के नै काम गरेको छु र
सुन्दर फूलको माला लाउँ?
गाउँको केटो
ताप्लेजुङको पहाडबाट
यहाँ आएको मान्छे
के नै काम गरेको छु र
सुन्दर फूलको माला गाउँ?
'गरिमामय अध्यक्ष' पदमा
विजयी हुनु भो बधाई!
राष्ट्रपति, प्रधानमन्त्री,
प्रधानन्यायाधीश
सभामुखमा आशीनका विरूद्ध
नारा घन्किरहेको/घन्किसकेको देशमा
के नै काम गरेको छु र
सुन्दर फूलको माला लाउँ?
बाच्छा राजेन्द्र!
हामी सबै पहाडबाट झरेका
यी घर, महिला (भित्र/बाहिर)
सम्पत्ति, सान-सौकत
घुस, भ्रष्टाचार, विचौलिया
देशको धन दोहनबाट जोडेका
हामी लाइरा'छौँ
पा'को माला किन छोडेका?
यो जाडोमा बदाम खायो
माला लायो
यता हजार, उता तीन हजारको हुल गयो
वर्षौंदेखि यस्तै भयो
तिमीलाई 'नौ पुला गाँस' भयो?
राजेन्द्र,
अब दलको सक्रिय, सङ्गठित
साधारण, आर्यघाटसम्मको
सदस्य हुन्छु!
सौराहा, भृकुटीमण्डप
अध्यक्ष हुने- अरू नहुने
सदस्य हुने- अध्यक्ष नहुने
आहा! राप्रपा, विवेकशील
कुन दल छिर्दा छिर्क्याउन सक्छु
राजेन्द्र, अब म पनि दलमा भेटिन्छु
गुण्डा थिएँ त हिजो थिएँ
मान्छे मार्दा अर्को दलमा थिएँ
स्वास्नी मार्नेले अदालतबाट इन्साफ पाउँदा
पहाडबाट सिंहदरबार पसेका
वर्षौं तर मारेका
आज बल्ड्याङ पछारिए
हैट, कि अरू झैं
गाउँघर, सभा समारोहमा
भनिने 'नेता चोर' भएँ!