भारत, चीन र अमेरिकास्थित राजदुतहरुले संसद्को अन्तर्राष्ट्रिय मामिला तथा श्रम समितिमा सम्बद्ध मुलुकको बदलिएको नेपाल नीति र प्राथमिकता तथा नेपालको हित प्रवद्र्धनबारे प्रस्तुतीकरण गरेका छन् । आजको
नयाँ पत्रिका दैनिकमामा यो समाचार प्रकाशित भएको छ।
उनीहरूले छिमेकी तथा अमेरिकाको नेपालसम्बन्धी नीति र प्राथमिकता बदलिएको, तर नेपालको विदेश नीति नबदलिएको टिप्पणी गरेका छन् ।
नेपालको परराष्ट्र मामिला सञ्चालनको संयन्त्र परिवर्तनमा उनीहरूले जोड दिएका छन् । बिहीबार बिहान नौ बजेदेखि सिंहदरबारस्थित समितिको सभाहलमा चलेको आठ घन्टा लामो बैठकमा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विदेश मामिलाविज्ञ सहभागी थिए ।
बैठकमा सहभागी हुन अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल पहिले नै आएका थिए भने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय बिहीबार बिहान दिल्लीबाट आएका थिए । समितिले राजदूत र विज्ञ बोलाएर गरेको यो पहिलो छलफल हो ।
छलफलका आधारमा समितिले प्रतिवेदन बनाएर कार्यान्वयनका लागि निर्देशन दिने समितिका सदस्य सांसद श्याम श्रेष्ठले बताए । ‘एक सातामा प्रतिवेदन तयार हुन्छ, तत्काल गर्नुपर्ने र गर्न सक्ने विषय छनोट गरेर तत्काल कार्यान्वयनका लागि हामी सरकारलाई निर्देशन दिन्छौँ,’ श्रेष्ठले भने । उनले दोस्रो चरणमा खाडी मुलुकमा कार्यरत नेपाली राजदूतलाई बोलाएर छलफल गर्न खोजिएको, तर ४ कात्तिकको समयसीमाका कारण यो निश्चित नभएको पनि बताए ।