देशभरका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना भइरहँदा मोरङको ३ नम्बर क्षेत्रमा भने समानुपातिक मत गणना भइरहेको छ।
प्रत्यक्षको धेरै मतपत्र मतदाताले समानुपातिकको मतपेटिकामा हालेका कारण सुरूमै समानुपातिक गणना गरिएको राप्रपा उम्मेदवार रेखा थापाले जानकारी दिइन्।
‘यहाँ मतपत्र धेरै मिसमास भएको थियो,’ थापाले भनिन्, ‘ती मत बदर नहोस् भनेर हामीले सर्वदलीय बैठकमा सहमति गर्यौं र समानुपातिकको गणना थाल्यौं।’
थापाका अनुसार प्रदेशसभाको मतपेटिकामा पनि त्यसरी नै मतपत्र मिसिएको हुन सक्ने भएकाले प्रदेशको पनि समानुपातिक गणना भइरहेको छ।
‘अब प्रतिनिधिसभाको मतपत्र छान्ने काम भइरहेको छ,’ थापाले भनिन्, ‘अब एक, डेढ घन्टापछि प्रत्यक्षको पनि गणना सुरू हुनेछ।’
मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकाल र राप्रपाकी थापाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।