रूपन्देही-१ मा सत्ता गठबन्धनले समर्थन गरेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनावपछि बन्ने सत्ता गठबन्धन कार्यक्रमका आधारमा हुनुपर्ने बताएका छन्।
आइतबार बिहान तिलोत्तमा नगरपालिका वडा नं ९ को गौतम बुद्ध आधारभूत विद्यालयमा मतदान गरेपछि प्रतिक्रिया दिँदै भुसालले शिक्षा, स्वास्थ्य, रोजगारलगायत कार्यक्रमका विषयमा आगामी गठबन्धन बन्नुपर्ने बताएका हुन्।
‘आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ। संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउँछ,’ उनले भने।
एमालेले टिकट नदिएपछि भुसालले रूपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनलाई सत्तारूढ गठबन्धनले समर्थन गरेको हो।