जीवा लामिछानेको सरसर्ती संसार किताबका बारेमा सुनेको झण्डै वर्षदिन बितिसकेको थियो। मानिसहरुले कितावमाथि दिने गरेका प्रतिक्रियाहरु पढेर मेरो किताब पढने आशक्तिको पारो झन झन चढ्दै थियो।
नेपालबाट किताब झिकाउने पटक पटकका प्रयाशहरु तुहिँदै थिए। अर्थशास्त्री माल्थसको बजार शास्त्रको नियम म माथि पनि लागू भयो। बजारमा माग तिब्र गतिमा अकासिँदा पूर्ति भएन भने मागले रकेटको रुप लिन्छ रे।
ममाथि पनि यही नियम हावी भयो। किताब प्राप्त हुन नसकेपछि पढ्ने आशक्ती चुलिँदै गएर सगरमाथाको शिर नै चुम्यो।
नेपालमा हुँनेहरुलाई भन्दा नेपालबाहिर बस्नेहरुलाई नेपाली भाषा र संस्कृतिको बढी चिन्ता हुन्छ। भाषाप्रतिको ममता र सम्मान बढी हुन्छ रे भन्ने सुनेको थिएँ। त्यो भनाइलाई पुष्टी गर्नेहरु असाम गुहाटी डुवर्स दार्जेलिङ आदिमा देवकोटा जयन्ती भानुजयन्ती आदिलाई महान चाहाड पर्वझैं भव्य कार्यक्रम गरेर मनाउँने गरेको उदाहरण पेश गर्थे।
यो लेखकलाई प्रवासमा स्थानान्तरण भएसँगै समाजशास्त्रको विद्यार्थी हुँदा बढेको “डार्विनको सरभाइवल अफ द फिटेस्ट” भन्ने भनाईले घोच्न र घच्घच्याउन थाल्यो। प्रतिष्पर्धा गर्न नसक्नेहरुका भाषा कला साहित्य र संस्कृतिहरु सबै लोप भएर जान्छन्। भाषा सकियो भने पहिचान सकिन्छ। जस्ता भयले लेखकलाई सताउन थाल्यो।
क्यानडाबाट आफ्नै सम्पादनमा प्रवाशमा छरिएर रहेका नेपालीमूलका बालबालिकाका लागि पुस्तक “प्रवासमा नेपाली शिक्षा” छाप्न तयारी अवस्थामा थियो। किताबका लागि जम्मा गरेको सिलाको ढुकुटीमा मूसा लागेपछि छट्पटी शुरु भयो।
यसै छट्पटीका क्रममा सर्जक जीवा लामिछानेसँग फेसवुक मार्फत परिचय भयो। श्री लामिछानेले उहाँको पुस्तक सरसर्ती संसार पढ्ने मेरो मनोदशा बुझेर पुस्तक उपलब्ध गराइदिनु भयो।
यो पुस्तकको बाहिरी आकृति जति शुन्दर देखिन्छ त्यो भन्दा अझ भित्री गुदीले भरिएको पुस्तक हो सरसर्ती संसार। सुनमा सुगन्ध भन्छन् नी। सुन देख्दा नै कति आकर्षक हुन्छ। त्यसमा वास्ना पनि आउने हो भने कस्तो हुने थियो होला।
त्यस्तै वास्ना आउने सुनझैं छ यो पुस्तक। पुस्तक पढ्दै जाँदा पाठक हराउँछ। मलाई कता कता लेखकसँग इर्श्या जागेर आयो। किन त्यहाँ विन्दिता भाउजु, अनुकृत, र अनुराग छोराहरुको मात्र कुरा आयो।
किन त्यहाँ कुमार पन्त र उनका परिवारका मात्र कुरा आए। लेखकले यो के पक्षपात गरेको होला जस्ता प्रश्नहरु जन्मिए। आफूलाई लेखकले नदेखे जस्तो लाग्यो। म पनि त सँगै छु नी भन्ने लाग्यो तर खासमा म त किताब पढिरहेको मात्र रहेछु। म त पढ्ने क्रममा सारै गहिराइमा डुबेँछु क्यारे।
ती किताब पढ्दा मस्तिष्कमा जन्मिएका भावनाहरु रहेछन्। यात्राका क्रममा गाइडको भूमिका समेत निर्वाह गर्ने ड्राइभरले नै विभिन्न स्थानको बर्णन गरेका छन्। ती बर्णनहरुमा ऐतिहाँसिक महत्व र ती ठाउँहरुका विशिष्टताहरु बर्णित हुन्छन्।
लेखकले ती दृश्यहरुलाई उनका आँखाले पक्डिएर मस्तिष्कमा कैद गर्छन्। शब्दको मालामा उन्छन् र पाठकहरुलाई पहिर्याइदिन्छन्। त्यो मालामा मोहनी छ। पाठकका आँखा अगाडि अक्षरहरुले दृश्य परिदृश्यहरुलाई चलचित्र झैं बनाइदिन्छन्।
ती बर्णित परिदृश्यको चित्रमा रमाएर पाठकले आफैंलाई भुल्छन्। यो मेरो अनुभूति हो किताब पढ्दाको।
प्रत्येक देशमा पुग्दा लेखकले त्यहाँको विकाश निर्माण भौतिक संरचनादेखि प्राकृतिक शौन्दौर्यतालाई जन्मभूमीसँग तुलना गर्छन्। प्रत्येक पलपलमा लेखकको मन नेपालका पहाड तराई र हिमालसँग जोडिन्छ।
वाल्यकालदेखिका घटना परिघटनाहरुलाई तुलना गर्छन्। वाल्यकालका पलहरुलाई मिठो शैलिमा नढाँटी पोख्दछन्। जस्ले गर्दा पाठकले सजिलै लेखकलाई विश्वास गर्छन्। यो पुस्तकमा लेखकले उनले घुमेका देशहरुमा हुने राम्रा कुराको प्रसंसा र नराम्रा कुराहरु र प्रवृतिको खुलेर विरोध गरेका छन्। खराब प्रवृतिको धज्जि उडाएका छन्।
२९ वटा शीर्षकमा उनीएका यात्रामालालाई आकर्षक र अर्थपूर्ण शीर्षक दिएका छन्। रूसबाट पहिलो एकल भ्रमणमा निस्कँदा हेल्सिन्कीमा बल्छी थापेर साक्षात भगवान भेटाइदिने पादरीहरुका रोचक प्रसंग छ। रूसी दागिसथानी कवि रसुल गामजा लेभले नेपाल भ्रमण गरे पश्चात “नेपाल नकुँदिएको हीरा हो”। खाँचो छ त नेपाललाई मात्र कालिगढको खाँचो छ।
जस्ता भनाइहरु राखेर नेपाल प्राकृतिक रुपमा धनी रहेको कुरा प्रस्तुत गरेका छन्। स्वीजरल्याण्डमा जेनेभाको घुमाईपछि रेडक्रसका संस्थापक हेनरी ड्यूनाको जीवन गाथा र यूरोपकै ठूलो जे डो वाटर फाउण्टेनको बर्णन गरेका छन्।
दक्षिण एशियाकै माल्द्विपसमा पानी मुनी मन्त्री परिषदको बैठक बसेको। ११९२ वटा टापुहरुको मालाका रुपमा रहेको देश जँहा २००टापुमा मात्र मानव बस्ति रहेका छन्। सामुन्द्रिक सतहभन्दा औषत उचाई एक दशमलब पाँच मिटर मात्र रहेको मुलुक हो माल्द्धिप्स।
चारैतिर समुन्द्रले घेरिएर रहेको भएपनि पिउने पानीको अभावमा काकाकूल बनेको छ। यो देश एशियाकै महँगो देश हो। जसको आम्दानी ९० प्रतिशत पर्यटनमा आश्रित छ। भ्रमणका क्रममा बर्मा पुग्दा नेपालीमूलका बर्मिजहरु भेट्छन्। उनले घर पुगेको अनुभूति गर्छन्। बर्मामा करिब चार पुस्तादेखि नेपालीहरुको बसोवास हुँदै आएको छ।
त्यस समयमा कामको खोजी गर्दै भारतभन्दा टाढा नेपाली पुगेको ठाउँ बर्मानै होला। दोस्रो विश्वयुद्व लडेर साहदत पाउने थुप्रै नेपालीहरुको नाम समाधिस्थलमा उल्लेख छ।
कती नाम थाहा नभएका सैनिकहरुको समाधीमा “ॐ भगवते नमं:” Know on to god भगवानलाई मात्र थाहा होला लेखिएको छ। कसका लागि लड्दैछौं भन्ने सम्म नबुझी लडेका नेपालीहरुको परिचयसम्म छैन। लेखक भावुक र दुखित् बन्दछन्।
लेखनाथ पौडेलको कविता
वर्मा सिक्किम दार्जेलिङ र मलाया आसाम सिङ्गापुरकालिम्पोङ र देरादुन तथा भुटान भाक्सुतिरबस्ने जो प्रिय बन्धु छन् सकलको यै राष्ट्रभाषा प्रतिदेख्दा प्रेम सदैब हर्ष मनमा उर्लन्छ मेरो अति। लाई लेखक सम्झन पुग्छन्। बर्मा पुग्दा नेपालीले देखाएको आफन्तीपनले लेखकलाई द्रविभूत बनाउँछ। धेरै समय प्रदेशमा बसेको छोरा घर पुग्दा परिवारजनसँग भेट हुँदाको खुशी झैं आल्हादित बन्छन्।
दुबईको पाम जुमेरा समुन्द्र पुरेर बनाइएको मानब बस्ती अनी सोल क्रिडनरको एनलान्टिस दी पा म नामक विशाल होटलको बर्णन गरेका छन्। मानिसले चाहे के गर्न सकिँदैन भन्ने बलियो प्रमाण हो यो। समुन्द्रको गर्भमा बनाइएका एक्वरियममा रहेका हजारौं माछाको लोभलाग्दो जीवन चर्याले पाठकलाई लोभ्याउँछ।
छिमेकी देश भारत भ्रमणका क्रममा रमाइला प्रसङ्गहरु बाँडेका छन्। प्राकृतिक प्रकोपपछि पीडितलाई राहत बाँढ्न पुगेका भारतीय प्रधान मन्त्रीलाई एक जनाले गालामा थप्पड हान्छन्। यही हो तिम्रो प्रजातन्त्र यसले के दियो हामी भारतीय जनतालाई भन्ने एक नागरिकको प्रश्नमा धैर्यताका साथ विनम्र भएर भारतका प्रधानमन्त्रीलाई गालामा हात पुर्याउने अधिकार दियो भनेका रोचक घटना पस्किएका छन्।
एक शाहजाँहाले उनको प्रेमको प्रतिक ताजमहल ठड्याउँदा सयौं गरिबहरू जो निर्माणकर्मीहरु थिए। ती परिवारसँग भेट्नका लागि वर्षौ जान र नपाएर प्रेमको बलिदानी भएको लुकेको पाटोलाई पनि उजागर गरेका छन्।
ताजमहलसँग पाल्पाको रानीमहलको तुलना गर्छन्। क्यालिफोर्नियाको हमरड्यामबाट निकालिएको झिलिमिली बत्ती देख्दा नेपालका डाँडा पाखाहरुमा विजुली बलेर झिलिमिली भएको कल्पना गर्छन्। ईजिप्टको डल्फिनारियमको रमाइलो अनि सर्पको नृत्य। गीजामा रहेको ५००० वर्ष पुरानो सातौं आश्चर्यको पिरामिडको वर्णन गर्छन्। यो पिरामिड बनाउँदाको निर्माण सामाग्रीहरुबारे चर्चा गर्छन्। यो पिरामिडले चन्द्र शम्शेरका पालामा सिंहदरबार बनाउँदा कालोदाल मासको प्रयोग भएको प्रसंग जोड्छन्।
त्यसताका नेपालमा सुत्केरी महिलाहरुले दाल खान पाएका थिएनन् रे। सबै दाल जति सरकारले निर्माण सामाग्रीमा प्रयोग गर्न गर्थ्यो रे।
इजिप्टमा सित्तैमा उँटमा चढ्न पाइने भन्दै यात्रु चढाउने तर पैसा नतिरी झर्न नपाइने भन्दै यात्रु ठग्ने गरेको र निमेसमै अनुकृतको टोपी चट बनाएका प्रसंग उल्लेख गरेका छन्।
नायल नदीलाई वाग्मतीसँग तुलना गरेका छन्। इथियोपियाबाट सुरू भएको नायल नदीले ६८६० किमी दूरी पार गर्दा विभिन्न दस वटा देश पार गर्छ। यसले बगाएर ल्याएको मलिलो माटोले नै इजिप्ट उर्वर भूँमी बनेको हो। उर्वर भूमीको प्रसंगमा नारायणी नदीले तराईका भूभागलाई उर्वर बनाएको दृश्य उनका मानशपटलमा खेल्छ।
दक्षिण कोरियाको भ्रमण प्रसंगमा त्यहाँको विकास र निर्माणको चर्चा गरेका छन्। देशले आर्थिक संकट भोगेका बेलामा नागरिकहरुले आ-आफ्नो सुन हिरा मोती र पदकहरु समेत सरकारलाई दिएर आर्थिक मन्दीबाट देश मुक्त भयो।
सरकारले इमान्दारीपूर्वक काम गरेकाले जनताले विश्वास गरे र दुई वर्षमै चमत्कारिक प्रगतिको फड्को मार्न सफल भएको छ। कोरियनहरू इमान्दार र सम्बेदनशिल छन् भन्ने कुरा पूर्वराष्ट्रपति रोह मू ले भ्रष्ट्राचारको आरोप लाग्ने वित्तिकै पहाडबाट हाम्फालेर आत्महत्या गरे।
सामसुङ कम्पनी मालिकका छोराछोरीले घुस दिएर काम लगाइएको आरोपमा आत्महत्या गरेका उदाहरणहरु दिएका छन्।
जापानमा जाँदा एक जना जापानीजले भाषा नबुझे पनि करिब ४० मिनेटसम्म पैदल हिँडेर गन्तव्यमा पुर्याइदिएको कुरा व्यक्त गरेका छन्। वर्तमान यो स्वार्थी दूनियाँमा मानिस व्यक्ति केन्द्रित हुँदै गएको छ।
हामी नेपालीहरु हाम्रो अतिथि देवो भवः मान्ने प्रचलनबाट बिचलित हुँदै गइरहेका छौं। यस्तो अवस्थामा जापानीहरुमा आएको अतिथिप्रतिको यस्तो सहयोगी भावना पाउँदा उनी भाव विभोर बन्छन्।
जापानमा नेपालीहरुले आर्जन गरेको मेहनतीको ख्याती र प्रगति प्रति गर्व गर्छन्।
जर्मनमा रहेको संस्कृत विश्वविद्यालयमा गएर संस्कृत भाषाका प्राध्यापक मिखाएल्ससँग भेट्छन्। संसारको पुरानो भाषाका रुपमा रहेको संस्कृत भाषा करिब पाँच हजार वर्ष पुरानो रहेको विश्वास गरिन्छ। संसारको सबैभन्दा पुरानो सभ्यता दर्शन र विज्ञानको संरक्षण गर्नुपर्ने प्राध्यापक मिखाएल्सले बताएका कुरा सुनाउँछन्।
एसियाका धेरै भाषालगायत केही यूरोपियन भाषाहरुको उद्गमका रुपमा संस्कृत भाषा रहेकोमा गर्व गर्छन्। सरसर्ती संसार घुम्ने क्रममा बिभिन्न देशहरु पुगेका छन्।
सरसर्ती संसार घुम्ने क्रममा उनको कर्मथलो रूसको बारेमा धेरै वर्णन गरेका छन्। उनको व्यापारको शुरूवाती दिन र सीड मनीको यथार्थका बारेमा नलुकाइकन पाठकलाई भनेका छन्।
वर्तमान अबस्थामा एक कुशल र सक्षम नेपाली व्यापारीको पहिचान बनाइ सकेका जीवामा देशप्रेम छ। प्रवाशमा विभिन्न देशमा विविध पेशा गरेर नेपालीहरु बसेका छन्। ती नेपालीहरुलाई भेट्न पाउँदा आफ्नै परिवारको सदस्य भेटेझैं अनुभूति गर्छन्।
भेट्न नपाएकोमा दुःख प्रकट गर्छन्। यिनै श्वभावले पनि उनी कति सरल छन् भन्ने बुझ्न गाह्रो पर्दैन। गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्षसमेत भइसकेका एक अभियन्ता हुन्।
उनकै पालामा नेपाली भाषा साहित्य विभाग गठन भइ प्रज्ञाप्रतिष्ठानसँग संयुक्त रुपमा साहित्यिक कार्यक्रम गरेको थियो। भाषा र साहित्य भनेको कुनै पनि देशको पहिचानलाई जोगाएर राख्ने मेरुदण्ड भएको हुँदा यसलाई अरु महिलाहरुको र यूवाहरुको कमिटी सरह नै एनआरएनएको कार्यकारीमा राख्न सकेको भए अझ यसको महत्व बढेर जाने थियो होला।
लेखकको यो पहिलो पुस्तक भए पनि सरल शब्द चयन। स्पष्टवादी भएर पाठकको मन जित्न सफल भएको छ। यो यात्रामालालाई पढ्दा पाठकलाई कतै पनि पट्यार नलागी पढौ पढौं लाग्ने बनाइरहन सक्नु नै लेखकको सफलता हो। लेखकको उत्तरोत्तर कामना सहित।