‘रोक्नुस्! रोक्नुस्!
लकडाउनमा पनि कहाँ जान लाग्नु भएको? केका लागि त्यहाँ जान लाग्नु भएको? खै हजुरको परिचय पत्र देखाउनुहोस् त!’
म कहाँ जान लागेको, केका लागि जान लागेको, मैले केही भनिनँ। तुर्लुङ्ग झुन्ड्याएको परिचय पत्रको पातो हातले समाएर टाढैबाट देखाएँ।
‘के हो, राम्रोसँग देखिएन नि! तपाईको नाम भन्नुस् त?’ प्रश्न पछिका यस्ता प्रश्नहरुले मलाई असहज अनुभूति भईरहेको थियो।
‘तपाईले काम गर्ने कार्यलयको म्यानेजरको नाम र नम्बर दिनुस्’ भन्नुभयो।
अब चाहिँ मलाई अप्ठ्यारो लाग्यो। त्यो क्षणमा मैले साँच्चिकै हारेको अनुभूति भयो। आफूले भिरेको परिचय पत्र अनुसारको कार्यालय नम्बर र म्यानेजरको बारेमा केही थाहा थिएन। के दिउँ, के भनौँ! हठात् मुद्रामा देखिएँ। उसले मेरो हाउभाउले जानी सकेको थियो। उसले सोच्यो- दाल मे कुच काला है।
उसले आफ्नो काम इमान्दारपूर्वक गरेको थियो। काम देखाउनु थियो, मेरो के प्रवाह थियो र? परिचय पत्र अनुसारको फोन नम्बर दिएँ। उसले त्यो फोन नम्बर सिधैँ डायल गर्यो र सोध्यो। नाम मिल्यो। कार्यालय मिल्यो। तर मेरो नाम चाहि मिलेन।
उसले भन्यो ‘सर, तपाई हामीसँग जानु पर्यो।’ केका लागि भन्ने प्रश्न गर्न सकिनँ। मनमा आत्मग्लानी भयो। हरे राम! कस्तो फसादमा पो परेँ, ज्यादै नमज्जा लाग्यो।
सरासर उनीहरुको पछि पछि लागेर म त्यतै गएँ। जहाँ मेरा लागि जीवन कै कठिन परीक्षामा सामेल हुँदै थिएँ। किनकी त्यहाँ नैतिकता र इमान्दारीताको ठूलै पहाड जत्रो वस्तु मेरो मानसपटलमा मडारिएको थियो। मेरा आँखाले देखिरहेता पनि मेरो वरिपरि सबै अँध्यारो भए जस्तो अनुभूति हुन्थ्यो।
बाटोमै ती असल मूर्ति जस्ता आमा-बालाई सम्झेँ, आज मैले उहाँहरुको जीवनको सार्थक अर्थ र इमान्दारीताको भरोसालाई तोडिदिएको छु। अब म र मेरो परिवार प्रति समाजको नजरिया अर्कै हुनेछ भन्ने लाग्यो। यो त मैले गलत गरेँ। तर, आफैले स्वीकार गर्न सकिनँ।
केही मिनेटको गुडाइपछि म एउटा ठूलो गेट अगाडि पुगेर ‘भित्र पार्किङ यता’ भन्ने इसारा बमोजिमको ठाँउमा पुगेर आफ्नो साइकल रोकेँ। र सरासर उनीहरुसँग पछि पछि लागेँ। लाग्थ्यो म आज रुजेको बिरालो जस्तो भएँ। केही सिढीँहरुबाट माथि उक्लेपछि म्यानेजर भित्र लेखेको साइन बोर्ड भित्तामा देखेँ। मुटुमा प्वाल परे जस्तो चस्स दुख्यो।
‘हामी भित्र आउन सक्छौँ?’
‘आउनुहोस्। आउनुहोस्।’ आवाज आयो। मैले उसलाई देखिनँ किनकी मैले देख्न सक्ने हालतमा नै थिइनँ। उहाँलाई चिन्नुहुन्छ भनेर उनीहरुले सोधे। मेरो अनुहार हेरेर एकछिन पछि ए उहाँ हाम्रो स्टाफ हो भन्ने उत्तर आयो। म आश्चर्य चकित भए। यो के हुँदै छ, म आफै छक्क परेँ।
उनीहरु ठिक छ भन्दै बाहिर निस्के। यो लकडाउनमा धेरै मानिसहरु नक्कली कार्ड प्रयोग गरेर हिँडिरहेका छन् भन्ने उजुरी अनुसार हामी गुप्तचर अनुसन्धानमा थियौँ। उहाँको प्रस्तुतीले हामीलाई शंका लागरे यहाँसम्म आयौँ। हजुरकै स्टाफ भए ठिक छ। यस्तो कतै भएमा हामीलाई खबर गरिदिनुहोला भनेर एउटा कार्ड म्यानेजरको हातमा थमाएर उनीहरु निस्किए।
अब म एउटा पासोबाट त फुस्केँ तर अर्को डोरीले फेरि बाधिएँ। म्यानेजरले इशारा गर्दै बस्नुस् भन्यो। लज्जित मुद्रामा म टुसुक्क सोफामा बसेँ। केही बोल्न सकिनँ। उसले नै पानी पिउनुहुन्छ भनेर सोध्यो। मेरो मुखबाट शब्द निस्केन। मुन्टो मात्र हल्लाएँ। उ आफै गएर एक गिलास पानि लिएर आयो। मेरा हात कापिरहेका थिए।
कुर्चीमा बसेर मेरो आम्ने साम्ने भएर म तिर हेर्दै उसले भन्यो- ‘तिमी को हौ, मलाई केही थाहा छैन। म तिमीलाई चिन्दिनँ। तर तिमीलाई देख्ने बित्तिकै मैले तिमीमा गल्तीको महशुस गरेको जस्तो आभास पाएँ र मैले झुटो बोल्न बाध्य भएँ। अब हामी दुवैले गल्ती गरेका छौँ।’
उसले मलाई आश्वास्त पार्दै भन्यो- मलाई अब साँचो कुरा के हो बताउ।’ मलाई लाग्यो, अब म सही कुरा बताउनु पर्दछ। र, बताएँ पनि। मेरो बाध्यता थियो यसरी नक्कली कार्ड बनाएर आफ्नो जनजीविका चलाउनु पर्ने। मेरो अवस्था र परिस्थितिका बारेमा उसलाई सबै सुनाएँ।
उसले मेरो सबै कुरा सुन्यो। मलाई आफू सँगसँगै हिड्न इशारा गर्यो। गाडीमा बसायो। मैले उसको अनुहारमा नजर पुर्याउन सकिनँ। मैले बताए अनुसार उसले बागबजारको एउटा साघुँरो गल्ली अगाडि त्यो गाडी रोक्यो। मलाई अगाडि लगाएर आफू भने पछि पछि आइरह्यो।
एउटा सानो झ्याल जस्तै ढोकाबाट भित्र पसियो। त्यहाँ धमाधम नम्कली कार्डहरुको छपाइ भईरहेको थियो। एक जनाले फोनमा अति गोप्य तरिकाले कुरा गर्दै थियो। अर्कोले मलाई सोध्यो? हजुरलाई डाक्टर, पत्रकार, सरकारी अथवा केको चाहियो।
उसले खुल्लमखुल्ला अर्डर लिदै थियो। म मौन नै थिएँ। यो ठाँउ मलाई पनि एक जना दाइले चिनाईदिनु भएको थियो। मैले पारिवारीक अप्ठ्यारो, आर्थिक समस्या र तनावले गर्दा उहाँ समक्ष यस्तो प्रस्ताव राखेर आफ्नो नाममा कार्ड बनाएको थिएँ। खासमा म एउटा पसलमा सिलाई गर्ने मिस्त्री थिएँ। पहिला म बेरोजगार थिएँ। मैले धेरै पढेको थिइनँ। त्यो अवस्थाले मलाई बुझाएको थियो। यो मेरो बाध्यता थियो भने अर्कातर्फ जीवनको परीक्षा पनि थियो।
कानुनका नजरमा म अब एउटा गम्भीर दोषी थिएँ। तर, व्यवहारिक जीवनको हिसाबमा भने म बाच्नु थियो। मैले गल्ती गरेको थिएँ र महशुस पनि थियो। भोक मिठो कि भजन मिठो भन्दा भोक मिठो भन्ने कुरा सुनिन्छ नि? हो, त्यही अवस्थामा परेँ म।
ठूला ठूलाका लागि त आफ्नै पहुँच थियो, मेरा लागि न त राहत थियो न त आश्वासन। मलाई कोरोनाको निश्चिन्त प्रवाह थिएन किनकी समयमा पर्याप्त खान सकिएन भने म आफै सकिने छु। मेरो परिवार पनि सकिने छ। भन्ने मलाई थाहा थियो।
उसले बताएको वास्तविकता र परिस्थितिले कानुनी नजरमा मलाई अन्धो बनाईदियो। तिमी को हौ भन्ने प्रश्नको उत्तर आउदैन। जबसम्म आफैले म को हुँ र म के गर्दै छु भन्ने प्रश्नको उत्तर खोज्ने प्रयत्न गर्दैन।
त्यहाँ पुगेपछि मलाई एकातर्फ कानुनको नजर र जीवनको बाध्यताले घोच्यो। मैले त्यहाँ केही भन्न सकिनँ। शक्तिशाली सरकार र निरीह नागरिकको तस्बिर मात्र मेरो नजरमा देखिए।
म केही नभनी त्यहाँबाट आफ्नै कार्यालय तिर फर्केँ। सरकारले लकडाउन गरे लगत्तै नागरिकका अनेक पीडाहरु सामाजिक सञ्जाल र मिडियामा आईरहेका थिए। सीमा प्रवेशमा रोक लगाएपछि त्यहाँको अवस्था ज्यादै नै नाजुक देखिन्थ्यो। निरीह नागरिकले अनायसै दुख पाएका थिए। पहुँचवालाहरु भने पास बनाएर निर्बाध सयर गरेका थिए।
ठूलाबडा कोरोनाबाट जोगिनु थियो भने सानाका लागि भोक नै भयंकर ठूलो महामारी थियो जुन अवस्था उनीहरुले जन्मदेखि नै पिरोल्दै आएका थिए। राज्यले कोरोना रोकथामका लागि पहल त गर्यो तर भोकमरी र मानसिक तनावलाई टार्न सकेन। कयौँ दिन लगाएर पोका पन्तुरा बोकेर सुरक्षित हुन नागरिक आफ्नो थाकथलो पुग्यो।
त्रासै त्रासमा केही दिन कटाएँ। यताउता अर्म पर्म गरेँ। केही खाने कुरा जोडेँ। जीविका चलाएँ। तर, सधैँ यस्तै चलेन। मनमा आगो बल्यो तर अँगेनामा आगो बलेन।
फेरि एक छाक बिहान र बेलुकाको खानाको जोरजाम गर्न मुग्लान तिरको बाटो सोझियो। हो, उनीहरुले कोरोनालाई जितेर त गए तर सधैँको भोकमरीलाई जित्न सकेनन्। कोही विदेशी भूमिबाट स्वदेश फिर्ता हुन पाउँ भन्दै हारगुहार नै गर्नु पर्ने अवस्था छ।
फेरि सम्झेँ, अपराध र गैरकानुनी धन्दामा नागरिकहरुलाई कस्ले धकेलिदिएको होला? ज्योखिम बहन गरेर आफ्नो ज्यानकै बाजी मारेर किन मानिस यस्तो गर्दछन्? राज्य र समाज आफैले सिर्जना गरेको यस्तो भयाभह स्थिति होइन र? हाम्रो समाज र राज्यको कानुनले नागरिक अधिकारको धज्जी उडाए जस्तो भएन र?
एउटा चेतनशील मानव भएकै कारण हाम्रो चेतना भित्र यस्ता केही प्रश्नहरु सदैव अनुत्तरित नै हुन्छन्। नैतिकता के हो? मानवता के हो? तिम्रो कर्म के हो? तिम्रो जिम्मेवारी के हो? तिम्रो अधिकार र कर्तव्य के हो? वास्तवीक न्याय र समानताको अधिकार के हो भन्ने विषयले आजको विश्वभर नै अनुसन्धान र अभ्यासको क्रममा छ।
कानुनी शासन र सुशासन सहितको लोककल्याणकारी राज्य निर्माणको आतिलो मार्गमा अघि बढेको राज्यका यतिदुखि नागरिकको पीडा महशुस गरिदिने निकाय कहाँ छ? मध्यम वर्ग र गरिबीको रेखामुनि रहेका नागरिकलाई समतामूलक न्यायको पहुँच कहिलेसम्म पुग्छ होला? उनीहरुबाट जहिले तिमी को हौ भन्दा निर्धक्कका साथ म यो राष्ट्रको असल नागरिक हुँ भन्ने उत्तर प्राप्त होला!