देशका विभिन्न प्रतिनिधि सभा क्षेत्रमा मतगणना सुरू भएका छन्।
आज बिहानसम्म प्रारम्भिक मतपरिणाम आएको छ भने मतगणना जारी छ।
अहिलेसम्म मुस्ताङमा तीन हजार सात सय ७९ मत गणना गरिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याएका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने ४० मत बदर भएको छ।
अब करिब तीन हजार पाँच सय मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
यस्तै धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले प्रारम्भिक अग्रता लिएकी छन्। मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महतोले ६०८ मत ल्याएकी छन्।
उनलाई जनमत पार्टीका शम्भुनाथ साहले ३२० मतसहित पछ्याइरहेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झा ३१५ मतसहित तेस्रो स्थानमा छन्। मतगणना जारी छ।
भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
अहिलेसम्म ५ हजार ९० मतगणना भएकोमा कांग्रेसका दुर्लभ थापाले २ हजार २ सय ३१ मत पाएका छन्।
उनलाई पच्छाइरहेका एमालेका महेश बस्नेतले १ हजार ६ सय ३२ मत पाएका छन्। बस्नेत सोही क्षेत्रबाट २०७४ मा निर्वाचित भएका थिए।
मतगणना जारी छ।
कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत प्राप्त गरेका छन्।
उनलाई एमालेकी विद्या भट्टराईले १२२ मत ल्याएर पछ्याइरहेकी छिन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत ल्याएका छन्।
यसैगरी राप्रपाका सुवर्णराज पन्तले ७५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महादेव गुरूङले २८ मत ल्याएका छन्। मतगणना जारी छ।
ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरूवाती अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार सिलवालले ६६७ मतसहित अग्रता कायम गरेका छन्।
सिलवाललाई नेपाली कांग्रेसका उदयशमशेरले ४०२ मतसहित पछ्याइरहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत ल्याएका छन्।
यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेका सिलवाल नै विजयी भएका थिए। उनले त्यो बेला पनि कांग्रेसका शमशेरलाई पराजित गरेका थिए।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत ल्याएका छन्। मतगणना जारी छ।
ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।
अहिलेसम्म १० हजार ८८ मतगणना भएकोमा एमालेका प्रेम बहादुर महर्जनले २ हजार ९ सय ८० मत ल्याएका छन्।
हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत ल्याएका छन्।
राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत ल्याएका छन्।
मतगणना जारी छ।