दसवटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा घन्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख दलहरूलाई कडा चुनौती दिइरहेको छ।
मंगलबार बिहान साढे १ बजेसम्म प्राप्त मतपरिणामअनुसार घन्टी चिह्न लिएर चुनावी मैदानमा ओर्लेका उम्मेदवारहरूले कहीँ अग्रता लिइरहेका छन् भने कहीँ दोस्रो र तेस्रो स्थानमा छन्।
नेपाली कांग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रबीच सुरूदेखि 'काँटेका टक्कर' रहँदै आएको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी लगातार तेस्रो स्थानमा छ। मंगलबार बिहान साढे १ बजेसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २८०३ मत पाएका छन्।
पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार प्रकाशमानको ४८२१ र उनका निकट प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका मिश्रको ४७९६ मत छ।
यहाँ पुकार बम नेकपा एमालेका उम्मेदवार किरण पौडेल र सुशासन पार्टीका रमेश खरेलभन्दा अगाडि छन्। एमाले उम्मेदवार पौडेलले २६९३ र सुशासन पार्टीका खरेलले २१३० मत ल्याएका छन्।
क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्।
पछिल्लो परिणामअनुसार गौतमले १७९१ मत प्राप्त गरेकी छन्। जम्मा ५९९८ मत गन्दा सोबिताले उक्त मत पाएकी हुन्।
यहाँ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८९ मत पाएकी छन् भने राप्रपाकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले १११५ मत पाएकी छन्। नेकपा एमालेका मणिराम फुयाल १०९३ मतसहित चौथो स्थानमा छन्।
पाँच नम्बर क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेलको अग्रता छ। उनले १३३३ मत पाएका छन् भने नेकपा एमालेका ईश्वर पोखरेलले ९३४ मत ल्याएका छन्। प्रतिस्पर्धाको तेस्रो स्थानमा रहेका स्वतन्त्र पार्टीका प्रणयशमशेर राणाले ४७२ मत पाएका छन्।
काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरूआतदेखिको अग्रता कायम राखेका छन्। उनले मंगलबार बिहान साढे १ बजेसम्म २०७९ मत पाएका छन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधान १४१२ सहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल १४०१ मतसहित तेस्रो स्थानमा छन्।
क्षेत्र नम्बर ७ मा पनि घन्टीले कडा टक्कर दिइरहेको छ। यहाँ नेकपा एमालेका श्यामकुमार घिमिरे १३५८ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ११६५ मत ल्याएर पछ्याइरहेका छन्। गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन्। उनले ९६३ मत ल्याएकी छन्।
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ अगाडि छन्। उनले हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई उछिनेका छन्। विराजभक्तले ३०१७ मत पाएका छन् भने सुमनले २८११ मत पाएका छन्। उनीहरूबीच जम्मा २०६ मतको अन्तर छ।
यहाँ तेस्रो स्थानमा रहेका नेकपा एमालेका शिवसुन्दर राजवैद्यले १३४७ मत पाएका छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ चौथो स्थानमा छन्। उनले ११९७ मत पाएका छन्।
त्यस्तै क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। यहाँ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमला तेस्रो स्थानमा छिन्।
पछिल्लो परिणामअनुसार एमालेका श्रेष्ठले ५७३४ मत ल्याएका छन् भने स्वतन्त्र पार्टीका पोखरेलले ५१४५ मत ल्याएका छन्। माओवादी केन्द्रकी धमलाले ३१३७ मत पाएकी छन्।
क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिष्ट दोस्रो स्थानमा छन्। यहाँ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले २४१८ मत ल्याएका छन् भने स्वतन्त्र पार्टीका बिष्टले १८७८ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका हिमेश केसीले १३५२ मत पाएका छन्।