लोकमा घाम उदाए पनि
दर्के झरी परे पनि
हामी निस्कनु हुन्न
छाता या वर्षादी थन्काएर गोठको कुनै कुनामा
चुपचाप, चुपचाप उसको अघि-पछि गर्नुपर्छ
खबरदार है, तिमी चाहीं सुलुसुलु लाग्लाउ आफ्नो बाटो!
तिम्रो बत्तिसी नदेखाउ है मलाई
हेर त, उउउउ त्यहाँ जाउँ न रमाइलो गरौं भन्दै
आआआआआ पर लग के तिम्रो यो किताब
किन आँखा र दिमागलाई दुःख दिनु बुझ्न खोज्दै त्यसका शब्द!
सुनाउनु नि पर्दैन केएएएएएएएए, चासो छैन मलाई
बरू, भन्देउ न साँच्चै मलाई, तिमीले चाहीं पढेर ति सब के पाउँदैछौ?
कुरा मैले हो कि तिमीले नबुझेको, थाहा छैन
रूख ढल्दा के को पिर?
हलो जोत्ने त हलि खोज बाबै
नापतौल गर्नलाई तराजु जोख्ने तिमी पसले हौ त?
कि राति-राति बोक्दै मशाल कतातिर लाग्ने हो?
भन न के, तिमीले भनेको रातो रंग किन चम्किलो छैन हँ?
ट्वाल्ल नहेर यार बरू मैले भनेको नि सुन न केही क्षण
तिमीलाई थाहा छैन जस्तो लाग्यो कि
हामी मात्र छाँया हौं - नामकी छाँया, कामकी छाँया
उज्यालोको चाह गर्ने तर अँधेरीमा हराउने
शरीर मेरो हो भन्ने तर उसमा लिप्त हुने
मष्तिष्क मेरो हो भन्ने तर उसको सोचमा बाँधिने
हामी मात्र छाँया हौ साथी, धेरै नबोलौं
नत्र भने, होइन भन्छौ भने,
बोक्छौ नै भने आफ्नो श-शरीर ज्यान र सोच्छौ नै भने कता-कता के-के
आउ त, आउ न केएएएएए
जब घडीले भन्छ बज्यो १२
मध्यान्ह होस् या मध्यरात
ठीक त्यत्तिखेर बज्छ नि जब लोकमा १२
हो त्यत्तिखेर आउ त,
उ त्यो लिङ्गे पिङगमा जाउँ र गरौं चचहुइइइइइ
अनि मच्चिदैं माथि-माथि-माथिइइइइ देखाउँ न उसलाई
नाम त होला मेरो छाँया तर छ हेर त आफ्नै काया!