कास्कीको मतगणना सोमबारबाट सुरू हुने भएको छ। आइतबार भएको निर्वाचनका मतपेटिका आइतबार रातिसम्म पोखरा ल्याइसक्ने र सोमबारदेखि मतगणना थालिने भएको हो।
निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीका मतगणना थाल्न सोमबार बिहान सर्वदलीय बैठकमार्फत निर्णय गरिनेछ।
निर्वाचन कार्यालय कास्कीले जिल्लाभर ६० प्रतिशत मत खसेको अनुमान लगाएका छन्। मतगणना स्थलमा पतपेटिका र मुचुल्का आइपुगेपछि मात्र कति मत खस्यो भनेर यकिन गरिने कार्यालयका सूचना अधिकारी रूद्र न्यौपानेले बताए।
‘अहिलेसम्मको प्रारम्भिक आँकडाअनुसार ६० प्रतिशतसम्म मत खसेको अनुमान छ,’ उनले भने, ‘मतपेटिका र मुचुल्का आइसकेपछि यकिन गर्छौं।’
प्रतिनिधिसभामा ३ वटा र प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कस्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता छन्। जिल्लाभर १५० मतदान स्थल छन्। निर्वाचनको मतगणना गर्न पोखराका तीन ठाउँ तोकिएको छ।
प्रतिनिधिसभा कास्की– १ को मतगणना जिल्ला समन्वय समितिको सभाहल र उपत्यका नगर विकास समितिको हलमा गरिनेछ। त्यस्तै कस्की– २ को पोखरा सभागृह र कास्की– ३ को पशुसेवा निर्देशनालयमा मत गन्ने तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभाको मतगणना गर्न तोकिएका यी तीन मतगणना स्थलमै प्रदेशसभाको पनि मतगणना हुनेछ।
निर्वाचन स्थल सुरक्षाका लागि तारजाली लगाएको निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले बताएका छन्।