मलाई चिन्नुभयो ?
म पोते !
हजुर !
त्यहीँ हाट-बजार, नगर सहरका
पसलहरूमा तर्ल्याङतुर्लुङ झुण्डि रहने पोते!
देखिसक्दा पहिरिहालुँ जस्ता रङ्ग र रूपले सजिएको!
हाम्रा विवाहित (अचेल अविवाहित पनि) चेली आमाहरूले
रङ्ग फेरि फेरि
लुगासँग म्याच गरि गरि
मस्किँदै लगाउने पोते !
आज म मेरो आत्मकथा कहन चाहँदैछु
कथा के भनूँ, केही व्यथा पोख्नु चाहँदैछु।
एक दिनको कुरा,
हाम्रो सानेको बाबु बिर्खे बेहुलो बन्यो,
बेहुली डल्ली सानेकी आमा ।
नौमती घन्काई, भात खराउ अघि लाई ऊ बेहुली घर पुग्यो।
मलाई भने खुसुक्क लुकाई गोजीमा हालि लग्यो।
म पनि गजक्क
परेर फुरुक्क
ऊ सँगै गएँ।
खल्तीका प्वालबाट बाहिर चिहाएर
साह्रै नै रमाएँ।
गोडा धोई सकि कन्यादान गर्दा
म बाहिर निस्किएँ ,
बाहुन बाजेले वेदका मन्त्र, मङ्गल ध्वनिले
मन्त्र स्नान गराए,
शुभ लग्न जुराए।
बिर्खे पनि तयार भो
बेहुली छेउ पुर्यायो मलाई, गलामा उनी दियो।
मलाई लाग्यो
आहा ! कति भाग्यशाली म !
अभिमन्त्रित भएँ
मङ्गल सूत्र बनी कसैको गलामा सजिएँ !
मेरो खुसीको ठेगाना के भनूँ,
म अति नै रमाएँ।
सुन्दरी तरूणीको अङ्कमाल पाए को नरमाउला त !
सुटुक्क सुने ढुकढुकी उनको छातीमा कान राखि
दुई धुनमा पालै सँग बज्दै थियो सारङ्गी !
जीवनको नयाँ अध्याय लेख्ने कल्पनाले
हर्षका राग छेडेका थिए
भने
हुर्केको आँगन छुट्ने वेदनामा चुहेका आँसुले
मेरो अङ्ग नै भिजाई दिए।
दुई वर्ष पछि साने आयो
डल्ली आमा बनी, बिर्खे बाबु भयो।
मेरो स्थान डल्लीका गलामा अक्षुण्ण रह्यो !
एक दिन खेल खेलमा सानेले मलाई चट्ट चुँडायो !
डल्लीले केही सोचिन,
सानेका गालामा पाँच औँलाको छाप बसाई।
म तल खस्नु अघि नै सम्हालेर फेरि सजाई।
मैले आफ्नो मूल्यको अनुमान पाएँ
साने भन्दा म प्यारो रहेछु भन्दै अझ रमाएँ ।
भर्खर कै कुरा
बिर्खेको मानो टुटेछ यहाँ, उ स्वर्ग सिधारो
छर छिमेकका कसिला हातले
डल्लीको गलामा सजिएको मलाई फेरि चुँडाए।
तर यस पालि डल्लीले कसै माथि हात उठाइन।
बरु मलाई लगेर बिर्खेका छातीमा राखी दिई।
मैले बुझे,
मेरो अस्तित्व बिर्खेको उपस्थिति सम्म मात्र रहेछ !
उसैले मलाई डल्लीको गला सम्म पुर्याएको थियो।
उसको विदाईमा म पनि उसँगै विदा भएँ डल्ली बाट।
धन्य माने मैले आफूलाई नै !
आफैंलाई साधारण ठान्ने गर्थेँ
बल्ल बुझे आफ्नो महत्व !
तर आज भोलि दोठ्याङ मा छु म !
श्रीमानले पहिराई दिने
विवाहित नारीको मौलिक शृङ्गार भनि मक्ख पर्ने गरेको
अविवाहित तरुणीको गलाको हार बनेर
आफैँ आफूमा प्रश्न चिन्ह बनेको छु !
अन्योलमा परेको छु!