आमाले दुई जीउको खबर सुनाउँदै गर्दा
मख्ख पर्दै आमालाई चुमेका थियौ
रिङ्गटा नै लाग्ने गरी, फनफनी घुमेका थियौ
घर छेउको लालुपाते
आमाको गालामा टपक्कै टाँसिएको थियो
तिमी फुरुङ्ग थियौ, तिम्रो मन चङ्गा थियो
जब डाक्टरले गर्भको कुरा सुनाए
तिम्रो चङ्गा मन एकाएक भङ्ग भयो
छोराको आशमा दङ्ग त्यो मन
एकाएक भङ्ग भयो
बा यदि तिमीले इच्छाएको भए
म यतिबेला रङ्गीन संसारमा हुन्थेँ होला है....
तोते बोलीमा तिमीलाई
बाब्बा भनेर बोलाउँथे होला है .....
***
नाईँ म जन्मन चाहान्छु भन्दै
हातखुट्टा फाल्दै चिच्याउँदै गर्दा
पेटमा लागेको लात्ताको इशारा
सायद आमाले त बुझिन्....
तिमीले पनि बुझेको भए
मलाई जन्मको हक दिएको भए
बा, यतिबेला म पनि भाईले जस्तै
तिम्रो हात समाउँदै स्कुल जान्थे होला है ....
***
मेरा अंग मेसिनले चुडाउँदै गर्दा
आमाको मन पनि चुडिँएको थियो
तर पनि तिम्रो छोराको प्यास मेटाउन
मुटु निचोरेर रुँदै रूदै
मुटुको टुक्रा फ्याँकि दिइन् आमाले
बा, आमाका ती अश्रुधारा बुझेको भए
अहिलो घरज्वार्इँ भई छोरो ससुराली जाँदा
तिम्रा कुँजिएका खुट्टा, म मिचिदिन्थे होला है...
यो बुढ्यौलीमा दुखेको त्यो मन सम्हाल्न
बा, तिम्रो सामु म हुन्थे होला है...