हिजो रातिदेखि नै हुने भनिएको प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचनको मतगणना कार्य रूपन्देहीमा अझै हुन सकेको छैन।
मतगणनाका बारेमा रूपन्देहीका २ वटा निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सम्पन्न भएको छ।
रूपन्देही क्षेत्र नम्बर ३ र ४ को सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।
सर्वदलीय बैठक सम्पन्न भएका क्षेत्रमा बिहान ८ बजेपछि मतगणना हुने भएका छन्।
बाँकी निर्वाचन क्षेत्रहरूमा कति बजेदेखि मतगणना सुरू हुन्छ भन्ने अझै टुंगो लाग्न सकेको छैन।
निर्वाचन कार्यालयका अनुसार ३ वटा निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक जारी रहेका छन्। रूपन्देही क्षेत्र नम्बर १, २ र ४ मा सर्वदलीय बैठक जारी छ।
यसअघिका आम निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाममा हुँदै आएकोमा यसपटक भने आ- आफ्नो निर्वाचन क्षेत्रमै मतगणना हुने छ।
निर्वाचन कार्यालय रूपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा, ४ को मझगावा मावि मर्चवारमा र ५ को गैंडहवा गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा मतगणना हुने छ।
रूपन्देहीका सबै निर्वाचन क्षेत्रमा गरी ६६ प्रतिशतमात्रै मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।