‘बाबु ठूलो भएपछि के बन्छौ?’
‘डक्टल।’
‘भन भन छोरा, ठूलो भएपछि के बन्ने?’
‘डक्टल बन्ने।’
राहुल तीन/चार वर्षको थियो। ठाकुरदेव र अमला सोध्थे। राहुल जवाफ दिन्थ्यो। छोराको मुखबाट डाक्टर बन्छु भनेको सुन्दा ठाकुरदेव र अमला दंगदास हुन्थे।
छिमेकमा गोकुल नाम गरेका डाक्टरसाहेबको घर थियो। गोकुलले डाक्टरी पेशामार्फत यथेष्ट धन/सम्पत्ति आर्जन गरेका थिए। उनी ठाकुरदेव र अमलाका लागि एक आदर्श थिए। छोरा डाक्टर बनी भविष्यमा गोकुलले जस्तै पैसा कमाओस् भन्ने ठाकुरदेव र अमलाको चाहना थियो।
राहुल डाक्टर शब्द रट्दै हुर्क्यो, बढ्यो। उसले प्रशासक, नेता, अभिनेता, कवि, कलाकार, व्यापारी, उद्योगपति बन्ने सपना देख्नै पाएन। सानैदेखि उसको मनोविज्ञान डाक्टर बाहेकका पेशा/व्यवसाय आदरणीय होइनन् भन्ने ढंगले पुँजीकृत हुँदै गयो।
बाबुआमाले चाहँदैमा मात्र के हुन्थ्यो र! राहुल पनि पढाइमा भनेजस्तै निस्कियो। उसको स्मरण शक्ति कम्प्युटरको जस्तै थियो। किताब बन्द गरी दुई/तीन पेज खरर भन्न सक्थ्यो ऊ। उसले उत्कृष्ट अंक ल्याई एसएलसी पास गर्यो।
राहुल रातोदिन अध्ययनमा तल्लीन रहन्थ्यो। ऊसँग हाँसीमजाक वा ख्यालठट्टा गर्ने समय नै हुँदैन थ्यो। रातका चार घण्टाबाहेक हरदम पुस्तकका पानाभित्र हराउँथ्यो राहुल। प्लस टु उत्तिर्ण गरेपछि ऊ एमबिबिएस पढ्न मेडिकल कलेजमा भर्ना भयो।
दिन बित्दै गए। अन्ततः ठाकुरदेव र अमलाको सपना साकार भयो। राहुलले विषयगत डाक्टरको परिचय बनायो। राहुल डाक्टर बनेको दिन ठाकुरदेव र अमलाले छरछिमेकमा मिठाइ बाँढे।
डक्टरी पेशासँगै राहुलको दिनचर्या फेरियो।
धेरै डाक्टरहरु एकभन्दा बढी अस्पतालहरुमा काम गर्दथे। राहुलले पनि त्यसै गर्यो। ऊ सरकारी र निजीसहित तीन ठाउँमा काम गर्दथ्यो।
एक बिहान राहुल अस्पताल जाँदै थियो, कारले सडक पार गरिरहेको मानिसलाई ठक्कर दियो। तर ऊ ट्राफिकको सिठ्ठीको वास्तै नगरी अघि बढ्यो।
‘सिठ्ठी फुकेको सुन्नु भएन? खै लाइसेन्स दिनुस्।’
‘म डाक्टर हुँ। बिरामी अपरेशन थिएटरमा छ। मेरो ढिलाइले बिरामीको ज्यान जान सक्छ।’
‘अरु थाहा छैन, लाइसेन्स निकाल्नुस्।’
‘डाक्टर हुँ भनेको सुन्नु भएन?’
‘तपाईं अस्पतालमा डाक्टर हुनुहोला। हालका लागि सामान्य चालक। यतिबेला तपाईं र अन्य सवारी चालकको हैसियत बराबरी छ। गाडी साइड लगाउनुस्।’
राहुल र ट्राफिकबीच लामै सवालजवाफ चल्यो। गलफति बढ्दै जाँदा सडक जाम भयो।
‘मान्छे हानेर भाग्न खोज्ने? खुरुक्क घाइतेको जिम्मा लिनुस्।’
वरपरका सबै अरिंगालको गोला खनिएजस्तै खनिए। राहुलको पक्षमा बोलिदिने कोही भएन। ऊ घाइतेको उपचारको ग्यारेन्टी गर्दै ट्राफिकलाई लाइसेन्स बुझाई अस्पतालतर्फ लाग्यो।
राहुल अस्पताल पुग्दा बिरामी अपरेशन कक्षमा लगिँदै थियो। ऊ हस्याङफस्याङ गर्दै अपरेशन थिएटरमा छिर्यो।
जटिल केश भएकोले अपरेशनमा घण्टौँ लाग्यो। बिरामीका आफन्तहरु अपरेशन सफल भएको समाचार सुन्न आतुर थिए। बिरामी साँझपख मात्र अपरेशन कक्षबाट पोष्ट अपरेटिभ वार्डमा लगियो। उसको आधा रातसम्म होस आएन। घडीले बिहान तीन बजेको जनाउ दिँदै गर्दा अस्पतालले बिरामीको मृत्यु भएको जानकारी दियो।
मृत्युलाई बिरामीका आफन्तले स्वभाविक मान्न सकेका थिएनन्। सबैले ‘डाक्टरको लापरबाहीका कारण मृत्यु भएको’ बताइरहेका थिए। बिहानको आठ बज्दा नबज्दै नाराबाजी र तोडफोड सुरुभयो। दबाब समूहहरुले घटनालाई राजनीतिक रंग दिए। सरकारले छानविन समिति गठन नगरी धरै पाएन।
सचिवले राहुललाई अबिलम्ब मन्त्रालयमा उपस्थित हुन उर्दी जारी गरे। ऊ सफाइ दिन मन्त्रालयमा उपस्थित भयो। आफ्नो अगाडि उभिएको राहुललाई सचिवले बस्ने इसारासम्म गरेनन्।
‘डाक्टर भएको कति वर्ष भयो? चा-चार ठाउँमा काम गर्नुहुन्छ रे। अपरेशनमा आउनुअघि पनि कारले मान्छे हान्नु भएको रहेछ। तपाईंहरु केवल पैसाका लागि काम गर्नुहुन्छ। डाक्टरहरु सेवाभावबाट च्यूत हुँदै जानु दुखद् विषय हो।
मन्त्रीज्यू आक्रोशित हुनुहुन्छ। हामीले तपाईंलाई पश्चिम पहाडी जिल्लामा सरुवा गर्ने निर्णय लिएका छौँ। पत्र बुझेर जानुहोला’ सचिव एकोहोरो बोलिरहे।
‘प्रश्न त सचिवज्यूमाथि पनि उठेकै छ। बृफकेश बुझ्ने सचिव भन्दै पत्रिकाले...!’
सचिवको कन्सिरी तात्यो।
‘छोटी मु बडी बात। खुरुक्क जानुहुन्छ कि...?’ उनले चेतावनी दिए।
त्यस दिन राहुललाई हुनसम्म तनाव भयो। ऊ रातको खाना पनि नखाइ सुत्यो। उसको मानसपटलमा मन्त्रालयमा सचिवले नोकरचाकरलाई झैँ हकारेको दृष्य सल्बलाइरह्यो। उसले सरुवा गरिएको स्थानमा जानुको विकल्प देखेन।
राहुल सरुवा गरिएको अस्पतालमा हाजिर हुन गयो। पश्चिम नेपालको दुर्गम जिल्ला भएकोले त्यहाँको वातावरण काठमाडौँको भन्दा एकदमै फरक थियो।
प्रमुख जिल्ला अधिकारी जिल्लाका सर्वेसर्वा थिए। मानौँ उनी राजाका नयाँ अवतार हुन्। उनको आदेश अवज्ञा गर्ने हिम्मत कमैले राख्थे। राहुललाई त्यहाँको वातावरण अनौठो लागिरहेको थियो।
राहुल जिल्ला अस्पतालमा काम गर्न थालेको केही हप्तापछि प्रजिअ साहेव अस्पताल निरीक्षण गर्ने बहाना बनाउँदै राहुलकोमा पुगे।
‘प्रत्येक नयाँ हाकिम सरुवा भएर आएपछि मलाई भेट्न आउँथे तर डाक्टर साहेबलाई यहाँ सिडिओ पनि छ भन्ने थाहा भएन जस्तो लाग्यो!’ भेट हुने बित्तिकै सिडिओ सापले व्यङ्ग्य हाने।
साँझ राहुलले खानपिनको प्रबन्ध गरी सिडिओ सापको चित्त शान्त पार्ने कोशिश गर्यो। फर्किनुअघि प्रजिअले मन्त्रीज्यूको प्रमुख आतिथ्यमा हुने देवकोटा जयन्तिको कार्यक्रममा सहभागी हुन निर्देशन दिए।
विद्यालय उद्घाटनको दिन राहुल समयमा नै कार्यक्रमस्थलमा पुगेको थियो। कार्य व्यस्तताको कारण मन्त्री एक घण्टा ढिलो आउने जानकारी आयो। राहुलले खाली समय विद्यालयको भित्तामा कुँदिएका देवकोटा, सम, लेखनाथ पौडेल, सेक्सपियर, अल्बर्ट आइन्स्टाइन आदिको चित्र अवलोकन गर्दै बितायो।
मन्त्रीज्यू दुई घण्टा ढिलो कार्यक्रममा उपस्थित भए। स्थानीय नेता, प्रजिअ लगायतका आमन्त्री त वरिष्ठ अधिकारीहरुले एकएक गर्दै मञ्चमा आसन जमाए। राहुलले पनि मञ्चको एक कुनामा आसन पायो।
मञ्चको अग्रभागमा महाकविको पूर्णकदको तस्बिर राखिएको थियो। देवकोटा जयन्तीको अबसरमा कवि, लेखकहरुले आ-आफ्ना रचना वाचन गरे। मन्त्री लगायत सबैले महाकविको तस्बिरमा माल्यार्पण गरे।
त्यसपछि सम्बोधन भाषणको समय आयो। मन्तव्यका क्रममा मन्त्रीले देवकोटा नेपाली साहित्य आकाशका दुर्लभ नक्षत्र भएको भन्दै महिमा गाए। महाकविसँग कुनैबेला चुरोट किन्ने पैसासम्म नहुने गरेको किस्सा सुनाए।
देवकोटा जयन्तिको परिदृष्य रातभर राहुलको दिमागमा घुमिरह्यो। जीवनमा पहिलो पटक उसले एक जना कविलाई त्यति धेरै इज्जत दिएको देखेको थियो। त्यस दिन उसलाई डाक्टरबाहेकका मानिस पनि सार्वजनिक जीवनमा आदरणीय हुँदा रहेछन् भन्ने महसुश भयो।
धन/सम्पत्ति बेगर पनि जनताको दिलमा राज गर्न सकिदो रहेछ अनुभूति मिल्यो। तब उसले विश्वका ख्यातिप्राप्त व्यक्तिहरुका जीवनी खोजी खोजी पढ्न थाल्यो।
पुस्तकले राहुललाई दीनदुखीहरुको सेवा गरी विश्वप्रशिद्ध भएकी मदर टेरेसा, ज्ञान, विवेक र त्याग-तपस्याको बलमा बुद्ध कहलाएका सिद्धार्थ गौतम, अहिंसावादी आन्दोलनका माध्यमबाट भारतका राष्ट्रपिता बन्न सफल मोहनदाश कर्मचन्द्र गान्धी (महात्मा गान्धी), अमेरिकाबाट दासप्रथा उन्मुलन गर्ने अथक योद्धा अब्राहम लिड्कन, सफल व्यवसायीहरु बिल गेट्स, मुकेश अम्बानी विनोद चौधरी आदिको पदमार्गमा हिँड्ने प्रेरणा दियो।
उसले बारेन बफेट, मार्क जुकरवर्ग, पेले, मेरेडोना, बिल गेट्स, चार्ली च्याप्लिन आदिका जीवनगाथाबाट धेरै कुरा सिक्यो।
दुर्गम जिल्लामा चार वर्ष बिताएपछि राहुलको सरुवा वीर अस्पतालमा भयो। राहुलका लागि पश्चिम पहाड जीवन र जगतलाई बुझ्ने पाठशाला समान रह्यो।
त्यतिबेलासम्म छोरा चिन्तन स्कुल जाने भैसकेको थियो। स्कुल पठाउनुअघि उसले चिन्तनको दिमागमा परम्परागत विचार थोपर्न चाहेन। जुन उसका आमाबाबुबाले ऊ सानो छँदा गरेका थिए। बरु उसले छोरालाई आफ्नो बारेमा स्वतन्त्र निर्णय लिन दिने सोच बनायो।
नर्सरी कक्षामा भर्ना गर्न लैजानुअघि डाक्टर राहुलले छोरालाई आशिर्वाद दियो-
‘सार्वजनिक जीवनका हरेक विधा उत्तिकै महत्वपूर्ण छन्। ठूलो भएपछि के बन्न चाहन्छौ? त्यसको छनौट गर्न तिमी पूर्ण स्वतन्त्र छौ। म यस विषयमा मेरा बुबाआमाले गरेको गल्ती दोहोर्याउने छैन। म तिमीलाई कुमालेको चक्रमा राखिएको माटोलाई जस्तै मनचाहे आकारमा ढाल्ने धृष्टता गर्ने छैन।
जीवन र जगतका हरेक पेशा-व्यवसाय आदरणीय छन्। तिमी तीमध्ये कुनै एकमा नम्बर एक बन। ‘अर्लि बर्ड क्याचेज दि ओर्म्स्’ यो वाक्य हमेसा याद राख।’
आफूले चिन्तनलाई दिएको आशिर्वाद मातापितालाई सुनाउन कम्ती रहर थिएन राहुललाई। तर ठाकुरदेव र अमला यस संसारबाट बिदा भैसकेका थिए। डाक्टर राहुलले आमाबुबालाई बचाउन सक्दो कोशिश नगरेको होइन। तथापि उसको केही लागेन।
कोभिडसँगको युद्धमा डाक्टर राहुलले पराजय ब्यहोर्यो। कोरोना बिजयी भयो। त्यस दिन उसलाई मेडिकल साइन्सभन्दा माथि पनि केही चिज रहेछ भन्ने थप ज्ञान मिल्यो।