नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्।
अध्यक्ष नेपालले गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
उनीसँगै उनकी श्रीमती गायत्री नेपालले पनि मतदान गरेको नेपालले बताए।
उनले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरे।
उनले मौन अवधिको बेलामा आचारसंहिताको उल्लंघन भएको भन्दै यसलाई आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताए।
उनले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरूको बारेमा खबर धेरै सुनेको छु। रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरू हिँडेको सुनियो। खासगरी प्रमुख विपक्षीको रूपमा रहेको पार्टीका उम्मेदवारहरूले आचारसंहिताको चरम उल्लंघन गरेको भन्ने सुनेँ। राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँ-ठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ। यी विकृतिहरूलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ।’
आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। आज साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ।