निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने गरी वैकल्पिक व्यवस्था गरेको छ।
मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने आयोगले जनाएको छ।
मतदानका लागि आयोगबाट जारी परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रति देखाएर मतदान गर्न सकिनेछ।
आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कल प्रति लिएर मतदान गर्न सक्नेछन्।
आइतबार देशभर बिहान ७ देखि बेलुकी ५ बजेसम्म एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ।
प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।
चुनावमा खटिएका कर्मचारीले आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने छन्।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
मतदाताहरूले प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी चारवटा छुट्टाछुट्टै मतपत्र खसाल्नुपर्नेछ। सबभन्दा पहिला प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदान गरेपछि समानुपातिकका लागि भोट हाल्ने मतपत्र प्राप्त हुनेछ। त्यो मतपत्र बाकसमा खसालेपछि प्रदेशसभाको प्रत्यक्षतर्फ र त्यसपछि समानुपातिकतर्फ भोट हाल्नुपर्नेछ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ २ हजार १ सय ९९ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ। त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।
प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार गरी कुल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छपाइ गरी ढुवानी गरिएको छ।
निर्वाचनसम्बन्धी काम-कारबाही पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थाहरूबाट ७ हजार २ सय ७ जना पर्यवेक्षक रहेका छन्। त्यस्तै दुईवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जनाले पर्यवेक्षण गर्दैछन्। आयोगले हालसम्म करिब ७ हजार ५ सय जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको जानकारी दिएको छ।
आयोगको निमन्त्रणामा भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको निर्वाचन व्यवस्थापन गर्ने टोली मतदान अवलोकन गर्न आएका छन्। नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ।
निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ। यसबाहेक ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको 'रिजर्भ फोर्स' व्यवस्था गरेको छ।
गृहसचिव विनोदप्रकाश सिंहले तीन लाख हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय समाचार समितिलाई बताएका छन्। त्यसमा १ लाख १५ हजार म्यादी प्रहरी मात्रै छन्।