विभिन्न दलका शीर्ष नेताको निर्वाचन क्षेत्रमा मतगणना सुरू हुन अझै समय लाग्ने भएको छ। सर्वदलीय बैठक बस्न भइरहेको ढिलाइ र मतपेटिका ढुवानीमा समय लागेकाले गणनामा ढिलाइ हुने देखिएको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा मतपेटिका ल्याउनै बाँकी रहेको छ। पर्शुराम नगरपालिकाका दुई वटा मतदान केन्द्रका मतपेटिका ल्याउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।
‘राती भरियाले बोकेर सवारीसाधन चल्ने ठाउँसम्म ल्याएका छन्। अब २ घन्टामा मतपेटिका आइपुग्ने अनुमान छ,’ जोशीले भने।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ मा सर्वदलीय बैठक जारी छ। त्यहाँ साढे आठ बजेबाट मतगणना सुरू गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए।
‘सर्वदलीय बैठक जारी छ। साढे ८ बाट मतगणना सुरू गर्ने तयारी छ,’ उनले भने।
यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठेको गोरखा-२ मा १० बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए।
‘सबै ठाउँबाट मतपेटिका संकलन गरिसकेका छौं। सर्वदलीय बैठक १० बजे बोलाइएको छ। १२ बजेबाट मतगणना सुरू हुन्छ,’ भट्टराईले भने।
यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट- १ मा पनि केहीबेरमा गणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत राजन नेपालले बताए।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी -२ मा सर्वदलीय बैठक जारी रहेको छ। ९ बजेबाट मतगणना सुरू हुनसक्ने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए। ‘सर्वदलीय बैठक जारी रहेको छ। प्रतिनिधिहरू आउने क्रम पनि जारी छ,’ रावलले भने।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्वाचन क्षेत्र महोत्तरी-३ मा सर्वदलीय बैठक बस्न सकेको छैन। मतगणना ११ बजेबाट सुरू हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए।
‘मतपेटिकाको क्रमसंख्या मिलाउने क्रम जारी छ। मतगणना ११ बजेबाट सुरू हुनसक्छ,’ सेनले भने।