बाजुराको त्रिवेणी नगरपालिका-७ को दम्था मदतानस्थलमा आइतबार भएको घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्दबहादुर बिष्टका अनुसार आइतबार साँझ मतदान सकिनै लाग्दा त्यहाँ दुई पक्षबीच झडप भएको थियो।
सोही झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोलीले अन्दाजी २२ वर्षीय सञ्जीब ऐडीको मृत्यु भएको थियो।
यद्यपी यहाँका स्थानीय जनप्रतिनिधिले सामान्य अवस्थामा प्रहरीले गोली चलाएको भनेका छन्।
झडपममा सोही ठाउँका चेतन ऐडी घाइते भएका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी बिष्टका अनुसार गम्भीर घाइते भएका उनलाई तुरून्तै अस्पताल लग्न गाडी र एम्बुलेन्स थिएन।
सुरक्षाकर्मीको मोबाइल टोलीले उनलाई अछामस्थित बयालपाटा अस्पतालमा उपचारका लागि लगेको थियो।
उनको अस्पतालमा उपचारका क्रममा गएराती १ बजेर ४५ मिनेटमा मृत्यु भएको हो।
मृत्तक ऐडी अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय अध्यक्षसमेत हुन्।
यो घटनामा गृह मन्त्रालयले भने एक समूह मतपेटिका खोस्न आएकोले गोली चलाउनु परेको बताएको छ। सो समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेको मन्त्रालयको भनाइ छ। मतपेटिका खोस्न आएको समूहलाई रोक्न खोज्दा भीडले ढुंगा हानेपछि घाइते भएका प्रहरी सहायक हवल्दार कृष्णबहादुर कुँवरको साथमा रहेको लोड गरिएको राइफल समेत लुटिएको प्रहरीले बताएको छ।
प्रहरीको इन्सास राइफल लुटिएको छ। गोली लोड गरिएको राइफल मतपेटिका लुट्न आएकै समूहले खोसेर लगेको र अझैसम्म फेला नपरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन्।
सो घटनाका दुई जना घाइते छन्। घाइतेको उपचारका लागि हिजै हेलिकप्टरबाट सुर्खेत लगिएको थियो।
उक्त मतदान स्थलमा मतदान कार्य भने सकिएको थियो। त्यहाँ अब के हुने भन्नेबारे छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए।
‘चुनाव त सबै भएकै हो, अन्तिममा आएर दुर्घटना भएको हो। त्यहाँ के हुन्छ भन्नेबारे सर्वदलीय बैठक बसेर निर्णय हुन्छ,’ उनले भने,‘निर्वाचन आयोगले के गर्छ त्यहीअनुसार हुन्छ।’
उनका अनुसार बाजुराको बुढीनन्दानगरपालिका- ५ मा भने चुनाव स्थगित भएको छ।