इतिहास र संस्मरणहरू सबैका लागि सहज पठनीय नहुन पनि सक्छन। तर हरि अधिकारी कृत 'एक्लो नायक' अनपेक्षित छोटै समयमा नै पढेर सिध्याएँ। नेपाली साहित्य र पत्रकारिताका अग्रज हुनुहुन्छ लेखक अधिकारी।
अधिकारीको लेखनमा हुने मौलिकता,यथार्थता र निडरताकाबारेमा अघिल्लो हप्ता लेखकको कृतिको प्रचार र प्रवर्धनका लागि सामाजिक सञ्जाल अर्थात फेस बुकमा मैले नै जारी गरेको सानो चर्चा भने यस्तो छ -हरि अधिकारी नेपाली साहित्य र पत्रकारितामा चर्चित र चिनिएको नाम हो | सङ्ख्यामा थोरै नै सही अधिकारीको पहिचान कवी, पत्रकार,कथाकार र समीक्षक हुँदै उपन्यासकारमा जोडिएको छ | यी सबै पहिचानको साझा गुण हो-यथार्थता र निडरता पनि | … उहाँले लेख्नु भएको यथार्थमा आधारित 'एक्लो नायक',यो उपन्यास नेपाली राजनितिका शीर्षस्थ व्यक्तिव्त तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको जीवनी र नेपालको प्रजातान्त्रिक इतिहासको सेरोफेरोमा आधारित छ। नेपालको प्रजातान्त्रिक इतिहास तथा एक राजनितिक व्यक्तित्वको जीवनीमा आधारित यो उपन्यास इतिहासका अध्येताहरूका लागिसमेत एक रोचक पठनीय कृती हुने विश्वास छ।
पद र पैसाका बलमा लेखिएका वा लेखाइएका अन्य कतिपय आत्मकथा/संस्मरण र स्व-रामायणहरूभन्दा यो 'एक्लो नायक' धेरै नै पठनीय र संग्रहणीय पनि छ।
एक्लो नायक,माथि नै चर्चा गरेजस्तै नेपाली राजनीतिमा प्रजातान्त्रिक आन्दोलनका एक साहसिक योध्दा वा सन्त नेता कृष्णप्रशाद भट्टराईको जीवनीमा आधारित छ। यिनै सन्त नेता भट्टराईको बारेमा इतिहासकार डाक्टर राजेश गौतमले 'कर्मयोगी नेता' नामक एक कृति पनि सार्वजनिक गर्नु भएको छ।
तर पनि 'एक्लो नायक',एक प्रजातन्त्रवादी नेता भट्टराईको जीवनी मात्र होइन। यो नेपालको प्रजातान्त्रिक आन्दोलन र यस आन्दोलनमा लामो संघर्षको इतिहास बोकेको अगुवा राजनीतिक पार्टी नेपाली काङ्ग्रेसको इतिहासको दस्ताबेज पनि हो। यस भित्रको समय पात्र र घटनाहरू सबका सब वास्तविक नै हुन्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा जोडिएका नेपाल र भारतकासमेत पहिलो पुस्ताका धेरै नेता/कार्यकर्ता आ-आफ्ना भूमिका र पहिचानसहित देखापर्छन एक्लो नायक भित्र। नामै लिँदा सन्त नेता भट्टराई परिवार,विपी कोइराला र कोइराला परिवार,दिवानसिंह राई,गणेशमानसिंह,निर्मल लामा,मनमोहन अधिकारी र अरु पनि धेरैको जिवन्त उपस्थिती छ यसमा।
उपन्यास अर्थात आख्यान भनिएको यो कृति उनै नायक अर्थात सन्त नेता किसुनजीमा समपर्ण गरिएको छ। कृतिको उठान नायकको महाप्रस्थान यात्रापछि नायिकाको बोलीबाट शुरु गरिएको छ। नायकको जीवनको उतरार्ध्द अर्थात ६ दशक बसन्तपछि परिचारिकाकारुपमा देखा परेकी ती नव यौवना नायिका लेखकीय र उपसंहार बाहेकको ३१ भाग रहेको ३ सय ७० पेजको यस कृतिबाट पेज ३९ वा भाग ३ पछि अझेलमा पर्छिन। र,यी नायिका हुन् अमिता कपाली। कृतिको बाँकी भाग सबै भाग नायक रहेका भट्टराईको जीवनी र नेपाली काङ्ग्रेसको बनारसबाट शुरु भएको राजनीतिक यात्रासँगै गणतन्त्र नेपालको स्थापनापछिको दिनमा नायकको राजनीतिक पलायन वा राजनीतिप्रतिको वितृष्णामा पुगेर टुङ्गिएको छ।
देशकै सम्मानित र एक वरिष्ठ नागरिकको सेवा सुश्रुवामा रहेकी परिचारिकाको सान्निध्यता तथा अनुभूतिका यी ३ भागका ३९ पेजले पाठकलाई औपन्यासिक कृतिको बाटो हिँडाउन त प्रयास गरेको छ। तर यी पेजमा रहेकी नायिकाको अनुभुतीलाई हटाइ नै दिए पनि कृति पठनीय भने छ। यी ३ भाग वा ३९ वटा पेजले नायक अर्थात सन्त नेता भट्टराईकको जीवनका उतरार्ध्दको दिनचर्या,नायिकाको नायकसङ्गको सम्पर्क,परिचय,सेवा-सम्बन्ध,भूमिका,औषधोपचार र नायिकाको अनुभूतिको उजागर भने गरिदिएको छ
कविता,कथा,समालोचना र पत्रकारिताका क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका लेखकको यो कृतिले आख्यानको रुप र गति लिन नसके पनि पठनीय हुनु लेखकको सफल प्रयोग भने हो। लेखकको स्वीकारोक्ति पनि छ- एक्लो नायक,विशुध्द आख्यान होइन न त यो विशुध्द ऐतिहासिक वृतान्त नै हो। यसमा मैले समसामयिक नेपालको इतिहासलाई आख्यानात्मक ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेको छु।
तर लेखकको जमर्को आख्यानतिर थोरै र समसामयिक नेपालको इतिहास वा सन्त नेता किशुनजीको जीवनी र नेपाली काङ्ग्रेशसङ्ग जोडिएको प्रजातान्त्रिक इतिहास लिपिबध्द गर्ने तिर भने अलिक धेरै आग्रसर देखिएको छ। यो अग्रसरता पारिवारिक उताराधिकारीहरुको सता वा सम्पति बलमा लिपिबध्द हुन नसकेका भट्टराईजस्ता सङ्घर्षशील नेताहरूको प्रेरणादायी जीवनी,तिनको सङ्घर्ष र आदर्श आउने पुस्ताका लागि हस्तान्तरण गर्ने महत्वपूर्ण प्रयास तथा उपलब्धी हो।
यस पाठकलाई यो कृतिले पारेको एउटा भ्रम के हो भने नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक आन्दोलनका क्रममा भट्टराई अन्य नेताहरू अर्थात गणेशमान सिंह,वी पी कोइराला वा सुवर्ण शम्सेरहरूभन्दा अलिक धेरै नै क्रान्तिकारी देखापर्छन। राजा र अन्य नेताहरुको बिचमा भएका सम्झौतालाई विश्वास गर्दैन र राजतन्त्रका विरुध्द नै लागिरहने दृढताका साथ जेलमा नै लामो समयसम्म बस्छन। सम्झौता वा मेलमिलापका कागजातहरुमा सहि गरेर अन्य नेताहरू जेल मुक्त हुँदा उनी दरवारलाई विश्वास गर्न नसकिने अडान राख्छन। तर अन्ततोगत्वा यिनै नायक भट्टराई गणतन्त्र नेपाल स्थापनापछि राजनीतिक वृतबाट निराश मात्र हुँदैनन् किन ? गणतन्त्र स्थापनालाई स्वाभाविक वा अपेक्षित राजनीतिक उपलब्धी नमानेर निराश यी प्रजातान्त्रीक आन्दोलनका मसिहाले त्यसयता राजतन्त्रको पक्षमा वकालत नै गरेका थिएनन् ? यसबारे कृतिमा चर्चा वा विष्लेषण गरिएको छैन।
एक्लो नयक, यस कृतिलाई उपन्यास नै उल्लेख गरिएको छ। अनुष्का प्रकाशनको यो कृति कहिले लेखियो र कहिले प्रकाशित भयो यस पाठकको आँखामा भने परेन। यो ज्यादै सामान्य पाठकीय टिप्पणी मात्र हो। नेपाली राजनीति र साहितयका शिखर व्यक्तित्व वीपी कोइरालाको मत छ - साहित्य स्वरै कल्पना मात्र हो वा हुनुपर्छ भन्ने छैन। लेखकको यो प्रयास त्यसैको उदाहरण हो।