नेकपा एमालेले देशका विभिन्न क्षेत्रमा धाँधली भएको आरोप लगाउँदै पुन: मतदान गर्न माग गरेको छ।
गोरखामा नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले पुन: निर्वाचन गर्न माग गरेका छन्।
उनीहरूले गोरखा २ का ८ वटा मतदान केन्द्रमा धाँधली भएको र गोरखा १ का ४ केन्द्रमा धाँधली भएको आरोप लगाएका छन्।
सत्ता र शक्तिको आडमा अनुपस्थित र मृतकको नाममा समेत मत हालेको आरोप उनीहरूको छ। एमालेको विरोधपछि गोरखा २ मा मतगणना सुरू हुन सकेको छैन।
यस्तै एमालेले स्याङ्जा क्षेत्र नम्बर २ मा पनि पुन: मतदानको माग गरेको छ।
एमाले सचिवसमेत रहेकी उम्मेदवार पद्मा अर्यालले आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएकी छन्।
उनका अनुसार स्याङ्जाका ४ बुथमा कांग्रेसले कब्जा गरेको थियो। उनले निष्पक्ष चुनाव हुन नसकेको बताइन्। यहाँ नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरूङ उम्मेदवार छन्।
यस्तै नेकपा एमाले रूकुम पश्चिममले सात वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेको छ।
नेकपा माओवादीले फर्जी मत हालेको दाबीसहित एमालेले ती मतदान केन्द्रमा पुन: मतदानको माग गरेको हो। यहाँ माओवादीबाट जनार्दन शर्मा उम्मेदवार छन्।
रूकुम पश्चिममा मतगणना सुरू भएको छैन। मतपेटिक संकलन कार्य हुँदैछ। एमालेले आज जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै धाँधली भएका केन्द्रमा पुन: मतदान गर्न माग गरेका हुन्।