ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू मतदान केन्द्रबाट सदरमुकाम ल्याउने तयारी भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सदरमुकाम ल्याउने तयारी भइरहेको छ।
उनका अनुसार सोमबार रातिमात्र मतपेटिका सदरमुकाम आइपुग्नेछ।
‘भौगोलिक विकटताका कारण मतपेटिका पिँठ्युमा बोकेर ल्याउनुको विकल्प छैन,’ प्रहरी प्रमुख राईले भने, ‘ढुवानीका साधन पुग्ने ठाउँसम्म बोकेर ल्याइने र त्यसपछि साधनमा हालेर सदरमुकाम ल्याउने तयारी छ।’
सवारी साधन पुग्ने ठाउँसम्म सदरमुकामबाट साधन आज बिहान पठाइएको उनले बताएका छन्।
फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट कम्तीमा चार दिनको समय लाग्छ।
करिब ४ हजार २ सय मिटरको उचाइमा पर्ने याङ्माको मतदान केन्द्रमा ६१ मतदाता छन्। यहाँ आइतबार भएको निर्वाचनमा १२ मत खसेको बताइएको छ।
प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ।
यस्तै प्रदेशसभा क्षेत्र (१) मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ।
यस्तै, प्रदशसभा क्षेत्र (२) मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट नेपाली कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ ।