प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार सम्पन्न निर्वाचनपछि मतदान स्थलहरूबाट मतपेटिका संकलन गरी गणनास्थल ल्याउने क्रम जारी छ। काठमाडौं, पोखरा लगायतका केही निर्वाचन क्षेत्रमा सोमबार बिहानबाट मात्र गणना सुरू हुने निर्णय भइसकेको छ।
निर्वाचन आयोगले आइतबार साँझ गरेको पत्रकार सम्मेलनमा आठ दिनभित्र सबै ठाउँको गणना सम्पन्न गरी निर्वाचन परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ।
के यो आठ दिनमा सक्न सम्भव छ?
काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मतगणनामा अलमल नहुने र समय पनि धेरै नलाग्ने बताएका छन्।
‘हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार संख्याका आधारमा मतपत्र छपाई भएको छ, त्यसकारण यसपटकको मतगणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ,’ उनले भने।
स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो। उम्मेदवार संख्या धेरै, एउटै मतपत्रमा सातवटा स्वस्तिक छाप लगाउनुपर्ने भएकाले पनि मतगणना लम्बिएको थियो। यसपटकको निर्वाचनमा भने बेग्लाबेग्लै चार प्रकारका मतपत्र रहेको र प्रत्येक मतपत्रमा एक–एक स्वस्तिक छाप मात्र लगाइएकाले गणना निकै सहज हुने अधिकारीहरू बताउँछन्।
आयोगले छिटो, छरितो र पारदर्शी रूपमा मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई यसअघि नै निर्देशन दिइसकेको छ।
मतदान सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन र भण्डारण गरिनेछ। त्यसपछि हुने सर्वदलीय र सर्वपक्षीय छलफलपछि सहमतिका आधारमा मतगणना प्रारम्भ हुनेछ।
पर्याप्त सुरक्षासहितको मतगणनास्थलमा सुरूमै आवश्यकताअनुसार टोली खटाएर मतगणना प्रारम्भ हुनेछ। गणना टोलीमा चारदेखि पाँच जना कर्मचारी व्यवस्थापन गरी निरन्तर मतगणना हुने आयोगले जनाएको छ।
कतिपय निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको नतिजा एक–एक घन्टामा माइकद्वारा जानकारी गराइने व्यवस्था गरिएको पाइएको छ।