापाले काठमाडौं क्षेत्र नम्बर ५ मा उनले उचित ढंगले जनताको प्रतिनिधित्व गर्ने बताएका छन्।
'यो संसदमा प्रदीप पौडेलको उपस्थितिले छुट्टै अर्थ राख्छ,' थापाले भनेका छन्, 'हामी जुन राजनीतिक परिवर्तनको कुरा गर्दैछौं, प्रदीपलाई संसदमा पाउँदा म लगायत हामी थुप्रै साथीहरूको आँट र हौसला बढ्नेछ।'
पौडेलले पनि थापालाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा उक्त भिडिओ सेयर गरेका छन्।
'मित्र गगन थापा, तपाईंको यो शुभेच्छाप्रति हृदयदेखि आभारी छु,' पौडेलले भनेका छन्।
कांग्रेसको १४ औं महाधिवेशनमा थापा र पौडेलले महामन्त्री पदमा लागि प्रतिस्पर्धा गरेका थिए। तर पौडेलले जित हासिल गरेनन्। महामन्त्रीमा थापा र विश्वप्रकाश शर्मा विजयी भए।