यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सुरक्षाका लागि सुर्खेत जिल्लाभर ३ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। सुर्खेतमा १३९ स्थायी तथा दुइटा अस्थायी मतदान स्थल छन्।
तीमध्ये २० वटा अति संवेदनशील, ८६ वटा संवेदनशील र ३५ वटा सामान्य मतदानस्थल छन्।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार नेपाल प्रहरीका १९ वटा मोबाइल टोली, दुइटा रिजर्भ टोली, जिल्लाभर निगरानी गर्नेगरी प्रहरी नायब उपरीक्षकको कमाण्डमा एउटा टोली परिचालन गरिएको छ।
यस्तै, सुर्खेतका दुइटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा एक/एक वटा टोली परिचालन गरिएको छ।
ती टोली क्षेत्र नम्बर १ को मेहलकुना र २ को पञ्चपुरीमा रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
यस्तै, सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोबाइल टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीकै चार वटा स्ट्राइकिङ फोर्स र दुइटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना र १ हजार ४१७ जना म्यादी प्रहरी सुर्खेतमा परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिए।
उनले मतदानमा खटिने कर्मचारी र सुरक्षाका लागि पनि सुरक्षा समिति संवेदनशील रहेको बताए।
‘मतदानमा खटिने कर्मचारी तथा उम्मेदवारको सुरक्षाका लागि हामी संवेदनशील छौं, उम्मेदवार भएका ठाउँ वरिपरि सुरक्षाकर्मी हुन्छन्,’ रिजालले भने, ‘निर्वाचन विरोधी गतिविधिको निगरानी पनि केही दिनयता निरन्तर भइरहेको, अहिलेसम्म जिल्लाको सुरक्षा स्थिति सामान्य देखिएको छ।’
निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालय प्रमुख दुर्गाप्रसाद चालिसेले कर्णाली प्रदेशका डोल्पाका केही ठाउँहरूबाहेक सबै जिल्लामा मतदान अधिकृत, कर्मचारी तथा सामग्री पुगिसकेका छन्।
हिमपात भएका कारण माथिल्लो डोल्पाका केही मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्न बाँकी रहेकोले शुक्रबार बेलुकासम्म नेपाली सेनाको सहयोगमा पुर्याइने उनले बताए।
‘केही ठाउँमा मतपेटिका पुर्याउँदा क्षति भएकाले थप लिनुपर्ने भन्ने कुरा आएको छ, त्यहाँ पनि आजै पुग्छन्,’ उनले भने।
चालिसेका अनुसार सुर्खेतका १३९ स्थायी मतदानस्थल, दुइटा अस्थायी मतदानस्थल अन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन्।
कर्णाली प्रदेशभर ३४८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ३४८ जना कैदीबन्दी मतदानमा सहभागी हुनेछन्।
कार्यालयका अनुसार सुर्खेतमा १ सय १, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदानमा सहभागी हुनेछन्।