गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका नेपाली कांग्रेसका नेता कुमार खड्काले अर्का मन्त्री विन्दुकुमार थापाले प्रदेशको बजेट प्लटिङमा लगानी गरेको आरोप लगाएका छन्।
कानून मन्त्री विन्दुकुमारले आफ्नो निर्वाचन क्षेत्रको विकासमा भन्दा प्लटिङ गरिएका ठाउँमा बजेट हालेको खड्का दाबी गर्छन्।
बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मन्त्री विन्दुकुमार थापाले ९ करोड बजेट पाउनुभएको थियो, उहाँले आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट हाल्नुभयो। प्लटिङ गरेको घडेरीमा १ करोड ४५ लाख र अन्नपूर्ण गाउँपालिकाको घडेरीमा २ करोड बजेट हाल्नुभएको छ।’
कानून मन्त्री विन्दुकुमार जग्गा व्यवसायी हुन्। घरजग्गा कारोबारबाटै राजनीतिमा आएका थापा गण्डकीको मन्त्रिरिषद विस्तारमा कांग्रेसकै अर्का नेता डोबाटे विश्वकर्मालाई रोकेर कानुन मन्त्री बन्न सफल भएका थिए।
नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी थापाले सांसदको तलब भत्ता र पेन्सन गरी दोहोरो सुविधा लिएको आरोपसमेत लागेको थियो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार खड्कालाई मन्त्रीबाट बर्खास्त गरेका थिए।
कास्की–२ प्रदेश सभा खबाट उम्मेदवार बनेका कानून मन्त्री थापालाई अहसयोग गरेको आरोपमा उनलाई बर्खास्त गरेका थिए।
बर्खास्तका विषयमा आफूले समाचार आएपछि मात्र थाहा पाएको उनले बताए। ‘मलाई के कारणले अपमानजनक बखास्त भयो मैले अहिलेसम्म थाहा पाएको छैन,’ उनले भने, ‘मुख्यमन्त्रीले मेरो फोन उठाउनुभएको छैन, मैले के अपराध गरें, सफाइ दिने मौका पनि पाइनँ।’
मन्त्रीसमेत रहेका उम्मेदवार थापालाई आफूले असहयोग गरेको प्रमाणित गर्न उनले चुनौती दिए।
‘मैले निर्वाचन आयोगसँग चुनावी प्रचारका लागि अनुमति मागेको थिए, तर पाइनँ,’ उनले भने, ‘मैले साथीहरुलाई गठबन्धन जिताउन लागेकै थिए, एकाएक अपमानजनक बर्खास्त गरियो।’
बर्खास्त भएपनि आफू उम्मेदवार थापा र गठबन्धनका उम्मेदवार जिताउन लाग्ने उनले बताए। मुख्यमन्त्री पोखरेलसँग यस आर्थिक बर्षको बजेट बनाउँदा व्यक्तिका नाममा बजेट विनियोजन र अस्वभाविक करवृद्धिका विषयमा असहमति राखेको उनले बताए।
आफूलाई बर्खास्त गरेका विषयमा जानकारी नगराए मुख्यमन्त्रीका विरुद्ध ‘सनसनीपूर्ण’ सूचना बाहिर ल्याउने उनले चेतावनी दिए।
‘मुख्यमन्त्रीका विषयमा मसँग पनि धैरै विषय छन्, अडिओ र भिडिओ छन्,’ उनले भने, ‘मैले न्याय पाइनँ भने बाहिर ल्याउँछु।’
कास्की–२ को प्रदेश सभा (ख) बाट खड्का टिकटका आकांक्षी थिए। सोही क्षेत्रका अर्का मन्त्री थापाले टिकट ल्याएपछि दुई मन्त्रीबीच सम्बन्ध चिसिएको थियो।