हावाले बहने स्वधर्म कहिले बिर्सिन्न सोध्नु गई
मौरीले रस राख्छ सञ्चय गरी बच्चा र बुढो भई
ठूलो सूर्य घमण्ड रोष नगरी मान्दैछ आफ्नो गति
मान्छेले तर दान धर्म किन हो तोड्दैछ सक्ने जति।
गाईले दूध वृक्ष पुष्प फलमा छोड्दैन आफ्नो क्रिया
जाडो माघ र चैत उष्ण महिना यी नित्य हुन् प्रक्रिया
माको गर्भ बसेर दूध पिइने चल्दैछ यस्तो गति
पृथ्वी मानव तोड्छ फोड्छ किन हो सक्नेछ चल्ने जति।
सारा पुष्प पराग छोड्छ गुणले दुर्गन्ध बास्नाहरू
खोला पालन गर्छ धर्म पथका तोडिन्छ डाँडा बरु
आगो धर्म छ राप ताप उसमा बाड्दैछ पुग्ने जति
मान्छेले तर मार्छ काट्छ जहिले यो पाप गर्ने कति।
भाले बास्छ चरेर पाल्छ बचरा पक्षी परेवा सदा
शिक्षा ग्रन्थ हरेक दिन्छ जल वा आगो धुवाँ सर्वदा
साह्रै मोहक छन् वसन्त ऋतुमा उद्यान हाम्रा अति
मान्छेले वनऽ फूल मास्छ जहिले यो कार्य गर्ने कति।
आँधी छेक्छ अखण्ड शुभ्र चुचुरो यी कान सुन्छन् सदा
त्यत्रो बन्छ ठूलो समुद्र नुनिलो आश्चर्य भो सर्वदा
खेतीको उखु मिष्ठ हुन्छ र बुझौँ तीतो करेला अति
टिप्दै मार्दछ जीव जन्तु किन हो मार्छौ अझै के कति।