निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएलगत्तै मतपेटिका संकलन गरी मतगणना सुरू गर्ने र तीन दिनभित्र प्रत्यक्ष तर्फको मतगणना गरिसक्ने तयारी गरेको छ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले छिटो मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई भनिएको बताए।
‘मतदान सकिएपछि सबै मतपेटिका संकलन हुन्छ। त्यसपछि गणनाको काम सुरू गरिन्छ। यो सबै निर्वाचन अधिकृतको क्षेत्राधिकार भित्र पर्ने विषय हुन्। हामीले कार्यविधि बनाएर उहाँहरूलाई प्रेरित गर्छौं,’ थपलियाले भने।
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको भोट मंसिर ७ गतेसम्म गणना गरिसकिने उनको भनाइ छ।
‘मंसिर ७ गते बेलुकीसम्म प्रत्यक्षतर्फ सबै र त्यसको पाँच दिन भित्रमा समानुपातिकतर्फको सबै मतगणना सक्ने योजना बनाएका छौं,’ उनले भने, ‘हामी मंसिरको २२ गते सम्पूर्ण रिपोर्ट बोकेर राष्ट्रपतिसमक्ष बुझाउन जाने तयारीका साथ लागेका छौं।’