तातो ओच्छ्याने माया
र यौवनको तुरुप खेपिरहने
खोष्टा, बोक्रे घर होइन
मेरो पाठेघर ।
बाँसे झ्याङको अन्धकार
जङ्गलको ओत, ओढार
मकै र नर्कट घारी
खेतका गरा, धानबारी
हाकिम, मालिकको नाडी
कहाँ कहाँ मात्र पुग्दैन छापा हान्न
उत्तेजनाको अपराध ?
हो, अब आयन्दा अपराध निम्त्याउने
‘खतराको खाल्डो’ होइन मेरो पाठेघर ।
दुध रसाउने कलिला बाला
सहारा बिनाकी दुर्बल अबला
लाटी, सन्त, वृद्धा, एकल
रोजी छानी कहाँ पुग्दैन पिपासु ?
भो, अब घृणाको पीप बोक्दै
‘आँसु र पीडाको पोखरी’ कदापि बन्दैन
मेरो पाठेघर ।
डोको समात्दा चुहुने गरि
ओच्छ्यान पस्दा दुहुने गरि
‘रङ्गीन सौखका लीला’ बन्दैन
मेरो पाठेघर ।
तातो छालामा रमाउनेहरू !
बिन्ती !!
आमाको श्वास, रगत, पानी, पसीना
निथोरेर गर्भाशयमा पौडिदैं बाँचेको
तिम्रो हाम्रो पहिलो घर ‘यही पाठेघर’
आऊ जिर्णोद्धार गरौं
विभोत्सव, निर्विवेक उत्तेजनाको अलाप
पूर्ण निर्मूल गरौं
र ठडाउँ फलामे दृढता
जसले पाठेघरका कमजोर भित्ताहरु कसिला बनुन्
प्रेम, समर्पण र ममत्वका लीलाहरू रसिला बनुन्
“प्रजनन अधिकार मेरो अधिकार
मेरो शरीर मेरो अधिन” स्थापित बनुन् ।