सत्ता गठबन्धनमा रहेका चार दलका अध्यक्षहरूले गठबन्धन दलका उम्मेदवारका पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्दै संयुक्त अपिल गरेका हुन्।
उनीहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्।
उनीहरूले कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबीसमेत गरेका छन्।
‘लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ता उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं। यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं,’ संयुक्त अपिलमा भनिएको छ।
उनीहरूले चुनावलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी हुन आग्रहसमेत गरेका छन्।
‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ। यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो,’ अपिलमा भनिएको छ, ‘ तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं।’
यस्तो छ अपिल: