छोरी ठुली,
के गर्दैछेस ? मागे जाडो होला अहिले त्यहाँ। अलिक बाक्ला लुगा लाएर हिड्नू।
यहाँको जाडो हेरी त त्यहाँ केही पनि होइन र’छ नि। पहाड भनूँ भने डाँडाकाडा छैनन् जम्मै सम्म छ, हिमाल भनूँ भने तेता हाम्रामा जस्तो कुम्भकर्ण पनि छैनन्। तर, हिउँ परेको देख्दा उल्का छ। मधेसको लेकमा आएर बसेका रछन् नानी मधेसको लेकमा ! बाहिरफेर निस्केर घुमूँ हेरूँ भन्ने नचिताएको ४ महिना हुन आँट्यो। बाहिर निस्कियो भने आँखो झिमिक्क पार्न नपाई अघि हिउँले अररो हुन् बेर लाग्दैन। जताततै घुँडाघुँडा सेताम्बे हिउँ छ, माटो देखिदैन। यस्तो अक्कर लेकमा पनि मान्छे बस्नलाई स्वर्ग जस्तो बनाएका छन्। यहाँ बिकास गरेको देख्दा चौधै भुवनका पति हाम्रातिरका देउता श्रीराम पनि छक्क पर्दा हुन् कुइरेको खेला देखेर ठान्छु म त।
यहाँ सबै सन्चै छ। उस दिन काठमान्डूको यार्पोटबाट उडेका दिन कहाँ बास बसियो बसियो केही पत्तै भएन। बेलुका ४ बजी बेलामा काठमान्डूबाट उड्या ता हो नि। त्यसपछि कतिबेला रात परो, कहाँ आइपुग्दा भाले बासो र कतिबेला घाम झुल्के केही थाहा नहुने कानो गोरु नै बनायो हामीलाई त पिलेनले। मेरो अन्सारमा भोलिपल्ट जति बेला भ’को हुनुपर्छ, समुद्रमाथि उड्दै छौं भन्थे यसो बाहिर हेर्दा घामको अन्बार देखियो। कुन बारको कति बजीका घाम थिए ती केही मेसो पाइएन। बिहानको सन्जे, पुजा, प्रार्थना सबै माथि हावामै गयो त्यस दिनको। सुर्य नारानलाई भित्रैबाट यसो जम्लाहात गरें।
सुरुमा ४ घण्टा जति उडाएपछि एउटा कुन चाइनस सहर हो भन्थे त्यहाँ ओरालो। अनि फेरि उडाएर अर्कै चाइनस बजार पुर्याको भन्थे साथका साथी। त्यहाँ एकरात पुरै जाग्राम बसिउँ तेरा बुबा, म र पराजुली दिदी-भिनाजु। बिजुलीको झिलिमिलीले आँखै टिप्ने ठाउँमा बस्नु परो, आँखो झिमिक्क जोडिएन रातैभर। टोपी, मजेत्रो, गाम्चा, फुली, मुन्द्री, सारी, चुरा, पोते, सिन्दुर, चन्दन, कण्ठी लाएका मान्छेको छावा देखिएन त्याँ। मन उसै बिरक्त पार्ने गरी मान्छे सबै बिराना मात्रै देखिए। त्यसपछि उडायो सबैभन्दा लामो १३ घण्टा। मेरी आमोई, अलिकतिबेर मात्रै हो र माथि आकासमा अडिएर बस्नु पर्या। पेटले भोक लागेको जनाउ गर्छ। खाउँ भने ती कलिला लिम्बूनी जस्ता केटीले के दिन्छन् दिन्छन् जान्नुबुझ्नु छैन। मान्छे ता दानी परेछन् पिलेनका। एउटा गाडामा ठेलेर खान ता ल्याकोल्याई गरे रातैभरि ती केटीले माथि आकासमै पनि। खानेले थपिथपि खाँदा रा’न। त्यही आफूले बोकेका दाल्मुठ चिउरा फँक्याउदै र पानी पिउदै ज्यान बचाइयो आफूले त हेर।
‘वायुका बेगले रथ हो उडाई पुर्यायो दैंतेका देस’ भनेर तेरा बुबाले पढेको सिलोककै ताक जस्तो ल्याइपुर्यायो कतै केही हरामबिराम नपारी क्यानाडा। कहाँ लंकादेखि पनि उतै पलंका नै पुगेर बस्या रा’न नानी तेरा दाजुभाउजु त। कहाँ गइयो गइयो। फर्केर घर जाऊँ भने पनि माथि हावामा तैरिएको छ ज्यान। ओर्लिने ठाउँ कहिले आउदैन। “हन कति चैं टाडा रछौ रन पनि गाँठे” भन्नुहुन्छ तेरा बुबा बेलाबेला। एकबारको जुनीमा नराम्रोसँगले हराइने भो बुडाबुडी नै यो उमेरमा आएर भन्ने पो लागो भित्रभित्रै। तर, कसैलाई भनिन।
यत्रो उडेर आफ्नो देस, मान्छे सबै बिराना लाग्ने गरी पर पुगेपनि निधारमा निको मात्रै लेख्या छ भने केही फेर नपर्ने र’छ नानी। पिलेनबाट ओर्लेर गाडा ठेल्दै बाहिर निस्किंदा त ठुले अघि मुसुमुसु हाँस्दै उभिई राखेको पो छ ए ! दुई दिन मात्रै भएको थियो क्यार आफ्ना मान्छे अझ भनूँ नेपालीको अनुहार नदेख्या तर महिना दिन परदेस लागेजस्तो भइसक्या थ्यो आफूलाई त। एकैचोटी तेरो दाजुलाई देख्दा त ठुलै सास। यत्रो दुरका देसमा आएर पनि नहाराई कतै नअल्मलिई गरी खाएको र’छ छोराले भनेर देख्ने बितिक्कै ढुक्क भो मन उसै।
बिहान उठेर न्वाइध्वाइ, जपतप र योग सकेर तल ओर्लिंदा ८ बज्छ। दाजु अघि कुनबेला उठेर गइसकेको हुन्छ। भाउजुले फलफुल काटेर राखिदिएकी हुन्छे त्यो खान्छु। अर्को ओट भन्ने एउटा हाम्रातिरको गाईको चापटजस्तो भुसे दाना हुँदो र’छ यहाँ। दुधमा पकाएर खान्छन्। पकाएर झिक्दा ठ्याक्कै गाईको पाकेको खोले जस्तो गनाउँछ। चिनी सख्खर हालेर खाए त तै बिसेक हुने नि त्यसै खान्छन् स्वाद न ब्यादको कुँडो। म पनि फलफूलका चानाचुनीसँग त्यो ओट भन्ने ढिंडो खान बानी परिसकें। तर मलाई त चिनी हाल्दे भन्छु।
बिहान त्यति बिरेकफास खाएपछि भरे साडे एक बजी भात पकाएरर खान्छु। स्वयम् पाक्ये जस्तो भएको छ मलाई यहाँ एक छाक चैं। नानी सुतेपछि दिउसो पुराण पढ्छु। एउटा चेस्मा ल्याउनु पर्ने र’छ इनाम भयो। यसरी पुराण झिकाइदेला दाजुले काठमान्डूबाट र पढिएला भन्ने नै भएन। आँखाको त्यति भर छैन। कनिकुथी गर्छु उज्ज्यालोपट्टि फर्काएर।
यहाँ दिन बिताउने एउटा टिभी छ र त्यही सानी नातिनी छे। टिभीमा इन्डियाको उडान, दिल से दिल तक, स्वरागिनी, अशोका आउछ। ठुलीचैं नातिनीले टिभी ठिक्क पारेर एउटा बटम थिच्दा आउने पारेर राखिदिएर जान्छे। एकदिन कता थिचेछु थिचेछु फिटिक्क निकाल्न जानिन र टिभी हेर्न नपाई दिनभरि उँगेर बसें। अहिले नातिनीले थिच्ने बटममा रातो चिनु टाँसिदिएकी छे र अल्मलिन्न। तेरो दाजु त्यो हिन्दीका सिरेल हेरेको देखी सहदैन...कोठाबाट निस्केर आँगनमा आइपुग्न एक महिना लाग्छ तिमेरको सिरेलमा...बेकारको पत्रु कुरा हेरेर बस्छौ भन्छ। “नहेर्नु हो भने किन बनाए त बाबा ? त्यत्रो खेल तमासा गरेर बनाएका छन्, त्यत्रो मान्छेको जागिर छ यसमा, हामीले हेर्दिदा के बिग्रिन्छ, एकछिनलाई मनको रमाइलो त हो नि...चौबिसै घण्टा यसैमा जुकोजस्तो टाँसिएको हो र ?...हामीले बल गरिगरि नधोक भन्दा छोरा मान्छेले टेर्या छन् मुलुकाँ ?” भन्दै भाउजु पनि लर्न सक्छे र हेर्न पाइएको छ। मलाई मात्रै हो भने त यो बेकारको कुरा हो भनेर हेर्न नदिने र’छ क्यार। भाउजु, छोरी र मलाई त खुब स्वाद पर्छ त्यो हेर्न। उडानमा चकोर भन्ने सानी केटीले तेत्रातेत्रा मान्छेलाई तिरीखिरी पारेको हेर्न कम्ति रस पर्छ के त ! कति खेर आउला भनेर सबै धन्दापात सकेर तयार भएर बस्छौं। नेपालका हँसाउने सिरेल पनि लाइदिन्छन् बेलाबेला। तर नातिनीले तेइ अंग्रेजी बोल्ने टिभी मात्रै लाउछे ऊ घरमा छे भने त। मेरा लागि त्यो भको र नभको एकै हो।
यहाँ पुजाआजा, बर्त, ध्यान गर्ने कुरामा कसैलाई मतलब देखिन मैले। पशु जस्तो एकोहोरो काम गर्नु र खानु नै यहाँको खेति रहेछ। धर्मकर्म शास्त्र पुराणका कुरा त जन्मिदैका सत्रु नै हुन् जसो गर्छन् धेरैजसो मान्छे।
तेरा दाजुले नेपालबाट झिकाइदिएको बडेमाको पुराण किताबमा मारकंडेय पुराण पढ्दा आयो ‘पतिलाई नखुवाई, पतिले खानुभन्दा पहिले खाने पत्नी सिधै नर्क जान्छे’ भन्ने। बेलुका तेरो दाजु कामबाट आएपछि सुनाएँ। किन सुन्न मान्थ्यो। त्यो बेलाका सामन्तीले लेख्या हो नि आइमाईलाई दल्न भन्छ सुन्नै मान्दैन। दल्न त लोहोरो सिलौटो पो लिएर बस्छ मान्छे, कतै पुराण लेख्न बस्छ दल्नु परो भने ? अचेलका मान्छेका कुरा सुनेर पार त के लाग्थ्यो लाग्न त। भगवानका पालामै लेख्या कुरो त हो नि, मानिदिए पो। भरे भाउजु आई। उसैले कुरो निकालो आमाले त यस्तो पढ्नु भएछ आज पुराणमा...धर्मकर्ममा पतिको सेवामा अलि ख्याल राख है नर्क जाने स्थिति हुने रहेछ भनेर जिस्क्यायो।
गाई खानेहरुको भाषामा एक फेर लट्टे पड्केझैं पड्की र...ऊ झन् के कम की हुन्थी। आमा हामी त अहिलेका मान्छेले लेख्या पुराण मात्रै मान्छौं कहाँ, त्यो बेलाका मान्छेले लेख्या पुराण मान्छौं त भन्छे। ब्यासजी भगवानले लेख्या हो पुराण कहाँ मान्छेले लेख्या हो भनेर तेरी भाउजुलाई कल्ले भन्देओस्। शास्त्रका कुरा खाए पो बोल्नु। म पनि चुपै लागें।
तेरो दाजु त भाँडा माझ्नै आएको रछ हेर। घरमा हुँदा खाएको थाल त परै जाओस पानी पिएको पेला पनि नपखाल्ने होइन तेरो दाजु ? अहिले बिहान बेलुकै एकएक डोको जुठा भाँडाकुँडा टल्काउदो र’छ याँ ता। नानीको गुहुमुत गर्न पनि जान्ने भएछ। जेठी छोरीका पालामा नानीले हगी भने नाकमुख थुन्दै बाघै आएजस्तो गरेर हारगुहार गर्ने तेरो दाजु अहिले त चुइँक्क नबोली नानीको आची सोर्दो र’छ। अचेलका नानीहरु पनि उम्रिदैका तीन पाते निक्ले। ठीक्क पार्छन् पार्न ता। बाबाले नै फेर्दिनु पर्छ गुहे टालो अरुले फेर्देर हुनेवाला छैन। नेपालमा ठालू हुँ भन्ने छोरा मान्छे जतिलाई क्यानाडाको साँचोमा हालेर एकपल्ट पेल्ने हो भने धेरैका घरबारमा सुखचैनले बास गर्ने र’छ हेर ठुली। छोरी मान्छे जति सोफामा मोबाइल हेरेर बस्ने छोरा मान्छेले चैं कुचो समातेर लुरुलुरु कसिंगर लाउने गरेको फिटिक्क सुहाउदैन आफूलाई। तर के गर्नु चलन यस्तै र’छ। दाजु मोबाइल लेर सोफामा बस्या बेला भाउजुले कसिंगर लाएको बेला पर्यो भने “लु हेर्नु त आमा छोरा मान्छेको चैन, आफू मरीमरी कसिंगर लाउने उनेरु सोफामा उपरखुट्टी लाएर मोबाइल हेरेर बस्ने... यस्तो छ चलन हाम्रा घरको...” भनेर बेङ्गे हान्छे भाउजुले र दुवै जना गाँड फुल्नेगरी हाँस्छन।
त्यहाँ हुँदा ठुल्दाइले पकाएको खान्की त खसीले नि खाएन भनेर उडाउथेउ नि। अहिले त कहाँ त्यस्तो रछ र ! भात, दाल, तरकारी, अचार, पास्ता, मम, सुख्खा रोटी, बर्गर, स्याण्डिच, चोक्टा-झोल सबै पकाउन जान्ने सिपालु पनि भएछ। कति खानेकुराको त तैंले नामै बुझिनस होला। कहिले क्यानाडा आएको भए पो बुझ्थिस त।
तेरो दाजु बेलुका आएर असो लिब्रिक्क खाजा खान्छ र जिम खान भन्दै एउटा झोला भिरेर निक्लिन्छ। र, झमक्क रात परेपछि असारमासको पुंडे गोरु जस्तो लोत गलेर फ्याँफ्याँ दम काढ्दै घर आइपुग्छ। के गर्दो र’छ जिम खान गएर भनेर एकदिन त लैजा न मलाईपनि देखाउन भने। मेरी आम्मै...के लोग्ने मान्छे के आइमाई कुनै छ्यानबिबेक छैन। सर्म भन्ने कुरा चैं याँका मान्छेको काला कुकुरले नै खाएको र’छ हेर नानी। दिउसो र मास कसैको ख्याल नगरी चुम्मा गरेर बसेका देख्न पाइन्छ जताततै। लाज पनि छोप्न हम्बे पर्ने एक कुरेतका कट्टु र बोटिस लाएका आइमाई लोग्नेमान्छेका बगुन्द्रमा मिसिएर पानीमा आहाल बसेका थिए। सुइमी न के जाति भन्दा रान यहाँ त्यो आहाल बस्ने कामलाई। तेरो दाजु पनि हेर्दाहेर्दै दुन्याँको कंन्ड़ो पखालिएको त्यो फोहोरी पानीमा पसेर डुबुल्की मार्न थालो। म त दिगमिगले मरी गएँ त्यसको गंगाजी देखेर। मुखभरी थुक आउन खोज्छ थुक्ने ठाउँ भए पो थुक्नु। गाम्चाले मुख छोपेर बसें। पौडी सकेर माथ्ला तलामा उकालो दाजुले। त्यहाँ रछ झन् ठुलो रमित। मान्छे ठसठसी कन्दै फलामका बोज उठाउने कोही, कोही मुटु फुट्नेगरी कुद्ने, कोही गोरुले गाडा ताने जस्तो नसो छिन्नेगरी बल गरिरहेका, कोही हातगोडा फालेर तामस देखाइरहेका, कोही कुँजिएका बुडाबुडी हाँसको पोथी जस्तो ढालकढलक गर्दै हिंड्न खोजिरहेका। नानी त्यो जिम खाने ठाउँमा लगाएको बल र हात-पाखुरा खेतिमा लाउनु हो भने १८ जनको परिवारलाई बर्षभरि खान पुगिवरि खमारमै टडक बोलाएर धान बेचिन्छ हाम्रातिर हो भने। तेत्रा भुसतिघ्रेको बल त्यसै खेर गएको देखें मैले यहाँ। मान्छेको केही काम नभएपछि काम देखाउन कतिथोक मात्रै जानेका कतिथोक हाँडाभाँडा मात्रै बनाएका उदेक पर्नु छ उदेक देखेर।
खानेकुरा त तेतैको जस्तो जम्मै थोक पाइने र’छ यता पनि। तर भात खाने भनेपछि बिरेको लहरो सुंघाएजस्तो नाकमुख बिगार्छन् जम्मै। ओठ लेप्र्याउछन्। सुन, गाई न गोठ चिल्लाचिल्ला ओठ भन्ने चै यता र’छ। दूध, दोइ, घीउ मोइमा डुबेरे बसेका रछन् नेपाली यता। न भकारो सोर्नु परोस, न घाँसपानी कुँडो चरन केहीको लेठो होस्। मान्छेले साँझब्यानै दुध दोइसँग सोप्र्याङ् गाँस पार्न पाएका रछन्। पिजा भन्ने एउटा भुकुरचांदे बाबर रोटी हुदोर’छ यता। त्यो भनेपछि के भुराभुरी के बाउआमा हिरिक्कै सासले टिपूँलाझैं गर्दा र’छन्... रात परिसको भात खाने बेला हुन आँट्यो केके केके कच्याककच्याक खाइरहन्छन्। ए नखाओ न भरे भात रुच्दैन, भात कुन पेटमा खान्छौ भरे भनो आफूले मरिमरि हान्छन् सबै। कहिलेकाँहि त चार पाँच छाक भात मुखमा नहाली गुर्किन्छन्। ठुलाको के कुरा गर्नु, जे खाए नि पेट भर्नु त हो नि भातै खानु पर्छ र भनेर पाखुरा सुर्किन खोज्छे तेरी सानी भदै नै। बाउआमा पनि तबैतारे भन्छन् उसकै ओर पस्छन् मेरा भात खाने कुरा त उसै फासफुस पार्दिन्छन्।
तेरो दाजुले हर्रै कारमा राखेर लान्छ जतापनि। हिड्नु फिटिक्क पर्दैन। दैलामै कारले खसाल्छ दैलाबाटै टिप्छ कतै जानु परे। दाजु कार कुदाउन पनि जान्ने भएछ। तर्काउने ठाउँमा तर्काउन, घ्याच्च रोक्नु परे रोक्न, उछिनेर जान र जान मन लाग्या ठाउँमा जाँसुकै पनि लान सक्ने हाम्रा गाउँको लाउरे डाइबर जतिकै भएछ दाजु पनि। बाटाघाटा पनि कति सहस्र भने कुन कताबाट आउछ कता छिर्छ केही अत्तोपत्तो लाएर नसकिने। यस्तो भवसागरमा आज त यो अलमलिन्छ होला भनो चार चौरास घुमाएर टुप्लुक्क घर ल्याई पुर्याउछ। म त यल्ले के कुदाउला र कार कैले न मैले भन्ने ठान्या थिएँ। तर, यार्पोटमा हामीलाई लिन आउदा अघि कार रोकेर पर्खिर’को र’छ। पोका पन्त्यौरा बिजुली जस्तो छिटो गरेर कारका पिंधमा हालेर हामीलाई लिएर त्यहाँबाट कार हुईंक्याएर फुत्त बाहिर निस्कियो र कमिलाको गोलो जस्तो कारका कुँडुलोबाट निस्केर भेडाबाख्राको बथानजस्तो कारका ताँतीमा मिसियो। तेरा बुबा पनि छक्कै पर्नु भो जेठाले यसरी कारै कुदाएको देखेर।
तर यहाँ कार हुनु र हाम्रातिर उही तो हिरो साइकल हुनु एकै र’छ। घरघरमा हिरो साइकल हुँदा कसैको गन्ति होस् न यहाँ छुँदा मैलो लाग्ला जस्तो टल्किने नयाँ कार हुँदा गन्ति होस्। यो कार लिएर हाम्रा गाउँमा धुलो उडाउदै जान पाए चै ‘ए है !’ भन्ने थिए मान्छेले। तेत्रो पैसा हालेर किनो टाट्नामा बाँधेको लुते खसीको जति सोभाउ देखिन मैले यिनका कार गाडीको यहाँ।
एकदिन घुमाउन भनेर रातबिरात बस्दै लगे। पाँच परिवारका मान्छे पाँचवटै गाडी लिएर निस्के...कहिले तोरी फुलेर पहेंलपुर बारी पुर्याए, कतै हरियो गहुँका बाला झुलेको फाँट, कहिँ आलु फुलेर सेताम्मे, कतै फर्सी, कतै काँक्रा, कतै केराउ र दालका बारी...मेरी आम्मै बारीका पाटा पनि साना मात्रै हुन् र ! एउटा गहुँबारीको गरो हेर्नु पर्यो भने दुई आँखाले हेरी नभ्याएर त्यस उप्रान्त अरु दुई आँखा थपे पनि गहुँको गरो टुंगिने छाँट थिएन। लान पनि अलिकति मात्रै टाडा लगेनन्। तीन दिन तीन रात बाहिरै बास पारे। बाटो पनि कति बनाको यहाँ। बाँदर लड्ने भिरपाखा जम्मै अलकत्रे रोड छापेका। क्यानाडाका खेत, पहरा, गाउँ, ताल, खोलानाला अनेक देख्न पाइयो। हुटेलमा छाकैपिच्छे आफैं पकाएर खाइयो। सारै स्वाद आयो त्यो बेला।
तलामुनि एउटा गाई राख्या छन्। अफ्रिका न के भन्ने देसको एउटा हाप्सी बसेको छ मुनि तलामा। त्यो यसो बाहिरभित्र गरेको देखो भने “तलको गाई हो त्यो” भन्छ दाजु। हाम्रा दमकतिर मान्छेलाई गाई भन्ने हो भने के भनिस रे भनेर बंगारा झार्न आउदैन मान्छे ? तर, यहाँ त हाँसेर बोल्नु पर्दो र’छ गाई भने पनि। हुन त यिनलाई गाई भनेको पनि ठिकै हो एक किसिमले। पाटी भोज होस् कि घरकै भान्सा होस् अनेक किसिमका हरिया सेउला ल्याएर काट्छन् र नुन छर्केर,अलिकति काँचो तेल र मरिचको धुलो छर्केर सालेद न के जाति भन्दै गाईले चबाएसरी नपकाई काँचै गर्यामगर्याम चबाउछन् हाम्रै मान्छे। अनि यिनलाई गाई नभनेर के भन्नु ! भने पनि बरु सिधै गोरु भन्नु नि। छेउ मिलोस न टुप्पो मिलोस छोरा मान्छेलाई चैं गाई भनेर मर्छन् असतीहरु !
यताको भाषा नबुझेर चैं गोता हुने र’छ हेर ठुली। एकदिन घरमा म मात्रै थिएँ। ढोकामा घन्टी बज्यो र ढोका खोल्या। एउटा कुइरेले ‘टाइ टिस टिस टुस...होम ? भनो। मैले तेरा कान्छा भाइको नाम ‘होम’ बाहेक केही बुझिन। “होमकी आमा होस् ?” भनो भनूँ भने कहाँबाट चिनो होला र त्यसले भाइलाई ! हात मच्चाउदै म त केही जान्दिन, मलाई त केही आउदैन, जम्मै पर गएका छन् भने नेपालीमै। के बुझो कोनी ‘या या ओके ओके’ भन्दै त्यो गयो। भरे दाजुभाउजु आएपछि सुनाएको आमाले ले नि बोलेर गोरेलाई फर्काइदिनु भएछ लु भन्दै गर्नु दिल्लगी गरेर हाँसे।
यहाँ केही बाँकी नराख्ने र’छन खान। हप्तैपिच्छे पाटी गर्छन् मान्छे। कहिले एउटाले बोलाउछ कहिले अर्कोले कहिले आफ्नैमा पालो आउछ। खानेकुरा पनि हाम्रामा जस्तो सोझो दाल, भात, तरकारी, अचार, घीउ, दही, मोही कहाँ हो र। अनेक थोक छन् अनेक। न त नाम जान्नु छ न त जिब्राले मान्नु छ यिनका खान्की हामीलाई।
यहाँ गिद्दले जतिकै मासुमंस खाँदा रहेछन् मान्छे। सागपात भन्दा सस्तो पर्ने अरे । उता नेपालमा जस्तो चाडबाडमा र महिनामा यसो एकदुई चोटी भन्ने नै छैन। छाकैपिच्छे खान पाए मात्रै भिटामिन पुग्छ भनेझैं गर्छन् तिनका चोक्टा। आफूले जन्मै नखाएको र पनि उमेरमा यी भन्दा कम थिइन पाखुरी चलाउन। धोक्न पनि छोड्दा रैनछन् यिनेरु। नजाने जस्तो गर्दै, कोल्टो पर्दै, कुनातिर घुस्रिदै, जुस खाको भन्दै हातमा गिलास लिएर टोडक्यौदा र’छन् नर्के मोराहरु। मरेपछि कहाँ बास पाऊँला भन्ने छ को नि यी राहूलाई मैले केही बुझिन।
यहाँ छोरी मान्छेको काम जति सारै सजिलो पार्देका छन्। लुगा धुनु पर्दै पर्दैन। एक डल्लो साबन ल्यायो भने महिनौं पुग्छ। लुगाजति ‘लन्डी’ गर्दे भैगो। भाँडाकुँडा माझ्नु पर्दैन। वोसिंग मिसिनमा हाल्दे भैगो। कुचोले कसिंगर लाउनु पर्दैन ‘भ्याकुङ्’ गर्दे भैगो। फोहोर, कसिंगर धुलोमैलोलाई भ्याकुङ्ले सासले तानेर उसका पेटमा थुपार्दो रछ।
अनि सुन, किचनको खल्याकखुलुक जुठोपुरो खाने गाई ता भा पो याँ ! जसलाई गाई भन्छन् यता तिनलाई त्यो खाओ भन्नु भएन जम्मै ‘गार्बेज’ गर्नुपर्छ। त्यहाँ जस्तो भा यो खेर गको खल्याकखुलुकले दुईटा घोर्ले खसी पालेर २० हजार गोटाले बेच्ने थिएँ म। गार्बेजको सर्बनास भा’को छ याँ। आँगन, सिकुवा, चुलो चौको लिपपोत गर्नु खरेटो लाउनु परोस न गाग्रामा पानी बोकेर फारु गर्दै लोटामा पानी सार्नु परोस। न त न्वाउन पानी तताउनु छ न त न्वाउदा त्यहाँ जस्तो थर्थरी काम छुटोस। न्वाउने ठाउँमा भुइँसीलाई पानी ख्वाउने जस्तो एउटा सेतो डुंड राख्या छन्। टाउका माथिबाट झरी परेजस्तो पानी बर्सिन्छ न्वाउनलाई। न्वाउने पनि कहाँ भन्छन् र तेरा बाजेको। ‘साउर’ गर्ने भन्छन् साउर। धारोको गाँठो दाहिने बटारे तातो साउर देब्रे बटारे ठण्डी साउर। म पनि दिनैपिच्छे साउर गर्छु। अब यताका धेरै अंग्रेजी कुरा गरूँ भने पनि बुझ्दिनस तैंले। भो अब धेरै अफ्ठ्यारो पनि पार्दिन तँलाई।
लुगा लन्डीमा हालेपछि पानी छम्किदै मदानीले मोही पारेजस्तो घुमाउदै हाराबारा खेलाउदो र’छ मिसिनले। धोइसकेपछि लौ आओ हए लुगा झिक्न भनेर आफैं घन्टी बजाएर बोलाउछ मिसिनले नै। धोएर निचोरेर सुकाउन ठिक्क पारेर राख्दिन्छ एउटाले अनि झिकेर अर्को भुङ्ग्रे मिसिनमा हालेर फेरि फन्का लाउनुपर्छ। यसले चैं लुगालाई तातोले सेक्दै उल्टोसुल्टो घुमाएर एक घण्टाजति लछारपछार पार्छ र लु तिमेरका लुगा झिक है भनेर कृष्णको बाँसुरी जस्तो बाजा बजाएर बोलाउछ। भाँडाकुँडा मस्काउनु परेन। एउटा दराजमा थुपारेर खिटिक्क एउटा बटम थिच्छन्। एकछिन पछि दैलो उघारेर हेर्दा भाँडाबर्तन मगमग बास्ना छर्दै कन्चन सफा भएर बसेका हुन्छन्। कुइरेले बनाउन बाँकी चैं मान्छेलाई मुखमा लगेर ख्वाइदिने र न्वाइदिने मिसिन मात्रै रछ यता।
सोफामा बसेर आटको पाट नचली सन्तानको पौरख खान पाइएको छ हेर यता। यसो सम्झिदा सुख र स्वर्ग जति जम्मै कुइरेका पेवा र’छन् अनि कहाँबाट हुन्छ हामीलाई सुख त्यहाँ। अघि नै भनिसकें, ४ महिना भो आङ्मा घाम नपरेको। बँधुवा भुइँसी जस्तो भित्रको भित्रै। सेतो पिठो जस्तो जामेको पानीले जलामय र बरफ छ ठाउँ। जानु पो कहाँ ?
अब मलाई अमेरिका पनि देखाउन लैजा भनेर अड्डी कसेर बसेकी छु। म त भन्न पनि जान्दिन इंगलिसबाट बनिएका नाम। निउयोक कि के भन्ने ठाउँबाट तेरा मामाका छोराले दिदी घुम्न आउनु भनेर बोलाको छ। दाजुका साथी पनि कति रानरान अमेरिकामा। फोनमा कुरा गरेको गरेई गर्छ। ती पनि घुम्न आउनू आमालाई पनि ल्याउनू भानिराका छन्। अमेरिका नगई त जाँदैजान्न घर भन्दै छु याँ। दुन्याँले अमेरिका अमेरिका भन्छन् कस्तो न र’छ त्यो अमेरिका भन्ने औडाहा छ मनमा। टाडा पनि त होइन र’छ। ति पारि नक्सल, जोगमुनी गएजस्तो र’छ यहाँबाट अमेरिका। एकपल्ट अमेरिका हेरेरै मर्ने धोको छ। दाजु हुन्छ हुन्छ पनि भनेजस्तो गर्छ, घरि खोइ हौ कैले मिल्ला र भन्छ। तर जान त जाने जाने।
ए अनि सुन त, तेरा पैसा मैले ब्याजमा लाइदेको थिएँ नि माथि सिरानेकी ब्वारीलाई ? बुडाले साउदीबाट पठाउने बितिक्कै माघ नमरी दिन्छु भनेकी छे नि। साउँब्याज गरेर माघभरिको ५६ हजार दुई सय हुन्छ। उठाइहाल्नू।
म त्यो टिभीमा देखाउने झिलिमिली अमेरिका घुमेर आइहाल्छु। ल ढुक्कले बस्नू, चिन्ता नलिनू।
तेरी आमा।