‘हेर है साना भाइ, बरु चरेस खाएस् हरेस नखाएस्,’ भेट हुँदा गोतामे काका प्रायः भन्ने गर्थे। केटाकेटीमा माया गरेर बोलाउनेहरू मलाई साना भाइ भन्थे। मलाई सानैदेखि चिनेकोले उनी पनि प्रायः साना भाइ नै भन्थे र कहिलेकाहीँ भतिज पनि भन्थे।
गोतामे काका स्वर्गीय गोतामे बाजेका कान्छा छोरा हुन् र उनको नाम मुक्तिराम गोतामे हो। तर उनी गोतामे काकाले परिचित छन्।
गोतामे काका साह्रै जोशिला मान्छे। उनले चरेस त खाए कि खाएनन्, थाहा भएन्। तर हरेस चाहिँ कहिल्यै खाएनन्।
काका फुर्तिला मात्र थिएनन्, जोशिला पनि थिए। उनको जीवनमा मैले कहिल्यै थकान देखिनँ। उर्जाशील मान्छेको जीवनमा थकान र आलस्य भन्ने हुँदै हुँदैन। भए पनि त्यो छेउ पर्नै सक्दैन। उनको मान्यता यही थियो।
काका भन्ने गर्थे - अल्छी र काम चोर मान्छेको जीवनमा मात्र थकान हुन्छ। जतिसुकै बाधा अड्चन भए पनि मान्छेले आफ्नो कर्म छाड्नु हुँदैन। कर्म आफ्नै भूमिमा गर्नुपर्छ। जतिसुकै कठिन अवस्था आइपरे पनि आफ्नो मातृभूमि छाड्नु हुँदैन। त्यही भएर उनले आफ्ना कुनै सन्तानलाई सकेसम्म बाहिर पठाएनन्।
पछिल्लो पटक सन् २०१६ को असार महिनामा काठमाडौं गएको बेला उनीसँग भेट भएको थियो। त्यो भेट अनपेक्षित थियो।
बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकको पारिपट्टिको राम पान भण्डार अगाडि हिँड्दै थिए। ‘ए साना भाइ, तिमी कहिले आयौं’ भनेर पछाडिबाट कसैले मलाई बोलाएजस्तो लाग्यो।
पछाडि फर्केर पुलुक्क हेरें। बोलाउने मान्छे गोतामे काका रहेछन्। ‘ए काका, नमस्कार। आरामै हुनुहुन्छ। आएको भयो त दुई हप्ता। अब अर्को हप्ता त फिर्दै छु,’ मैले शिष्टचार पूरा गर्दै जवाफ फर्काएँ।
“ए... खै त! आएको पनि थाहा पाइएन। फिर्ने बेला भइसकेछ। अनि कता हिँडेको त?’
घडी हेर्दै फेरि उनले भने - खाजा खाने बेलाप नि भएछ। ल हिँड, लक्ष्मी भाउजूकोमा मासु-चिउरा खाउँ।
लक्ष्मी भाउजूको पसल एक जमनामा कसले चिन्दैन थियो होला र! २०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नाम लिनेवित्तिकै मान्छेले बानेश्वरको लक्ष्मी भाउजूको पसल र राम पान भण्डार सम्झन्थे। ती नाम एक-अर्काका पर्यायवाचीजस्ता थिए।
गोतामे काकाले उत्साहित हुँदै देश-विदेश र राजनीतिका कुरा गरे। लगभग पचहत्तर वर्ष उमेर पुगेको मान्छेको बोलीको तेज र उत्साह देखेर म छक्क परें। उनका लागि निराशा कुन चराको नाम हो जस्तो लाग्थ्यो।
उनले म सँग गुनासो गरे - तिमी जस्तो मान्छे, विदेशिन नहुने। तिमी त्यत्रो पढेलेखेको, अनि देश-विदेश घुमेको मान्छे। यहाँ हुँदा पनि ठूलै जिम्मेवारीमा थियौं। तर, किन तिमीजस्ता मान्छे विदेशिन्छन्। म छक्क पर्छु।
गोतामे काकाको कुरा सुनेपछि भनेको थिएँ - होइन नि काका, जिम्मेवारी भनेको काम न हो। न त्यो ठूलो हुन्छ न सानो। सबै उत्तिकै महत्वपूर्ण हुन् नि। फेरि म कहाँ सधैंलाई विदेश गा’को हो र। फिरिहाल्छु नि। म मात्रै हो र काका, विदेश गएका धेरै मान्छे स्वदेश फिर्छन्। पैसा ल्याउँछन्। ज्ञान, सिप र अुनभव ल्याउँछन्। आफू जन्मेको ठाउँको लागि सकेको योगदान गर्छन्।
मैले फेरि थपें - काका, हामीसँग यस्ता सुन्दर पहाड छन्। ती पहाडका माथिल्ला भागमा समथल नागी छन्। त्यसै बाँझो बसेर खेर गइरहेका छन्। स्वच्छ र चिसो हावा वहने ती नागीबाट कस्ता सुन्दर दृश्य देखिन्छन्। सडक, बिजुली र पानी पुर्याएर रिटायर्डमेन्ट होम बनाउन सके कस्तो हुन्थ्यो होला। देशमा यति धेरै डाक्टर र नर्स उत्पादन भरहेका छन्, तिनले पनि काम पाउँथे। त्यसो गर्न सके विदेश गएका नेपाली मात्र हैन, संसारका धनी मान्छे अवकाश जीवन बिताउन नेपाल आउने छन्।
कोस्टारिका, पानामा, स्पेन इटालीले त्यसरी नै विश्वका धनी मान्छेलाई अवकाशपछिको जीवन जिउन आकर्षित गरिरहेका छन्।
बरु तपाईंका भतिजाहरूको बोली बिक्छ। उनीहरूले चाहे भने सम्भव पनि छ।
मेरा कुरा सुनेर उनले उज्यालो अनुहार पार्दै भने - तिम्रा कुरा सुनेपछि मलाई कस्तो आनन्द लाग्छ।
गोतामे काकासँग त्यसपछि कहिल्यै सम्पर्क भएन।
कोरोनाले मान्छेका सबै खुसी खोस्यो। विवाह, ब्रतबन्धजस्ता जीवनका पाटामा तगारो हाल्यो। आफन्तको अन्तिम बिदाइ गर्न पनि दिएन। कैदी बनाइदियो। कैदी मात्र बनाएन, बाँचिएला कि नबाँचिएला भनेर त्राही-त्राही बनायो।
मान्छेका दैनिकी कम्प्युटरको स्क्रिनमा सीमित छ। मेरो जीवन पनि कम्प्युटरमा बस्दा बस्दा दिक्क लाग्दो भा’को छ। कति कम्प्युटरमा झुण्डिनु, अनि कति समाजिक सञ्जालको नशामा लठ्ठिनु।
कम्प्युटर नखोली पूरै दिन बिताएँ। करिब बेलुका पाँच बजेतिर शान्तसँग आँखा चिम्लेर स्वास आएको गा’को ख्याल गरेर बसिरहेको थिएँ। एक किसिमको आनन्द अनुभूति हुने क्रम सुरू भएको थियो। अपर्झट फोनको रिङ बज्यो र मेरो शान्ति क्षणमै भंग भयो। साइलेन्ट मोडमा राख्नुपर्यो भनेर फोन तान्दै थिएँ। तर आँखा फोनमा पुगिहाले। कहिल्यै फोन नगर्ने गोतामे काकाले मेसेन्जरबाट फोन गरेका रहेछन्। फोन नउठाउन पनि भएन। उठाएँ।
मेसेन्जरको स्क्रिनमा गोतामे काका देखिए। झुस्स दाह्री र जिङरिङ्ङ कपाल। थकित अनुहार। त्यो थकित अनुहारमा निराशाका भाव सल्बलाइरहेका देखिन्थे। यसभन्दा अगाडि उनलाई यस्तो निरीह कहिल्यै देखेको थिइनँ। स्वर पनि मलिन थियो।
सोधें - के भो काका, तपाईंको स्वर पनि मलिन छ। अनुहार पनि अलि थकित छ। सञ्चो छैन कि के हो?
‘खै के भन्नु भतिज, छ भनौं कि नभनौं’ भन्दै भन्न थाले - म मेरो घर परिवारको हालत देखेर सारै निराश छु। आफूले खासै केही गर्न नसके पनि भतिजहरूले अब केही गर्लान् भन्ने आश थियो। मेरो त्यो आश अब मरेर गएको छ। अब मैले पूरै हरेस खाएँ।
कहिल्यै हरेश नखाने काकाको कुरा सुनेर छक्क परें। सोधें - होइन त्यस्तो के भो र हरेस खानुपर्ने?
उनले आफ्नो कथा सुरू गरे।
हामी सात दाजुभाइ हौं। पुर्खाले रगत पसिना बगाएर अलिकति बारी, खेत र जडिबुटी फल्ने पाखो जोडेका थिए। त्यसपछि न हाम्रा बाउहरूले केही जोडे, हामीले केही जोड्न सकेऔं।
बारीमा लटरम्म फल्ने आँप, कटहर, लिची, अंगुर लगायतका फलफूल पनि हजुरबा र बाले रोपेका हुन्। धारा छेउको उतिस घारीभित्र लहलह देखिने सुन्दर अलैंचीका बोट चाहिँ जेठा दाजुले लगाएका हुन्। पहिले खेतको रोपाइँ असारको पहिलो हप्तातिर हुन्थ्यो। बा र जेठा दाइको नेतृत्वमा हामी बालीनालीको राम्रोसँग गाडमेल गर्थ्यौं। खेतमा सामा र बारीमा झार देखा पर्न डराउँथे।
हाम्रा खेतबारी देख्दा यस्तो लाग्थ्यो कि दीपक खरेलको स्वरको गीत गुन्जिरहेको छ।
यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण
प्रस्तुत गरेर देखाउँ
यहाँको धर्ती बाँझो छैन, विकासको फूल फुलाउँ
गोतामेको परिवार संयुक्त परिवार हो। परिवारको जहाज जेठाले चलाउने थिति थियो। बाको सेखपछि त्यही थिति अनुरुप मेरा जेठा दाजुले घरको देख बहाल गरे। जेठा दाजुको मातहतमा हामी सबै भाइहरूले आ-आफ्नो जिम्माको काम सम्हाल्यौं।
परिवारको जहाज राम्रैसँग चलेको थियो। सानोतिनोबाहेक घरमा खासै खटपट थिएन। आफ्नो उब्जनीले खान पुगेर केही धान र अन्न बेचिन्थ्यो। माछामासु पनि आफ्नै मेहनतले पुर्याइन्थ्यो। नुनतेल र मरमसला चाहिँ तलतिरका छिमेकी साना मुखियासँग किनेर ल्याउँथ्यौं।
साना मुखियाको जमिन धेरै वर्ष टाढाका काजीले हडपे। उनको जमिन मात्र हडप्पिएन, कम्तियाले जस्तो कमाई गरेर उल्टो काजीलाई बुझाउन पर्थ्यो। साना मुखियाका बा र काकाले निक्कै झगडा गरेपछि काजीले जमिन छाडिदिए। सँगसँगै अरुलाई थिचोमिचो गर्ने काजीको मिचाह प्रवृत्ति पनि छाडेर गए।
हाम्रो गैरीखेतको साँध साना मुखियासँग जोडिएको छ। त्यो खेतमा उनले धेरै पहिलेदेखि आँखा गाडेका रहेछन्। उनले बालाई फकाएछन्। तर प्राणभन्दा प्यारो पुर्खाले जोडेको छाला कसरी दिनु? फेरि मुलबाटोसम्म पुग्न साना मुखियाकै आँगनबाट हिड्न पर्ने। बालाई साह्रै अप्ठेरो भयो। तर पनि बाले मान्नु भएन।
बाले नमानेपछि साना मुखियाले कयौं दिन बाटो हिँड्नै दिएनन् र लुकिलुकी हिँड्नु पर्यो। धेरै बिन्तिभाउ बिसाएपछि बल्ल बाटो हिँड्न दिए।
अब बाका पालाको जस्तो हाम्रो घर रहेन। अन्न मात्र होइन, कनिका समेत साना मुखियाकाबाट आउँछ। अन्नमा आत्मनिर्भर गोतामे परिवार अब पूरै साना मुखियामा निर्भर छ।
‘कसरी त्यस्तो भो?,’ मैले प्रश्न गरें।
तिमीलाई हाम्रो घरको बारे त्यति थाहा छैन होला। हाम्रो घरमा थिति बस्न सकेन। थिति नबसेपछि मान्छे अनुशासनहीन हुँदो रहेछ।
अनुशासनहिन भएपछि मान्छेले काम गर्दो रहेनछ। कुरा मात्र गर्दो रहेछ।
‘तैं रानी मै रानी को भर्ने कुवाको पानी’जस्तै भएको छ घर। काम नगर्ने, कुरा मात्र गर्ने भएपछि खेतबारी सबै बाँझा भए।
फलफूलका रुख बिरुवा मरे। घरबारी बन्जरजस्तो छ। आफ्नोमा उब्जनी नभए पनि खानै पर्यो। त्यसै कसले पो दिन्छ र!
खान परेपछि मागेर वा किनेरै भए पनि ल्याउनै पर्यो। नजिकै साँध पनि जोडिएका र आउन जान बाटो पनि सजिलो भएकोले साना मुखियाबाट ल्याउन थालियो र अझै ल्याइँदैछ। जे-जे दिन्छन्, त्यही ल्याउन पर्यो। माग्नेले छानी-छानी पाउने कुरा पनि भएन। कनिका र बचे-खुचेको तरकारी जे-जे दिन्छन्, त्यही ल्याउने हो। कहिलेकाहीँ कनिका रोकिदिन्छु भन्छन्। हाम्रो सातो पुत्लो उडछ।
बाका सेखपछि जेठा दाजुले घर सम्हाल्नुभयो। तर जेठा दाजुकै पालादेखि घरमा झै-झगडा सुरू भयो। जेठा दिजु बित्नु भो। घरको थिति र परम्परा अनुसार जेठा दाजुको छोरा भतिज ज्ञानध्वजलाई परिवारको रथ जिम्मा लगाइयो।
जेठाका सन्तान मात्र किन घरमुली हुने? राजतन्त्रको जस्तो यो थिति भएन, तोड्नपर्छ भन्नेमा भतिज कमल र लालध्वज लागे। उनीहरूलाई भित्र-भित्रै साना मुखियाले उचालेका रहेछन्। उनीहरू साना मुखियाकै घरमा लुकेर बस्न थाले।
कमल र लालध्वज राति-राति आएर धान बाली जलाउने, मकैका बोट काटेर सोत्तर पार्ने, फलेका फलफूल नष्ट गर्न थाले। उनको पक्षमा नलाग्ने र विरोध गर्नेको मुन्टो भाँच्ने र उस्तै परे मारिदिने गर्न थाले। त्यतिले मात्र नपुगेर हाम्रा घरका रीतिथिति, परम्परा र भेषभूषा सबै मास्नतिर लागे। कमल त अझै हाम्रो भेषभूषामा हिँड्दैन।
घरमै बसेका भतिजहरू भाग्य बहादुर, खगराज र मानकुमार पनि ज्ञानध्वजकोविरुद्धमा थिए। साना मुखियाकहाँ लुकेका कमल र लालध्वज फिरे। बाँकी सबै मिलेर ज्ञानध्वजका विरुद्ध मोर्चाबन्दी गरे।
भतिज ज्ञानध्वजलाई माथितिरका छिमेकी ठूला मुखियाको समर्थन त थियो, तर त्यो एक्लो समर्थनले धान्न सकेन। ज्ञानध्वजको पनि केही लागेन। उसले घरको जिम्मेवारी सम्हाल्न नसक्ने भो। मोर्चाबन्दी गर्नेहरूलाई सम्हाल भनेर छोडिदियो। जेठाका सन्तान घरमुली हुने परम्परा तोडियो। कमल एकाएक हिरो भयो।
भतिज ज्ञानध्वजले छाडेपछि विद्रोहमा लागेका भतिजाहरू मिलेर घर सञ्चालनको लागि एउटा विधि निर्माण गर्ने भए। त्यो विधि कहिले निर्माण हुन सकेन। साना मुखियाको संलग्नता झन् बढ्दै गयो। हेर भतिज, पछि त यति बढ्यो कि तिम्रो छिमेकी र कनिका कविताजस्तै भयोः
मेरो घरमा क-कसले के गर्ने उही खटाउँछ
कुन-कुन कोठामा को बस्ने उही भाग लगाउँछ
स्यालले झैं घरका हरेकसँग मित लगाउँछ।
धेरै वर्षसम्म घर सञ्चालनको विधि निर्माण भएन। घर परिवारका हामी सबै वाक्क दिक्क भएका थियौं। जस्तोसुकै विधि बनाए पनि साना मुखियाले चित्तै नबुझाउने। हाम्रो घरका कसलाई के पुग्यो पुगेन भनेर हामीलाई थाहा नहुने, तर सबै उनलाई थाहा हुने भयो।
भतिज कमल पनि साना मुखियासँग वाक्क दिक्क भयो। जे गरे पनि साना मुखियाको चित्त बुझाउन सकिँदैन भन्ने उसलाई पनि लागेछ। त्यो महसुस भएपछि घर सञ्चालन विधि पास नगराई नछाड्ने निचोडमा ऊ पनि पुग्यो। भतिज खगराजले दह्रो अडान लियो र भतिज भाग्यबहादुरले पनि खुट्टो कमाएन। विधि पास भयो।
विधि पास भएपछि घरमा झै-झगडा समाप्त हुने भयो भनेर हामी सबै खुसी भयौं। तर साना मुखिया खुसी भएनन्।
साना मुखियाले उनको आँगनको बाटो हिँड्न रोक लगाए। कनिका आउन पनि रोकियो। भोकभोकै हुने अवस्था भयो। हामी पूरै नाकाबन्दीमा पर्यौं। खगराजबाहेक कुनै भतिजाले नाकाबन्दी हो भन्न सकेनन्।
भतिज लालध्वजले साना मुखियाले नाकाबन्दीको समर्थन गर्यो र उतै मिल्यो। बरु गैरी खेत मात्र हैन पूरै जमिन उनैलाई जिम्मा लगाउँ भन्न थाल्यो। सबै उनको ठूलो घरमा संगै बसौं भन्छ। कनिका पनि मजाले खान पाइन्छ। बरु यो घरलाई साना मुखियाको गोठ बनाउने भन्दै उतैको भक्तिगान गाउनु गाइरहन्छ।
भतिज भाग्यबहादुर लालध्वज जति खराब त छैन। तर उसले पनि नाकाबन्दी किन गरेको भन्न सकेन। के बोल्छ राम्ररी बुझिँदैन। जन्मिने बेलामा ज्योतिषीले भाग्यमानी छ भनेकोले माइला दाजुले उसको नाम भाग्यबहादुर राखे। ऊ काममा होइन भाग्य हेराउन मै बढी व्यस्त हुन्छ। ऊ काम जे गरेपनि कुरा चाहिँ प्रजातन्त्रको गर्छ।
भतिज खगराजले चाहिँ हामीलाई नाकाबन्दी गर्न पाउँदैनौं भनेर साना मुखियाले सुन्ने गरी बेस्सरी करायो। खै किन हो कुन्नी त्यसपछि साना मुखियाले बाटो हिँड्न दिए। त्यसपछि भतिज खगराज हिरो भयो। एउटै बाउका छोरा भए पनि ऊ हिरो भएको मानकुमारलाई पटक्कै मन परेन।
खगराज र कमल पनि नेतृत्व लिने होडबाजीमा लागे। खगराजको लोकप्रियता बढेको र कमलको घटेको बेला थियो। तर पनि उनीहरू दुईबीचको भनाभन र झगडा बढेको थियो। आमा फरक भए पनि एकै बाउका छोराहरू कति झै-झगडा गर्नु भनेर एकाएक मिले। मिल्ने कुरामा मान कुमारले खासै आपत्ति जनाएन।
सबै मिलेर समृद्धि ल्याउने भने। त्यो सुनेपछि म बुढोजति को खुसी भयो होला र!
गोतामे काकाको कुरा सनेपछि मलाई पनि खुसी लाग्यो र भनें - ए ... राम्रो भएछ त काका।
लामो स्वास तान्दै काका भन्न थाले - सुन न। राम्रो भएको भए म तिमीलाई यति लामो कथा किन सुनाउँथे?
भतिजहरू खगराज, कमल र मानकुमारबीच मारमार छ। सहोदर दाजु भाइ भए पनि खगराज र मानकुमार पहिलेदेखि मिल्दैनथिए। एकले अर्कालाई देख्नै सक्दैनन्। खगराजलाई ठूला मुखियाको भर छ रे। पहिलेदेखि नै कमललाई साना मुखियाको भर छ भन्छन् सबैले। बीचमा खगराज र कमल खुबै मिले। मानकुमारलाई एक्लो पारे। कमल पिँध नभाको लोटाजस्तो घरी यता घरी उता गर्छ। फेरि अहिले कमल र मानकुमार मिलेर खगराजलाई एक्लो पारिरहेका छन्। घर छोड भन्दै कराइरहेका छन्।
एक-डेढ महिना अगाडि मिल्यौं भन्थे। अहिले कि त छैनस कि म छैन भन्दै हिँडेका छन्। केही बुझ्नै सक्दिन म।
कोरोनाको महामारीले घरमा सबै भक्रन्त ढलेका छन्। त्यतातिर कसैलाई मतलव छैन। हातमा डाडुपन्यूँ हुनेहरू आफ्नै मस्तीमा छन्। समस्याको समधान गर्ने जिम्मा लिएकाहरू समस्याका जड भएपछि कसको के लाग्दो रहेछ। कसलाई गएर कहाँ के भन्ने? चारैतिर निराशै निराशा मात्र छाएको छ।
हर्ताकर्ता भाइ भतिजाले छोराछोरी बेलायत-अमेरिका पठाएका छन्। कमजोरले मलेसिया र मध्यपूर्वमा पठाएका छन्। मैले पनि केही नलागेर छोरीलाई इजरायल र छोरालाई कतार पठाएँ। उनीहरूले पैसा नपठाउँदा हुन् त हामी भोकभोकै पर्थ्यौं।
लामो स्वास तान्दै गोतामे काका भावुक हुँदै फेरि भन्न थाले - खै, गातामेहरूले खाने धाराको पानी उस्तो हो कि? गोतामेहरूले टेक्ने धर्ती र हेर्ने अकाशै उस्तो हो? हामीलाई अर्कैले मिलाइदिन्छ, फेरि अर्कैले छुट्याइदिन्छ। साना मुखियाले धेरै वर्ष मिलाए छुट्याए। अहिले मिलाउनेमा ठूला मुखिया पनि देखा पर्न थालेका छन्। भूपि शेरचनको कविताजस्तो छ गोतामेको घर।
हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने
हामी रङ-रोगन छुटेका, टुटेका, फुटेका
पुराना क्यारमबोर्डका गोटी हौं।
ठूला मुखिया र साना मुखिया अनि बेलाबखत बडाकाजीका खेलका गोटी भएका छन् मेरा भतिजाहरू। अब लाग्न थालेको छ, भूपिले भने झैं के यिनीहरू साँच्चै रङ–रोगनबिहीन छुटेका, टुटेका, फुटेका पुराना क्यारमबोर्डका गोटी नै हुन् त! घरी कसले छुट्याइदिन्छ, घरी कसले मिलाइदिन्छ।
पछिल्लो कालखण्डमा ठूला मुखियापनि खेलमा निकै लागिपरेका छन्। ठूला मुखियाका छोरी खगराज र कमलसँग बारम्बार भेटघाट गरिरहेकी छिन्। उनका पनि केही स्वार्थ पक्कै होलान्। ती पूरा भएनन् भने उनी पनि कहाँ चुपचाप बस्लान र!
ठूला मुखिया पनि हिजोको अवस्थामा छैनन्। उनको हैसियत ह्वात्तै बढेको छ। उनी पनि मुखियाबाट काजी मात्र होइन, लगभग बडाकाजीसरह नै भएका छन्। आज सर्वश्रेष्ठ भनिएका बडाकाजीसँग पौंठेजोरी खेल्दैछन्। त्यही भएर बडाकाजीको प्रत्यक्ष र परोक्ष समर्थन साना मुखियालाई छ। कुनै दिन ठूला मुखिया र साना मुखिया हाम्रामा पसेर लाप्पा खेल्ने हुन् कि? कता-कता डर पनि लाग्छ। सोच्छु - दुई ठूला हात्ती चौरीमा लाप्पा खेल्दा झारको के हालत हुँदो हो।
गोतामे काकाको कुरा सुनेको सुनै भएँ। कता-कता भावुक पनि भएँ। केही बोल्न सकिनँ। म के नै गर्न सक्थें र!
मैले जोक गर्दै भनें - हैन काका, तपाईंको घर पनि हाम्रो देशजस्तै रहेछ है!
सायद उनका मनका सबै बह पोखिएछन् क्या रे। हो मा हो मिलाउँदै भने - आखिर मेरा भतिजा र देशका नेता दुवै रिमोटबाट चलेका मान्छे न हुन्!