‘मलाई विवाहमा बोलाएको कि गीत गाउन बोलाएको?,’ स्वर सम्राट नारायण गोपालले भनेका यी शब्दहरू पुराना नाट्यकर्मी डा. गोविन्द सिंह राउत कहिल्यै बिर्सन सक्दैनन्। गोविन्दका जस्तै विशेष संस्मरण हामी सबैका नहोलान्, तर स्वर सम्राट नारायण गोपालका कालजयी ती मीठा स्वर हरेक नेपाली संगीत प्रेमीका कानमा गुन्जिरहन्छन्।
स्वर सम्राट नारायण गोपाल नेपाली संगीत आकाशमा एक मात्र चम्किलो तारा हुन्। त्यो चम्किलो ताराको नामै काफी छ। कतिपय नाम यस्ता हुँदा रहेछन्, चिनाउनै नपर्ने रहेछ।
स्वर सम्राट नारायण गोपाल जुन दिन नेपाली संगीत आकाशमा देखा परे, त्यो दिनदेखि उनी निरन्तर चम्किरहेका छन्। संगीत आकाशको त्यो तारा उदाएदेखि कहिल्यै अस्ताएन। सायद अब कहिल्यै अस्ताउने पनि छैन।
सबै नेपाली संगीत अनुरागीहरूको मन र मुटुमा बाँचिरहेका छन् स्वर सम्राट। उनी हरेक संगीत अनुरागीको मटुको ढुकढुकी हुन्।
नारायण गोपालसँग प्रत्यक्ष भेट्न र उठबस गर्न मौका पाउने मान्छेहरू भाग्यमानी हुन। त्यस्ता केही भाग्यमानीहरू क्यानडामा पनि रहेछन्।
क्यानडाको भ्यांकुभरमा स्वर सम्राटको ३० औं पुण्यतिथिमा नेपाल साहित्य समाज भ्यांकुभर च्याप्टरको तर्फबाट भर्चुअल
सांगीतिक साँझको आयोजना गर्ने क्रममा ती भाग्यमानीसँग जम्काभेट हुने मौका मिल्यो। त्यस्ता भाग्यमानी हुन् सविता श्रेष्ठ र डा. गोविन्द सिंह राउत। स्वर सम्राटका बारे उनीहरूका संस्मरणलाई खोतल्ने जमर्को गरिएको छ।
सविता श्रेष्ठ
भ्यांकुभर निवासी सविता श्रेष्ठ सांगीतिक माहोलमा हुर्किन्। वरिष्ठ संगीतकार नातिकाजीकी सुपुत्री सविता आफैं पनि संगीतमा धेरै रुची राख्ने व्यक्ति हुन्।
सविता श्रेष्ठको संस्मरणमा नारायण गोपालः
‘बा घरमै छ’ भन्दै नारायण गोपाल अंकल यमाहा मोटरसाइकल चढेर बिहान नौ-दस बजेतिर आउनु हुन्थ्यो।
‘हुनुहुन्छ’ भनेपछि भित्र जानु हुन्थ्यो र बुबा (नातिकाजी)लाई भेट्नु हुन्थ्यो।
नारायण गोपाल अंकल ठूलो कलाकार। नारायण गोपाल अंकल आउनु भएपछि हामी पनि दंग पर्दथ्यौं। बुबा र उहाँको कुराकानी भइरहन्थ्यो। कुराकानी नेवारीमा हुन्थ्यो। हामी सानै भएकोले उहाँहरूको कुराकानीमा खासै ध्यान दिँदैनथ्यौं। ‘सन्चै छौ’ भन्नु हुन्थ्यो। ‘सन्चै छौं अंकल’ भन्थ्यौं।
त्यस्तै, २०३७–३८ सालतिर नौ-दस कक्षा पढदादेखिको मलाई धेरै याद छ।
बुवा र नारायण गोपाल अंक मासुको सौखिन। उहाँहरू दुवै जनालाई मासुको परिकार एकदमै खानुपर्ने। उहाँहरूलाई छोयला, सुकुटी असाध्य मनपर्थ्यो। बुवाले त छोयला आफैं पनि बनाउनु हुन्थ्यो।
चावहिलमा ठूलो खसी (राँगा)को मासु बेच्ने पसल थियो। पसलको नाम त ठ्याक्कै याद भएन। त्यो पसल चावहिल गाणेशनाथ अगाडि थियो। सफा र राम्रो मासु हुन्थ्यो। बुवा र गोरायण गोपाल अंकललाई भनेपछि झन् राम्रो दिने। त्यो पसल बुवाले नै नारायाण गोपाल अंकललाई देखादिनु भएको थियो।
मासु किन्न उहाँ प्रायः बिहान आउनु हुन्थ्यो। मासु लिन आएको बेला हाम्रो घरमा पनि पस्नु हुन्थ्यो। फेरि बुवा र नारायण गोपाल अंकल साथी-साथी। उहाँहरू सांस्कृतिक कार्यक्रमको लागि विदेश सँगसँगै गइरहनु हुन्थ्यो। जापान, कोरिया, सोभियत रुस, मलेसिया, चीन र भारतसँगै जानुभएको याद छ। जान त त्यो भन्दा अरु देश पनि जानुभएको छ। सबै सम्झना त छैन। वि.सं २०३०–३२ सालदेखि विदेशमा कार्यक्रम गर्न जानुभएको याद छ।
मैले भन्नुपर्दा उहाँ एकदमै राम्रो कलाकार। राम्रो स्वर। नारायण गोपाल भनेपछि नचिन्ने कोही छैन त्यो बेलामा पनि। सानो हुँदादेखि नै म उहाँको ठूलो फ्यान थिएँ। धेरैजसो उहाँका गीत मलाई थाहा छ। सानोदेखि नै उहाँका गीत एकदमै सुन्थें। मलाई एकदमै मनपर्ने उहाँको स्वर।
बुवाले गीत-संगीतको काम प्रायः रेडियो नेपालमै गर्नु हुन्थ्यो। कुनै-कुनै संगीत त घरमा पनि गर्नु हुन्थ्यो। तर, नारायण गोपाल अंकलको गीतको संगीत बुवाले घरमा गर्नु भएको मलाई थाहा छैन। बुवाको काम रेडियो नेपालमै भएकोले धेरैजसो संगीत दिने काम रेडियो नेपालमै गर्नुभयो।
बुवाको संगीतमा नारायण गोपाल अंकलले गीत गाउनु भएको छ। बुवाले १६–१७ जति गीति नाटक गर्नुभएको थियो रे। ती गीति नाटकहरू २०२७–२८ सालतिर बनेका हुन् जस्तो लाग्छ। ती गीति नाटकहरूमा नारायण गोपाल अंकलले पनि गाउनुभएको छ।
पृथ्वीनारायण शाहका चार पक्ष भन्ने एउटा गीति नाटक छ। बुवाको संगीतमा नारायण गोपाल अंकले त्यसमा स्वर दिनुभएको हो। अहिले पनि म त्यो गीति नाटकका गीतका केही हरफ सम्झन्छुः
‘सबलाई सुख होस्, सबको जय होस्’
‘तान चलाउनु, चर्खा काट्नु’
‘उसको ममता मेरा भो, मेरो ममता उसको भो’
गीति नाटक काठमाडौंका विभिन्न ठाउँ र डबलीमा देखाउने गरिन्थ्यो र कति वटा गीति नाटकको त रेकर्डै पनि भएको छैन क्या रे।
सिन्दुर चलचित्रमा ‘लुकु लुकु लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा’ भन्ने गीत बुवाले संगीत गर्नुभएको हो। नारायण गोपाल अंकल र तारादेवीले स्वर दिनुभएको हो।
मनको बाँध चलचित्रको ‘बसी राम्रो देउराली त हेरी राम्रो हिउँ’ भन्ने गीतको संगीत पनि बुवाले गर्नुभएको हो। त्यस गीतमापनि नारायण गोपाल अंकल र तारादेवीको स्वर छ।
बुवा र नारायण गोपालको पालाभन्दा अगाडि पनि केही पुराना गायक र संगीतकार हुनुहुन्थ्यो। उहाँहरूको गीत सुन्नुभयो भने हिन्दी गीतको भाका आउँछ। के एल सैगालको गीत सुन्नुभयो पनि तपाईंलाई थाहा हुन्छ।
रतन दास प्रकाश अंकलको गीत छ नि ‘झम झम पानी पर्यो असारको राति’। यो गीतमा नेपालीपन अलिअलि झल्केको छ, तर पनि कतकता के एल सैगालको हिन्दी प्रभाव देखिन्छ।
पछि चाहिँ रेडियो नेपाल स्थापना भयो। रेकर्डिङ पनि हुन थाल्यो। सायद त्यसले पनि होला, पछिका नेपाली गीतमा मौलिकपन आउन थाल्यो।
बुवा र नारायण गोपाल अंकल दुबै जना रेडियो नेपालमा हुनुहुन्थ्यो। पछि सांस्कृतिक संस्थानमा नारायण गोपाल अंकल मेनेजर हुन भयो। यसरी बुवा र नारायण गोपाल अंकल आफ्नो संस्कृति जोगाउन लाग्नुभयो। उहाँहरूले नेपाली गीत संगीतमा हिन्दी प्रभावलाई एक किसिमले मुक्त गराउनुभयो।
नातिकाजी, नारायाण गोपाल, शिवशंकर, प्रेमध्वज, अम्बर गुरुङ, गोपाल योञ्जनहरूको पुस्तादेखि नै हो नेपाली गीत संगीतले ठूलो फड्को मारेको। उहाँहरूको पालादेखि नेपाली गीत संगीतमा एउटा ठूलो क्रान्ति भएको हो भन्दा पनि हुन्छ।
नेपाली गीत सुन्न पाउने मेरो पुस्ता पहिलो भाग्यमानी पुस्ता हो।
डा. गोविन्दसिंह राउत
डा. गोविन्दसिंह राउत पुराना नाटककर्मी हुन्। २०३६ सालमा सुरू भएको सर्वनाम नाटकका एकजना संस्थापक हस्ती पनि हुन्।
उनले विश्व रंगमञ्चमा सडक नाटक विषयमा विद्यावारिधी गरेका हुन्।
डा. गोविन्दसिंह राउतको संस्मरणमा नारायण गोपालः
२०४०-२०४२ सालतिरको कुरा हो यो। म मास्टर डिग्री सकाएर बसेको थिएँ। मलाई जागिर चाहिएको थियो। त्यतिखेर नारायण दाइ राष्ट्रिय नाचघरमा महाप्रबन्धक (जिएम) हुनुहुन्थ्यो। अनि म कलाकार मान्छे। नाचघर पनि विशेषगरी कलाकारकै लागि हो।
नवराज कार्कीजस्ता दुई-चार जना साथीहरूले तिमी जाउन नारायण दाइसँग कुरा गर भने। गएँ।
‘तपाईं माग्नेको घरमा जोगी पाहुना आएजस्तै भो,’ नारायण दाइले मलाई कुराकानीकै सुरूमा भन्नुभयो। उहाँले भन्नुभएको त्यो शब्द म अहिले पनि सम्झन्छु। ‘राखुँ भने ठाउँ छैन, नराखु तपाईजस्तो मान्छे भन्दै’ उहाँले राष्ट्रिय नाचघरको कमजोर आर्थिक अवस्थाको बारेमा सुनाउनु भयो।
खासमा नारायण दाइसँग मैले कार्यक्रम गरेको २०४२ देखि २०४६ सालको अवधिमा हो। म सानैदेखि नै नाटकमा भाग लिन्थें। सुरूमा भारतमा पढ्दाखेरी हिन्दी र बेगंली नाटकमा भाग लिइयो। सडक नाटक भारतमै गरियो। इन्दिरा गान्धीले १९७५ मा भारतमा इमरजेन्सी लागू गरिन्। त्यसको विरुद्धमा सिलोङमा सडक नाटक गरियो। त्यतिखेर म १० कक्षामा पढ्थें।
नेपाल आएपछि नाटकलाई निरन्तरता दिइयो। विश्वविद्यालय पढ्दा अशेष मल्लसँग भेट भयो। म पनि नाटकप्रति रुची राख्ने र ऊ पनि। अशेष नाटक लेख्ने मान्छे पनि। जब २०३६ सालमा जतिखेर हामीले विश्वविद्यालयको अध्ययन सुरू गर्यौं, त्यतिबेला सर्वनामको तर्फबाट हामीले ‘मुर्दावादमा उठेका हातहरू’ भन्ने नाटक गर्यौं। विश्वविद्यालयमा देखायौं। त्यो नाटक ब्याण्ड भयो र बाहिर देखाउन पाएनौं।
सर्वनाम हामी चार जना म, अशेष मल्ल, किशोर पहाडी र ओममणि शर्माले सुरू गरेका हौं। पछि अनिल पाण्डे, विष्णुविभु घिमिरे, रामकृष्ण निराला, रमण घिमिरे, उज्वल भण्डारी (उज्वल डार्लिङ), शैलेश भण्डारी र पुष्कर गुरुङ आए। २०४० सालमा ‘हामी वसन्त खोजिरहेका छौं’ भन्ने सडक नाटक गर्यौं।
म हास्यव्यंग्य गर्थे। २०३६ सालदेखि नै गाइजात्रामा सहभागी भइरहे। त्यसमा हरिवंश, मदकृष्ण र सन्तोष पन्त हुनुहुन्थ्यो। हामी उहाँहरू सँगसँगै थियौं। जहाँ जुनसुकै सांस्कृतिक कार्यक्रम हुँदा पनि हास्यव्यंग्य राख्थ्यौं। त्यतिखेर नारायण दाइसँग मेलै हास्यव्यंग्य गरेको छु।
साहित्यिक पत्रकार संघ भन्ने एउटा संस्था थियो। अहिले पनि छ। त्यो संस्थामा विशेषगरी साहित्यकार थिए। किशोर पहाडी, विष्णुविभु घिमिरे, अशेष मल्ल, नवराज कार्की, गोविन्द गिरी ‘प्रेरणा’ जस्ता नाटकका कलाकार पनि त्यो संस्थामा आवद्ध थिए। त्यसैले, त्यहाँ साहित्यिक कार्यक्रम हुन्थ्यो। साथै सांस्कृतिक कार्यक्रम पनि साहित्यिक पत्रकारसँगको तर्फबाट गरिन्थ्यो।
नाचघरमा एकचोटि र भृकुटीमण्डपको सभागृहमा दुइचोटि नारायण दाइसँग सँगसँगै सांस्कृतिक कार्यक्रम गरेका छौं। त्यहाँ नारायण दाइ, ओमविक्रम विष्ट, मधु क्षेत्री र लोचन भट्टराई लगायत त्यतिबेलाका गायकहरू हुनुहुन्थ्यो। हामी चाहिँ हास्यव्यंग्य गर्दथ्यौं।
दिनेश अधिकारी साहित्यिक पत्रकार संघमा आवद्ध थिए। उनले पनि एक दुइवटा सर्वनामको सडक नाटक गरेको छ। साहित्यिक पत्रकारको कार्यक्रम हुँदा दिनेश र म चाहिँ सामान ओसार्ने लगायतका काममा मद्दत गर्थ्यौं। दिनेश गीत लेख्थे। उनी मलाई आफ्नो नयाँ गीत सुनाउने गर्थे र भन्थे – यो गीत चाहिँ नारायण दाइले गाउँछु भन्नुभएको छ।
नारायण दाइसँग विशेषगरी एउटा सम्झना आउँछ। दिनेश अधिकारीको विवाह थियो। उनको विवाहमा नारायण दाइ पनि आउनुभएको थियो। अब उहाँजस्तो ठूलो गायक आउँदा को गीत सुन्न खोज्दैन थियो होला र। सबैले उहाँलाई घेरेर गीत गाउनुपर्छ भनेर कराउन थाले।
नारायण दाइले मुड कस्तो-कस्तो बनाउदैँ म यस्तो खुल्लामा गाउँदिन भन्दै भन्नु भो, ‘ए दिनेश, तिमीले मलाई यहाँ विवाहमा बोलाएको कि गीत गाउन बोलाएको।’ नारायण दाइले भन्नुभएको त्यो म कहिल्यै बिर्सिन्न।
दिनेशले हैन दाइ यसो रमाइलोलाई भने। दिनेशले त्यसो भनेपछि उहाँले फेरि म यस्तो खुल्लामा गाउँदिन भन्नुभयो र आफ्नो मुडलाई सहज बनाउनु भयो। त्यसपछि कसैले कर गरेन। त्यतिका मान्छेले गाउन भन्दा पनि उहाँले गाउन मान्नुभएन।
पछि नारायण दाइ बिरामी हुनु भो। नारायण दाइको अन्तिम गायन कार्यक्रम भनेको २०४५ सालमा प्रज्ञा प्रतिष्ठानमा आयोजित एकल साँझ हो। त्यो कार्यक्रम वसन्त चौधरीले श्री लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरको तर्फबाट आयोजना गर्नुभएको थियो।
नारायण दाइले ‘माग्नेको घरमा जोगी पाहुना’ एउटा र अर्को ‘मलाई विवाहमा बोलाएको कि गीत गाउन बोलाएको’ भनेका यी दुइ कुरा म कहिल्यै बिर्सन्न।
अब रह्यो मेरो
‘उद्देश्य के लिनु, उठी छुनु चन्द्र एक’ भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको थियो। साहित्य संगीतमा लाग्नु भनेको पनि चन्द्र छुनुजस्तै रहेछ। भुँडी पूजाको संघर्षमा जीवन बिताउनेका लागि साहित्य संगीत कुन चराको नाम जस्तो हुँदो रहेछ।
मेरो जीवन चाहिँ ‘उद्देश्य के लिनु, खाली भुँडी भर्नु एक’ भएरै बितेछ। त्यसैले पनि होला स्वर सम्राटलाई भेट्ने र आँखा अगाडि देख्ने भाग्यमा नलेखिएको। भेट्न नपाए पनि स्वर सम्राटलाई श्रद्धाञ्जली अर्पण गर्न वि.सं. २०४७ सालमा उर्लिएको मानव सागरमा डुब्न चाहिँ लेखेको रहेछ। नारायण गोपालको भौतिक शरीर यस धर्तीमा नरहेको दिन बिहानै रेडियो नेपालबाट मेरो कानमा गीत गुन्जिएको थियोः
आजै र राति के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल भुइँ झरी गएको
रेडियोबाट २०४७ साल मंसिर १९ गते बिहानै कानमा गुन्जिएको यो गीत अनि श्रद्धाञ्जली लागि उर्लिएको त्यो मानव सागरको संस्मरण मेरो मानस्पटलमा अक्षै ताजा छ।