झापामा कम्तीमा १ लाख ९७ हजार ५६ मतदाता मतदान प्रक्रियामा सहभागी नभएको तथ्यांक सार्वजनिक भएको छ।
आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले उक्त तथ्यांक सार्वजनिक गरेको हो।
प्रतिशतका अधारमा ६७.२७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २ सय ५५ मत खसेको छ। जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ छ।
निर्वाचन क्षेत्र नम्बर १ मा ८७ हजार ३ सय ९६ (७२.६०), क्षेत्र नम्बर २ मा ८७ हजार ७ सय २३ (६५.४२), क्षेत्र नम्बर ३ मा ८९ हजार ६ सय ३७ (६८.२०) , क्षेत्र नम्बर ४ मा ७९ हजार ३ सय ४९ (६४.४४) र क्षेत्र नम्बर ५ मा १ लाख २ हजार १५० (६६.२०) प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ।
स्थानीय तहको निर्वाचनको तुलनामा यस निर्वाचनमा मतदातामा उत्साह देखिएको थिएन। यसै कारण पनि झापामा मतदान गर्नेको संख्यामा कमी आएको अनुमान गरिएको छ। झापामा ५ निर्वाचन क्षेत्र छन्।
यस्तै केही मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीको लापरवाहीका कारण पुनः मतदान गरिनुका साथै केही समय मतदान स्थगित गरिएको थियो।