काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा सोमबार बिहानदेखि मात्र मतगणना सुरू हुने भएको छ।
निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न वडाबाट मतपेटिका आउने क्रम जारी रहेकाले सोमबार बिहान ८ बजेबाट मात्र मतगणना सुरू गरिने त्यहाँका निर्वाचन अधिकृत श्रद्धादेवी पौडेलले बताएकी छन्।
उनका अनुसार अहिले मतगणना निम्ति सर्वदलीय बैठक गर्न दलका प्रतिनिधिहरू पनि कोही आइपुगेका छैनन्।
त्यस्तै काठमाडौं- १ मा पनि सोमबार बिहान ८ बजेबाट मात्र गणना सुरू गर्ने निर्णय भएको छ। नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले आफ्नो ट्विटरबाट उक्त जानकारी दिएकी हुन्।
'सर्वदलीय बैठक करिब करिब सकिन लागेको अवस्था,' उनले लेखेकी छन्, 'मतगणना भोलि बिहान ८ बजेबाट सुरू गर्ने निर्णय।'
काठमाडौं क्षेत्र नम्बर ३ मा पनि सोमबार बिहानदेखि मात्रै मतगणना सुरू हुने भएको छ। सर्वदलीय बैठकले सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताएकी छन्।
'सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने भन्ने प्रस्ताव आएको छ। उहाँहरूले नै हामी भोलिपल्टबाट मात्रै मतगणना गर्न मञ्जुर छौं भन्नुभएको छ। त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौं,' निर्वाचन अधिकृत शाहीले भनिन्।