निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन्।
आइतबार बिहान ७ बजेदेखि पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरूमा उत्साजनक रूपमा मतदाताहरूको उपस्थिति नपाएको बताएका हुन्।
उनीहरूले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरू भोट हाल्न पुगेको पाएको बताए।
आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढे पनि मतदाताहरूको उपस्थिति कम पाएको बताए।
उनले उपस्थित मतादाताहरूमा मतदान उत्साहजनक रहेको बताए।
उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढ्यो। ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्यौं। अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौं। मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ।’
त्यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरूको उपस्थिति तुलनात्मक रूपमा कम पाएको बताए।
उनले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताए।
उनले भने, ‘मतदाताहरूको उपस्थिति तुलनात्मक रूपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा। सुरक्षाकर्मीहरू सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ। कतै भित्र गएर निस्किँदा हुन्छ भनियो भने हामीलाई जान दिने आदेश छैन भनियो। कोर सहरी एरियामा उपस्थिति अलि कम थियो। बाहिर नयाँ बस्तीमा उपस्थिति बाक्लो थियो।’
त्यस्तै, पूर्व-गृहसचिव खेमराज रेग्मीले शान्त र सौहार्द्धपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताए।
उनले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरूको उत्साह कम देखिएको बताए।
उनले भने, ‘शान्त र सौहार्द्धपूर्ण वातावरणमा निर्वाचन भएको देखियो। कोर एरियामा मतदाता कम उत्साहित भएको देखियो।’
त्यस्तै, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिए।
उनले मतदान केन्द्रमा चाप कम रहेको बताए।
उनले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताए।
उनले मतदात स्थलमा कुनै दबाब नरहेको बताए।
उनले भने, ‘मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको कुरा आयो। मतदान केन्द्रमा चाप छैन। वृद्धवृद्धा, महिला, अपांगको उल्लेख्य उपस्थिति देखियो। मतदान शान्त छ, दबाब छैन। पहिलाको अनुपातमा मतदाताको सहभागिताको अनुपात नबढ्ला कि भन्ने भय छ।’
त्यस्तै, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बितेका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन्।
उनले यस निर्वाचनमा ७० प्रतिशत मतदान हुने आकलन गरिन्।
उनले विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताइन्।
उनले भनिन्, ‘मतदानलाई हेर्दा सुरूदेखि नै मतदाता कम उत्साहित रहेको पायौं। पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएका छौं। मान्छेहरूको संख्या पातलो छ। समष्टिगत ७० प्रतिशतसम्म मतदान हुन्छ जस्तो लाग्यो, पहिला देखेको निर्वाचनजस्तो माहोल छैन।’
त्यस्तै, पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा देशभर भइरहेको छ। आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ।