वकिल किरणका अगाडि–पछाडि विशेषगरी महिला हुने गर्थे। तर अचम्म, आज एक समर्थवान् पुरुष निरीह उभिएको छ।
अधिवक्ता किरण वकालती क्षेत्रको एक नामुद र चिरपरिचित व्यक्तित्व हो। बहुचर्चित फौजदारी हुन् वा देवानी मुद्दाहरूमा किरणले अदालतमा बहस गरेपछि नयाँ नजिर बनेका छन्।
अदालती इजलासमा श्रीमान अगाडि उनले कालो कोट लगाएर गरेका गम्भीर, तार्किक र खह्रा बहसहरू र प्रस्तुत गरेका प्रमाणहरूले समाजमा विवादास्पद ठानिएका मुद्दाका फैसलालाई बहुचर्चित मात्र बनाएका होइनन् कि उचित टुंगो नै लागेका छन्।
त्यसैले पनि न्यायिक क्षेत्रमा किरणको छुट्टै पहिचान बनिसकेको छ। उनले मुद्दा लिएपछि वादी/प्रतिवादीमा विवादले किनारा पाउने चर्चा चुलिने गर्छ। यिनै बहुचर्चित अधिवक्ता सामु उसले आफ्नो समस्या बेलिविस्तार लगायो।
जीतबहादुर हो उसको नाम। कर्णाली प्रदेशको उत्तरी क्षेत्रको सुदूर गाउँमा जन्मिएका तीन भाइ छोरामध्ये कान्छो। सानैदेखि अलि नक्कले पाराको, तीन भाइमा खाइलाग्दो पनि।अलि झिल्के।
जीतबहादुर भनेपछि गाउँका चेलीबेटीको के कुरा, छेउछाउ गाउँका पनि हुरुक्कै। सबैको हिरो थियो ऊ। गीत गाउन, नाच्न र बाजा बजाउन खप्पिस। कहीँ कतै मेला, चाडपर्वमा मादल बजाउने जिम्मा उसैको हुन्थ्यो। उसको मादलको तालले चेलीहरुका शरीरलाई लचकलचक पारिहाल्थ्यो।
छिमेकी गाउँकी चेली खिनासँग अचानक जीतबहादुरका आँखा एकदिन जुधिहाले, हाटबजारमा। भुतुक्कै भइगो। सधैं मादल बजाउँदै हिँड्ने जीतबहादुरको आफ्नै मुटुमा मादल बज्यो धङ्गधङ्ग।
मादलमा मात्र होइन पढाइमा पनि राम्रै थियो जीतबहादुर। तेस्रो श्रेणी नै सही गाउँ छेउको स्कुलबाट एसएलसी पास गरेको थियो। एसएलसीपछि उच्च शिक्षाको लागि नेपालगन्ज झर्ने मनसाय हुँदाहुँदै खिनाको मायाजालमा फस्यो।
उसको उमेर समूहका सबै चेली मरिहत्ते गर्ने जीतबहादुमा खिनाको पनि माया बसिहाल्यो। कनक सुन्दरी माइको मेलामा नाच्दा नाच्दै जीतबहादुरले खिनालाई भगायो।
जीतबहादुरको परिवारले खिनालाई खुसीखुसी भित्र्याए। घरको मूली भन्नु जीतबहादुरका ठूल्दाइ थिए। त्यसपछि माहिला दाइ। आमाबाबुको मृत्यु भइसकेकाले तीन दाजुभाइको परिवार थियो। घरमा अरू कोही महिला थिएनन्। भित्र्याएकै दिन कटेरोमा बाँधिराखेको घोर्ले खसी काटेर गाउँले सबैलाई भोज खुवाए। मध्यरातसम्म चल्यो नाचगान।
कर्णाली प्रदेशको उत्तरी भेगका केही समुदायमा दाजुभाइले एउटै केटी विवाह गरेर भोग्ने चलन अझै निमिट्यान्न भएको थिएन। पाण्डवहरूमा अर्जुनले द्रौपदीलाई जितेर ल्याए पनि द्रौपदी पन्चपाण्डवकी पत्नी बनेझैं जीतिबहादुरले ल्याएकी खिना पनि तीनै भाइकी साझा बन्नुपर्ने अवस्था आइहाल्यो। गाउँ, घर, समाज परिवारको रीतिरिवाज र चलन अनुरुप खिनालाई दाजुभाइमा बाँड्नु पर्नेभयो।
परिवारमा जेठोबाठोको पहिलो हक लाग्ने परम्पराविरुद्ध जीतबहादुर जान सकेन। मुटुको टुक्राभन्दा ज्यादा माया गरेकी खिनामाथि भगाएकै दिन उसको ठूलो दाजुको हक पहिलो भयो। त्यसपछि माहिला दाइको र अनि मात्र जीतबहादुरको। आफ्नो रीतिथितिबारे खिनासँग सरसल्लाह र सम्झाइबुझाइ समेत गर्न पाएन उसले। मन नमान्दा नमान्दै आफ्ना दाजुलाई दिइने सम्मानलाई उसले लत्याउन सकेन।
पाहुना छिमेकी सबै लाखापाखा लागेपछि तीन दाजुभाइ र खिना सुत्ने तरखरमा लागे। खिनाले टलपलिएको आँखाले पुलुक्क जीतबहादुरलाई हेरी। उसको आसय बुझिहाल्यो जीतबहादुरले। तर लाचार थियो ऊ।
जीतबहादुरका पनि आँखा भरिए। यद्यपी उसले आँखैआँखाको भावले मन्द स्वीकृति दिएझैं गर्यो। खिनाले जीतबहादुरको आँखाको भाव बुझी। आँखा तरेर परक्क मुन्टो बटारी। उत्तिनखेरै भरिएको आँखासँगै जीतबहादुर कोठाबाट अलप भयो।
दुलही खिनालाई दुलहादुलही सुत्ने कोठामा पुर्याइयो। ठूला दाजु खिना बसेको कोठामा पसेर गजवार हाले। खिनाको सुँक्कसुँक्क आवाज पल्लो कोठाबाट मधुरोसँग जीतबहादुरले सुन्यो। उसको रिसको पारा चढ्यो। निदालमा सिउरेको खुर्पा निकाल्यो।
'गिण्ट्याइ दिउँला तोइकन् (छप्काइदिन्छु सालेलाई),' ऊ मुरमुरियो। मनमा के-के सोच्यो। निकालेको खुर्पा फेरि निदालमै सिउरियो। आँखाबाट तरक्क आँशु झार्यो। त्यो रात उसका आँखा झिमिक्क भएनन्।
बिहान झिसमिसेमै ऊ उठ्यो। सिमसिम पानी परिरहेको थियो। कोठामै केही गम्दै ऊ बसिरह्यो। त्यतिनै बेला बाहिर स्यार्रस्यार्र आवाज आयो। उसले टाउको विस्तारै उठायो। झ्यालबाट चिहायो। महिलाको आकृति जस्तो लाग्यो। ठम्याउन भने सकेन। झ्यालबाट टाउको पूरै बाहिर निकालेर हेर्यो।
आकृति खिनाको रहेछ। ऊ झस्कियो।
'झिसमिसेमै सिमसिम पानी परेका बखत कहाँ मर्न आँटिछ?' दाजुको रिस खिनामा पोख्दै ऊ बाहिर निस्कियो। खिना अलि पर पुगिसकेकी थिई। उसको हातमा केही झुन्डिएको वस्तु देख्यो। खिना र जीतबहादुरबीच केही दूरी भएकाले खिनाले जीतबहादुर पछि लागेको हेक्का पाइन।
कान्लामुनिको कटमिरोको रुखमाथि कान्लैबाट चढ्न खोजी खिना।
'क्यान गाड्याका हुन् यति छकालै रुख चड्न्या? (किन मरेकी यति सखारै रुख चढ्न ?)' दाजुको रिस फेरि पोख्दै मनमनै भुत्भुतायो।
गाईवस्तुलाई पुग्ने स्याउला त हिजै भाँचिसकेको थियो। तीनछक्क पर्यो जीतबहादुर।
रुखको हाँगामा नाम्लोको बरियो बाँध्दै थिई खिना। जीतबहादुरको मनमा चिसो पस्यो।
गएर खिनालाई गम्लंग अंगालो हाल्यो।
'एैय क्या गद्दी हो? ज्यान हाल्न लाग्या कि? म मर्या छुइनँ त? यो कत्तिकी मुन्छ्या होली? कनक सुन्दरी मदिरअ सातै मर्न्या बाँच्न्या बाचा गरेकी होइनई, बिसिई गै? (ओइ के गरेकी? मर्न आँटेकी ? म मरेको छु र? कनक सुन्दरीमाई मन्दिरमा सँगै मर्ने सँगै बाँच्ने कसम खाएको बिर्सेकी?)
जीतबहादुरले सम्झाउने पारामा भन्यो।
'पुडो उता गइजा, मइकन मर्न दे एै रुख झुडीकन मरी जाँदी। यैथो घाँणो जिन्दगी मइकन चाइयो न। तोई भन्या र पुडो आयाकी हुँ। तोईं सित माया लायाको हो। मइकन क्यान भलखाडामा हाली तब? (मर्न दे मलाई, म झुण्डिएर मर्छु। यस्तो घाँडो जिन्दगी चाहिँदैन। तँ भनेर पो आएकी म। तँसँग हो माया लगाको। किन मलाई यसरी भँड्खालोमा जाकेको?) खिना डाँको छोडेर रुन थाली।
जीतबहादुरका आँखा भरिए।
'म मरेको छु र तैंले यस्तो गरेकी? के गर्छेस् हाम्रो बाउबाजेदेखि चलिआएको चलनै यस्तै। आमा भने पनि बाउ भने पनि परिवारको जेठोबाठो तिनै हुन्। म जाबो आफ्नाका विरुद्ध कसरी जानसक्छु र? दाजुको सम्मानविपरीत जान सकिएन हेर्। चित्त नदुखा,' सुँक्कसुँक्क गर्दै बोल्यो जीतबहादुर।
'मर्न दे जीते, मलाई अब बाँच्ने रहर छैन। बिन्ती मलाई मर्न दे। तेरो दाजुलाई मन पराकी भए त दाजुसँगै माया लाउँथे नि। उसैसँग आउँथे नि। तेरो दाजुको बेहोरालाई त म फुट्या आँखाले पनि देख्दिनथेँ उहिल्यैदेखि,' जीतबहादुरलाई अंगालो हालेर क्वाँक्वाँ रुन थाली खिना।
'तँ मरिस् भने मैले चाहिँ कसको मुख हेरेर बाँच्ने नि। त्यस्तो लाछी कुरो गर्ने हो? ज्यान हातपाखुरी त अझै दुईचार जना ढाल्न सक्ने छ हो। गरुँला, खाउँला। मर्नै पर्छ र? के बोलेकी त्यस्तो नचाहिने कुरा राम राम,' जीतबहादुरले सम्झायो।
'म दाजुसँग कुरा गर्छु। होइन भने यहाँबाट हामी दुवै भागौंला। तर, हामी भाग्यौं भने पुर्ख्यौली सम्पत्ति सबै माया मार्नुपर्छ। परिवार पनि माया मार्नुपर्छ। हामीले केही पनि पाउँदैनौं,' जीतबहादुरले निराश हुँदै भन्यो।
'भो मलाई केही चाहिँदैन जीते, तँ भए पुग्छ। मैले तँसँग माया लाकी हुँ। तेरो सम्पत्तिसँग होइन। सम्पत्ति चाहिँदैन, हामी भाग्दा नै ठीक हुन्छ,' खिनाले करुणाभाव व्यक्त गर्दै भनी। उसको सुँक्कसुँक्क अझै थामिएको थिएन।
भोलिपल्ट भाग्ने सल्लाहमा खिना र जीतबहादुर दुवै घर फर्के। त्यतिबेलासम्म घरमा कोही उठेका थिएनन्। केही पनि नभएझैं गरी खिना दैलो पोत्न थाली। जीतबहादुर गोठतिर लाग्यो।
बिहानको खाना खाइवरी ठूला दाजु खिनालाई लिएर वडा कार्यालयतिर लागे। वीरबहादुरले रोक्न चाहेको थियो तर घरमा बखेडा हुन्छ र गोप्य भेद खुल्छ भनेर चुप लाग्यो। खिनाको बिहे दर्ता भयो। मायाप्रेम जीतबहादुरले गरेको थियो, घर ल्याएको उसैले थियो। तर परम्परा अनुरुप ठूला दाजुकै नाममा बिहे दर्ता भयो।
जीतबहादुर र खिनाको इच्छा दुई ज्यान एक हुने नै थियो। भागेर घर आएको पर्सिपल्टै घरबार, दाजुभाइ, सम्पत्ति सबै त्यागेर उनीहरू सुइँको नदिई गाउँबाट भागे, आफ्नो प्रेमका लागि।
कालिकोट, दैलेख, सुर्खेत हुँदै उनीहरू नेपालगञ्ज आइपुगे। नेपालगञ्जमै बस्ने विचारमा थिए। तर आफन्ती, छिमेकी, चिनजानका व्यक्तिहरू नेपालगञ्ज आउजाउ गरिरहने हुनाले काठमाडौं हानिए।
जीतबहादुरसँगै पढेको गाउँको साथी काठमाडौंमा बसेर कलेज पढ्दै थियो। उनीहरू काठमाडौं आएपछि केही दिन त्यही साथीकहाँ शरण लिन पुगे।
सुरूका दिनमा साथीकै सहयोगमा जीतबहादुरले सानोतिनो काम गर्न थाल्यो। खिनाले पनि एउटा निजी स्कुलमा कार्यालय सहायकको काम पाई। कामसँगै जीतबहादुरले आफ्नो एसएलसी पछिको पढाइलाई निरन्तरता दियो।
आफ्नो माया जीतबहादुरबाहेक अरुलाई बाँड्न नचाहँदा-नचाहँदै पनि विवश भएकी थिई खिना। बेलाबेलामा आफ्नो मनको तुष जीतबहादुरलाई पोख्थी। जीतबहादुरलाई पनि सैह्य कहाँ थियो र। त्यसैले त आफ्नो परिवार र सम्पत्ति सबै छाडेर भागेको थियो ऊ।
परम्परा तोड्ने आँटेर प्रेम पूजारी भएको थियो ऊ, सच्चा प्रेमको पूजारी।
जीतबहादुर र खिनाको माया प्रगाढ हुँदै गयो।
'खिने, तईंकन ह्वाईं जुम्ला छोड्नु पड्न्या हो मुईले? (खिना तँलाई त त्यहीँ जुम्लामै छोड्नु पर्थ्यो हइ मैले),' जिस्किने पारामा बोल्यो जीतबहादुर।
'देखिक्या जिते, तोईंले बड्ता नबोला हँ। (हेर हइ जीते तँ धेरै नबौला),' मसक्क मस्की खिना।
काली-काली हिस्सी परेको मुहार, उछिट्टिएको एउटा दाँत। खिना मसक्क मस्किए पछि जीतबहादुर भुतुक्कै भइ हेरेको हेर्यै भयो।
'एैअ जीत्या क्या हेद्दो सई मुईतिर? मुइकन आजै देख्याको होइ र? (ओइ जीते, के हेरेको मलाई? तैंले मलाई आजमात्र भेटेको हो र)।'
झसंग भयो जीतबहादुर।
लाडिँदै बोल्यो, 'जून जस्तो चेहडा भन्याको त तेरै छ क्या त? (चन्द्रमा जस्तो मुहार भनेको चैं तेरै मुहारलाई भन्या होला हई)'
लाज र खुसीले भुतुक्क भई खिना।
काठमाडौं आएको डेढ वर्षमै खिनाले घुतमुन्ने छोरा जन्माई। सानो कोठोमा गुजारा चलाउन बाध्य भए पनि छोरा जन्मेको दिन दुवैलाई विश्व जिते जस्तो भयो। दुवैको खुसीको सीमा थिएन।
अब जीतबहादुरको काँधमा अफिस, पढाइ र सुत्केरी स्याहार्ने जिम्मा थपिएको थियो। कहिले लोकल कुखुराको झोल, कहिले खसीको खुट्टा। सुत्केरी स्याहारमा कुनै कसर बाँकी राखेन।
छोराले आमाबाबा भन्न थालेपछि त सन्तान सुखको स्वर्गीय आनन्द अनुभूत भयो दुवैलाई। विश्व विजय गरेको महशुस भयो।
छोराको नामै उनीहरूले दिगविजय राखे।
'थोरै कमाइमा खुसी रहन मुश्किल पर्छ। तर ज्यादा कमाइमा असम्भव हुन्छ,' जोइपोइको जीवनमा चरितार्थ भएझैं लाग्थ्यो। दुवैको आम्दानीले एक छाक खान कष्ट भएन, हाँसीखुसी थिए।
जीतबहादुरले आइएसम्मको पढाइ सजिलै पास गरेर बिएको सुरु गरिसकेको थियो। छोरोलाई पनि बेलैमा खिनाले काम गर्ने स्कुलमै भर्ना गरे।
छोरोले राम्रै पढ्दै गयो। अस्पतालको जन्मदर्ता भएको र आफैंले काम गरिरहेको स्कुल भएकाले खिनालाई छोराको भर्नामा समस्या परेन। छोराको पढाइ अब्बल थियो। ऊ शिक्षकहरू तथा साथीभाइको प्यारो थियो।
एकदिन कोठामा खिना र जीतबहादुर दुःखसुखका कुरा गर्दै आफ्नो पुरानो गाउँ, पाखापखेरा, खेतबारी सम्झँदै थिए। कुरैकुरामा नागरिकताको प्रसंग निस्कियो। छोरो दिगविजय सोह्र वर्षको भइसकेकोले नागरिकता चाहिने थियो।
जीतबहादुरले आफू केही दिनका लागि गाउँ जाने निर्णय गर्यो। खिना खुसी थिइन।
विगतका दिनमा जीतबहादुर गाउँ गएका बखत पटकपटक ठूलो अपमान बेहोरिसकेको थियो। त्यो कारणले पनि खिना ऊ नजाओस् भन्ने पक्षमा थिई।
सम्पत्तीका नाममा जीतबहादुरलाई घरपरिवारले 'स' पनि उच्चारण गर्न दिन्थेनन्। दुखजिलो गरेर भए पनि हाँसीखुसी बाँचेको जीतबहादुर पुनः गाउँ गएर परिवारको अपमान बेहोर्नुपर्ला भन्ने पीर खिनालाई थियो। मन खिन्न भए पनि छोराको भविष्यका लागि जानु आवश्यक थियो। त्यसैले जीतबहादुरलाई अनुमति दिई।
धेरै पटक अपमान खेपेको जीतबहादुर गाउँ पुगेर पनि आफ्नो घर जान सकेन। गाउँकै मिल्ने साथीको घरमा केही दिन शरणार्थी बन्यो। पुगेकै भोलिपल्ट जिल्ला प्रशासन कार्यालय पुगेर फाराम भर्यो। आफ्नो तथा श्रीमती दुवैको नागरिकता प्रतिलिपि पनि हाल्यो। कार्यालयका हाकिमले बिहे दर्ता प्रमाणपत्र र वडाको सिफारिस मागे। अब जीतबहादुरलाई पर्यो फसाद। उसको बिहे दर्तै थिएन। खिनाको त ठूला दाजुका नाममा थियो। अब दाजुले दर्ता प्रमाणपत्र दिने कुरै थिएन।
वडाको सिफारिसमा पनि समस्यै थियो। जीतबहादुका दाजु वडाका हर्ताकर्ता थिए। जीतबहादुरको सबै नालिबेली वडालाई थाहा थियो। सिफारिस अनुनय गरे पनि एकचोटी भइसकेको बिहे दर्ता पुनः हुन नसक्ने भनी जीतबहादुरलाई वडाले पन्छाइदियो।
जीतबहादुरले आगामी दिनमा आइपर्ने समस्या अड्कल लगाइसकेको थियो। उसले सिफारिस पाएन जसले गर्दा प्रशासन कार्यालयले पनि सबै कागजपत्र मिलाएर ल्याउनुस् भनेर पन्छायो।
निराश भएर ऊ काठमाडौं फर्कियो। आफ्नै परम्परा र चलनले छोराको भविष्यमाथि खेलबाड गरेपछि उसलाई परम्परा शब्ददेखि नै घृणा जाग्यो।
खिनाले जीतबहादुरलाई धेरै सम्झाई। आफू काम गर्ने स्कुलका प्रधानाध्यापकले ठूल्ठूला मान्छे चिनेकाले केही उपाय हुनसक्छ भन्दै आश्वासन दिलाई।
तर, खिनाको भित्री मन पनि शान्त थिएन। उसकी सहकर्मी सुनमायाको समस्याले पनि खिनालाई कोपरिरह्यो।
आफ्नो गहनागुरिया बेचेर कतार पठाएकी सुनमायाको लोग्ने दुई वर्षपछि फर्केर आयो। केही दिनको बसाइपछि कान्छी स्वास्नी भित्र्याएर पुनः कतार बेपत्ता भयो। नफर्किएको पाँच वर्ष भइसकेको थियो।
जेठी श्रीमतीलाई सम्पत्ति दिनुपर्ला भनी न छोराछोरीको नागरिकता बनाइदियो, न सम्पत्ति नै दियो। विचरी अंश मुद्दा खेपिरहेकी थिई। जवान भइसकेको सुनमायाको छोराले नागरिकताकै कारण न गतिलो जागिर खान पायो, न अध्ययन अगाडि बढाउन।
आफूलाई पनि ठूलै अप्ठ्यारो त आइलाग्ने होइन भनी खिनाको मन पोलेको थियो।
बिए पढेलेखेको जीतबहादुरलाई कानुनी समस्याबारे धेरथोर ज्ञान थियो नै। एउटा गतिलो वकिलसँग सरसल्लाह तथा सहयोग लिने हिसाबले ऊ वकिल किरण शर्माकहाँ आइपुगेको थियो। त्यसैले आज ऊ निरीह भएर वकिल किरणलाई आफ्ना समस्या बेलिविस्तार लाइरहेको थियो।
'२१ औं शताब्दीमा पनि अझैसम्म यस्तो चलन? तिमीहरू गाउँका पढेलेखेका लक्काजवान के हेरेर बसेको त? आवाज उठाउनु पर्दैन,' वकिल साहिबा कड्किन्।
'महिलाले अर्को पुरुषसँग बिहे गर्ने बित्तिकै पहिलेको सम्बन्ध विच्छेद भए सरह मानिन्छ। तर तिम्रो समस्या त्यस्तो होइन। समस्या अलि जटिल छ। धन्दा नमान, म तिमीलाई न्याय दिलाएरै छोड्छु,' वकिल किरणले जीतबहादुरलाई विश्वास दिलाइन्।
'पहिले परिवारसँग अनुरोध गर्ने। केही लागेन भने अदालत जाने हो। चिन्ता नगर। म जसरी पनि न्याय दिलाउँछु,' वकिलको आश्वासन पाएपछि जीतबहादुरको शरीर काँडा झिकेजस्तो हलुको भयो।
'धन्यवाद म्याडम। ढुक्क भएँ। हजुरको बारेमा धेरै सुनेको थिएँ। आज दर्शन पाएँ। पूर्ण विश्वस्त भएँ,' जीतबहादुर मुसुक्क मुस्कायो।
घर आएर खिनालाई वकिलसँगको सबै कुरा बेलिबिस्तार लगायो।
वकिलको सल्लाह मुताविक खिनालाई धेरै आश्वासन दिलायो। तर उसको आफ्नै मन अझै बेचैन थियो।
'जीन्दगी सरल रेखामा अगाडि बढ्दैन भन्ने सुनेको थिएँ तर सोच्दै नसोचेको यस्ता घुमाउरा र अप्ठ्यारा मोड आउलान् भन्ने सोचेकै थिइनँ। यिनै अप्ठ्यारा मोडले जीन्दगीमा धेरै कुरा सिकायो। अझै कति समय कुर्नुपर्ने हो न्यायका लागि?'
'वकिललाई कति पैसा बुझाउनु पर्ने हो? महँगो पो लिने हो कि? तिर्न सकिने हो कि होइन? त्यत्रो नामुद वकिलले न्याय दिलाउँछु त भनिन्, न्याय पाइएला त? आ जेसुकै होस् केलाई हरेस् खानु। प्रेमको लागि सबथोक त्यागेँ। साँचो प्रेम गरेँ, गरिरहने छु। के सत्यको जीत नहोला र? कस्ता कस्ता डरलाग्दा र अप्ठ्यारा परिस्थिति त बेहोरिएर आइयो जिन्दगीमा, यो पनि देखाजाएगा,' मनमा यस्तै तर्कवितर्क गर्दागर्दै जीतबहादुर भुसुक्कै निदायो।