कैलालीमा तीन वटा निर्वाचन क्षेत्रको मतगणना ११ बजे सुरू हुने भएको छ।
क्षेत्र नम्बर १, ३ र ५ को मतगणना सो समय हुने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
उनका अनुसार क्षेत्र नम्बर २ र ४ को मतपेटिका बिहान ५ बजे गणनास्थलमा पुगेका छन्।
त्यहाँ सर्वदलीय बैठक बस्न समय लाग्छ। बैठकपछि मतगणना दिउँसो वा बेलुकासम्म हुने सूचना अधिकारी जोशीले बताए।
आइतबार भएको निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
यहाँ कुल मतदाता ५ लाख ३५ हजार ५ सय १४ रहेका थिए। जिल्लाका २ सय ३७ मतदान स्थलका ६ सय २९ मतदान केन्द्रबाट मतदान कार्य भएको थियो।
यहाँका प्रतिनिधि सभाका ५ र प्रदेशका १० निर्वाचन क्षेत्र छन्।