अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स(एक्का)को आयोजनामा यही आउँदो असार ३० र ३१ गते काठमाडौंमा अस्ट्रेलियन एजुकेशन फेयर आयोजना हुने भएको छ।
अस्ट्रेलियामा उच्च अध्यनका लागि आउन चाहने विद्यार्थीलाई ध्यानमा राखेर एक्काले पहिलो पटक होटल अन्नपूर्णमा दुई दिने शैक्षिक मेलाको आयोजना गर्न लागेको कुरा एक्काका अध्यक्ष निरज श्रेष्ठले बताए। ‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला हाम्रो संस्थाले आधिकारीक रुपमा विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गर्न लागेको हौ’, श्रेष्ठले बताए।
अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना र यसको यात्रा मात्र हैन, पढाइको स्तर, लाग्ने खर्च अनि आइपर्ने कठिनाइका विषयमा पनि छलफल गर्ने श्रेष्ठले आयोजनाको उद्देस्य बारे स्पष्ट पारे।
श्रेष्ठले अगाडि भने, ‘हामीले नेपालमा मात्र होइन अस्ट्रेलिया आएपछि पनि उनीहरूको पठन पाठनसँगै अन्य विषयमा पनि सेवा दिने विषयमा समेत छलफल चलाउने छौं। अस्ट्रेलियामा रहेका करिब तीस वटा शैक्षिक तथा अध्यागमन परामर्श केन्द्रहरुको छाता संगठनका रूपमा एक्काले परिचय बनाएको छ। नेपालमा आएको बिनाशकारी भूकम्पको समयमा पनि एक्काले पचास हजार डलरको सहयोग गरेको कुरा उपाध्यक्ष भुपाल सिटौलाले सुनाए।
‘यहाँको वातावरण र परिस्थिति अनि शैक्षिक प्रणालिका साथ साथै काम र सम्भावनाका बिषयमा पनि प्रष्ट पार्ने हाम्रो उद्देस्य हो,’ सिटौलाले थपे।
शैक्षिक मेलाका लागि सिड्नीको सिड्नी मेट्रो कलेजले मुख्य सहयोगीको भूमिका निर्वाह गरेको छ भने अर्को कलेज प्यासेफीकले सहयोगीको रुपमा एक्काको अभियानलाई साथ दिएको छ। अन्य सहयोगीहरुमा राजमान थकालीको हिमावस ,एबीसी एजुकेशन एन्ड माइग्रेशन र एक्सपर्टले एक्कालाई सघाउने भएका छन्।