जिल्लाका विभिन्न ठाउँबाट मतपेटिका संकलन जारी रहेकाले दाङमा सोमबार बिहान १० बजेपछि मात्रै मतगणना हुने भएको छ।
दाङ जिल्लाका मुख्य मतदान अधिकृत कृपासुर कार्कीले आइतबार राति अबेरसम्म पनि मतपेटिका संकलन जारी रहेको बताउँदै सोमबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरू गर्ने जानकारी दिए।
उनका अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर २ को पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका र निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको बबई गाउँपालिकामा पर्ने गंगटे क्षेत्रको मतपेटिका राति अबेर मात्रै सम्बन्धित क्षेत्रका गणनास्थलमा आइपुग्नेछ।
क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुरस्थित भूसंरक्षणको कार्यालय, क्षेत्र नम्बर २ को घोराहीस्थित जिल्ला समन्वय समितिको कार्यालय र क्षेत्र नम्बर १ अन्तर्गत लमही नगरपालिकाको कार्यालयमा मतपेटिका संकलन गरी मतगणना सुरू गरिने छ। ती सबै स्थानमा सुरक्षाको निम्ति तारजालीको व्यवस्थापन गरिएको छ।
तीन संघीय निर्वाचन क्षेत्र रहेको दाङमा सबभन्दा बढी मत ३ नम्बर क्षेत्रमा खसेको छ। यहाँ मतदाता १ लाख ४६ हजार ४ सय ७५ कुल मतदाता रहेकामा ९० हजार १ सय ५० मत खसेको छ। यो मतदाता संख्याको ६१.५४ प्रतिशत हुन्छ।
त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकामा ७९ हजार ४ सय ४६ मत खसेको छ। यो ५९.३९ प्रतिशत हुन आउँछ। निर्वाचन क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख ३४ हजार ७ सय ३३ रहेकामा ८० हजार ७ सय मत खसेको छ। यो ५९.८९ प्रतिशत हो।
जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्। दाङमा ४ लाख १४ हजार ९ सय ५६ जना मतदाता छन्।