झापाका पाँच केन्द्रमा रोकिएको मतदान प्रक्रिया पुन सञ्चालन भएको छ।
अर्जुनधारामा एक, शिवसताक्षी र गौरीगञ्ज गाउँपालिका एक/एक वटा केन्द्रको स्थगित मतदान पुन सञ्चालन भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।
स्थानीय राजनीतिक दलसँगको छलफलपछि केही समयका लागि स्थगित गरिएका केन्द्रको मतदान पुन सञ्चालन भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर १ को मेचीनगर नगरपालिका- १४ स्थित बालसुबोधनी माविमा निर्वाचन चिन्ह नभएको मत पत्र फेला परेको थियो।
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन अधिकृतले मतदातालाई मतदान गर्न दिएको मत पत्रमा चुनाव चिन्ह नै नरहेको फेला परेपछि त्यहाँ निर्वाचन रोकिएको थियो।
निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधि सभाका लागि दिने मतपत्र निर्वाचन कर्मचारीको असावधानीका कारण प्रदेश सभाको मतदातालाई दिएपछि समस्या उत्पन्न भएको थियो।
झापाका रोकिएका निर्वाचन केन्द्रको सबैको समस्या एउटै भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।
नेपालका अनुसार १९ जना मतदाताले मतदान गरिसकेको र त्यसलाई बदर गरी पुनः मतदान गराउने सर्वदलीय सहमति पछि मतदान पुन: सुरू भएको छ।
झापा क्षेत्र नम्बर ४ अन्तर्गत शिवसताक्षी नगरपालिका-१० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा स्थगित भएको मतदान पनि सुचारू भएको छ।
प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरूद्ध भएको थियो। सर्वदलीय छलफल गरी त्यहाँ मतदान सुचारू गरिएको हो।
त्यसैगरी अर्जुनधारा नगरपालिका नवदुर्गा माविमा पनि रोकिएको मतदान सुचारू भएको निर्वाचन अधिकारीले जनाएका छन्।
गौरीगञ्जमा पनि रोकिएको थियो।
सर्वदलीय छलफलपछि सबैतिर मतदान प्रक्रिया अघि बढेको निर्वाचन कार्यालय झापाले जनाएको छ।