मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। मनाङ, मुस्ताङ र ललितपुर क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक पनि भइसकेको छ। मनाङ र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने ललितपुर-२ मा नेकपा एमालेले जित हात पारेको छ।
अन्य स्थानमा भने मतगणनाले विस्तारै गति लिन सुरू गरेको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको मतपरिणाम अनुसार हाल ९६ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। मतगणना भइरहेका मध्ये झन्डै साठी प्रतिशत सिटमा अहिलेको सत्ता गठबन्धनले अग्रता लिइरहेको छ।
मतगणना भइरहेको ९६ सिटमध्ये ५७ सिटमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अग्रता लिइरहेको छ। अर्थात् सत्ता गठबन्धन ५९.४ प्रतिशत सिटमा अग्रस्थानमा छ।
त्यस्तै नेकपा एमालेले २४ सिटमा अग्रता लिएको छ।
एमाले २५ प्रतिशत सिटमा अग्रस्थानमा छ भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत सिटमा अग्रता लिएको छ।
रविको पार्टीका उम्मेदवारहरू ७ क्षेत्रमा अग्रस्थानमा छन्। त्यस्तै अन्य दलहरू ८.३ प्रतिशत सिटमा अगाडि छन्।
अन्य दलहरुले ८ सिटमा अग्रता लिएका छन्।