नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मंगलबार राति १ बजेदेखि मतगणना स्थगित भएको छ।
नेपाली कांग्रेसका प्रतिनिधिहरूको अहसमतिका कारण मतगनणना अवरूद्ध भएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।
‘सर्वदलीय सहमति अनुसार नै मतपेटिका गणना भइरहेको थियो। उहाँहरूले पछि निर्वाचन आयोगले दिएको मुचुल्कासँग मतपेटिकाको क्रम संख्याको सवालमा विवाद गरेपछि मतगणना स्थगित भएको हो। अहिले १ बजे बैठक बोलाएका छौं,’ दाहालले सेतोपाटीसँग भने।
दिउँसो १ बजेबाट मतगणना सुरू गर्न पहल भइरहेको उनले बताए।
हालसम्मको परिणामअनुसार एमालेका महेश बस्नेतले त्यहाँ अग्रता लिएका छन्। बस्नेतले १०२८७ मत ल्याउँदा एकीकृत समाजवादीका नेता खनालले ८ हजार ७ सय ८० मत ल्याएका छन्।